शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा एकसाथ सुनुवाइ हुने

शुक्रबार, ०९ फागुन २०८१, १७ : ०६
शुक्रबार, ०९ फागुन २०८१

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा एकैसाथ सुनुवाइ हुने भएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासमा छविको मुद्दाको पेसी तोकिएको थियो । तर, सरकारी वकिलले लामिछानेको मुद्दालाई पनि जोशीको सँगै राखेर सुनवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन एकैसाथ राख्न आदेश गरेको उच्च अदालत तुलसीपुर (बुटवल इजलास) का सूचना अधिकारी रामबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हिजो बिहीबार बेन्चको आदेश अनुसार एकैसाथ दुवै मुद्दा जान्छ ।’  

उच्च अदालत बुटवलमा निवेदनको प्रत्येक बिहीबार पेसी तोक्ने प्रचलन रहेको भन्दै कुँवरले  अब आउने बिहीबार पेसी तोकिने बताए । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सोही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआईजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचकले उच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।

सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पनि निवेदन दिएको थियो । हिजो जोशीको मुद्दा न्यायाधीश द्वय गुप्ता र घिमिरेको इजलासमा पेसी तोकिएकामा सरकारी वकिलले लामिछाने विरुद्धको निवेदनसमेत उच्च अदालतमा दर्ता रहेको भन्दै एकैसाथ राख्न माग गरेको थियो । मागबमोजिम लामिछानेको कैफियत प्रतिवेदन साथमा ल्याउनका लागि आदेश भएको सूचना अधिकारी कुँवरले खुलाए ।

उच्च सरकारी वकिल कार्यालय बुटवलका सूचना अधिकारी वसन्तराज पोखरेलले एउटै सहकारीमा मुद्दामा फरक फरक आदेश भएकाले एकसाथ राख्न माग गरिएको बताउँदै अब सम्भवतः बिहीबार अदालतबाट केही आदेश आउन सक्ने रातोपाटीलाई बताए । उनले  भने, ‘यो प्रतिवेदन एकैसाथ भएपछि सम्भवतः बिहीबार पेसीमा जान्छ र केही आउन सक्छ ।’

सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा रवि र छविसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बचतकर्ताहरू नारायणबहादुर पहराईको जाहेरीमा प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल रुपन्देहीले मुद्दा दायर गरेका थियो । उक्त मुद्दामा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ सुरुदेखि थुनामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप