शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
बल्खुमा रामकृष्ण दाहालको हत्या प्रकरण

साँझसँगै मासुचिउरा खाएको साथीलाई बिहान फलामको पाइपले हिर्काएर हत्या

शुक्रबार, ०९ फागुन २०८१, १९ : ३४
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । फागुन ७ मा बिहान काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा रामकृष्ण दाहाल मृत भेटिए । ४१ वर्षीय दाहाल तरकारी बजारभित्र भारी बोक्ने काम गर्दै आएका थिए । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ घर भएका दाहालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ घर भएका नारायण प्रसाद ढकाल, समिर घलान, हेटौंडा–२ घर भएका बिमल रुम्बा र भिमफेदी गाउँपालिका–७ घर भएका अर्जुन स्याङतान छन् ।

आरोपीहरू पनि तरकारी बजारभित्र मजदुरी गर्छन् । तरकारी बजार भित्रको टहरामा उनीहरूसँगै बस्दै आएका थिए । फागुन ६ मा साँझ उनीहरुले तरकारी बजारमा ल्याएर छ्याङ, मासु र चिउरा खाए । पक्राउ परेकाहरूसँगै दाहालले पनि मदिरा र मासु चिउरा खाएको आरोपीहरूले प्रहरीसँग बताएका छन् ।

तर, बिहानीपख सामान्य विवाद हुँदा ४ जना मिलेर दाहालको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘फलामको पाइपले हिर्काएर हत्या गरेको देखिन्छ ।’

उनको निधारको दायाँतर्फ चोट देखिएको छ । बिहान हत्या हुनुअघि दाहालले नारायण ढकाललाई कालो चिया ल्याइदिन अनुरोध गरेका थिए । तर, चिया ल्याउन आफूले बिर्सेको ढकालले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । प्रहरी वृत्त कालीमाटीले घटनाबारे अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

हत्यामा प्रयोग भएको फलामको पाइप प्रहरीले बरामद गरेको छ । रगत लागेको कपडा पनि बरामद गरिएको एसपी बोहराले बताए । बोहरा भन्छन्, ‘सामान्य भनाभनको निहुँमा हत्या भएको देखिन्छ, थप अनुसन्धान गर्दै छौँ ।’

आरोपीहरू  शव भेटिएको आधा घण्टामा तरकारी बजार भित्रबाटै पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप