शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई ओलीको प्रश्न : टिकटक किन बन्द गरेको त ?

शुक्रबार, ०९ फागुन २०८१, १६ : १९
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन चुनौतीको विषय बनेको बताएका छन् । शुक्रवार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ : व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासको गति अघि बढाउन खोजेको भन्दै न्यायसम्मत कानुन र कानुन सम्मत शासन हुनुपर्ने भन्दै सुशासन चुनौती बनेको बताएका हुन् ।

‘न्याय दिने अनुरूपका कानुन बनाउनुपर्दछ र कानुन बमोजिम सबैले चल्नुपर्दछ’, प्रधानमन्त्रीले भने, ‘कानुनको राज र सुशासन देशमा हुनुपर्छ भनेर हामी मान्छौ ।’ उनले सुशासनबाट मात्र समृद्धिमा पुग्न सकिने र त्यो गम्भीर चुनौतिका रूपमा रहेको बताए । छिटो छरितो कानुन बनाउने काममा सरकार लागेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘केही मान्छेहरूले हिजो आफैले कानुनको मस्यौदा गरेका हुन् । मसँगै बसेर मस्यौदा गरेका हुन् हिजो’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल विधेयकमा हल्ला र चर्का कुरा गरेर उफ्रने माओवादी लगायतका पार्टीहरूले हिजो टिकटकमा प्रतिबन्ध नै लगाएको बताए । 

‘अहिले तिनै हिमायती निस्केका छन् फेरि । जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिवेला ?’

उनले जे पनि बोल्ने नभई ठिक कुरा बोल्नुपर्ने भन्दै देशको शान्ति सुरक्षा खलबल्याउने, चिन्दै नचिनेको ठाउँमा मानिस भड्काउने र जथाभावी बोल्ने प्रवृत्ति रहेको बताए । सामाजिक सञ्जाल विधेयकमार्फत बोल्न पाउने अधिकार नमिचिने कानुन बनाउने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफूले स्विजरल्याण्डको बैंकमा पैसा राखेको भनेर अफवाह फैलाएको भन्दै आफूलाई त्यत्रो पैसा नचाहिने बताए । ‘एउटा रोटी र तरकारी खान्छु, मेरो किचेन र बेडरुम खुला हुन्छ, मानिसहरू गइरहेका हुन्छन्, लुकाएको केही छैन’, प्रधानमन्त्रीले भने, ‘जेसुकै बोल्ने, अपमान र अफवाह फैलाउने हाम्रो सभ्यता त्यो होइन । त्यो सभ्यता भत्काउनु हुँदैन ।’

उनले ‘तिमी’ भनेर गर्ने गरेको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै मर्यादित भाषा प्रयोग गर्नुपर्ने बताए । ‘बाउलाई बोलाउँदा ‘ओ ड्याड कम ह्यर’ जस्तो होइन हाम्रो भाषा । बुबाज्यु यता आउनुहुन्छ कि ! भन्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप