शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरूले विद्यालयको फोहर वर्गीकरण गरेर विक्री गर्न थाले

शुक्रबार, ०९ फागुन २०८१, २१ : ११
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । यो विद्यालय काठमाडौँ महानगरपालिकाभित्रका वडा नं. २२ नयाँ सडकमा छ । 

सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र वालबालिका (वावा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर विक्री गर्न थालेका हुन् । विद्यालयमा सफाइ गर्दा संकलन भएको कागज, कडा प्लाष्टिक, रवर, खाना प्याकिङ् गर्ने खोल सुख्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई २ वटा बाल्टिनमा राख्ने गरिएको पाइन्छ । यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा विक्री गर्ने व्यवसायको जस्तै देखिन्छ । 

शुक्रबार महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, विद्यार्थीहरूको फोहर विक्री गर्ने अभ्यास अवलोकन गरिन् । यसक्रममा उनले विद्यार्थीहरूलाई फोहर कहाँबाट प्राप्त गर्नुहुन्छ? प्राप्त भएको फोहर कसरी वर्गीकरण गर्नुहुन्छ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के के गर्नुहुन्छ? जस्ता प्रश्न सोधेर व्यवहारिक ज्ञानका बारेमा जानकारी लिएकी थिइन् । उ 

उनीहरुले उपप्रमुखकै अगाडि धरमनाथ जैसवाललाई फोहर विक्री गरे । यसबाट प्राप्त भएको रकम ग्रहण गरे । 

उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको यो प्रयासको प्रशंसा गर्दै उपप्रमुख डङ्गोलले, थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गरिन्  ।  

कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीन विकास महर्जनले, फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनःभरणको कार्यक्रम कार्यान्वयन गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप