शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा मिडिया ब्रिफिङ सुरु, नीतिगत निर्णयबारे जानकारी दिइने

शुक्रबार, ०९ फागुन २०८१, १६ : ०७
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिडिया ब्रिफिङ सुरु गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिएका हुन् । 

प्रवक्ता बुढाथोकीले मिडिया  ब्रिफिङमा मन्त्रालयले गरेका विविध नीतिगत निर्णय तथा स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जानकारी दिने बताए । उनले नेपालको संविधानले मौलिक हकको रूपमा सूचनाको हकलाई प्रत्याभूत गरेकाले सर्वसाधारणमा सहजरुपम सूचना पुर्याउन ब्रिफिङ सुरु गरेको बताए । ब्रिफिङ हरेक साताको शुक्रबार दिउँसो साँढे १ बजे हुने उनको भनाइ छ । 

उनले भने, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत एक हप्तामा भएका नीतिगत निर्णय, प्रमुख कार्यहरू तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना तथा जानकारीहरू सर्वसाधारणमा सहजरुपमा प्राप्त होस् भन्ने उद्देश्यले साप्ताहिकरुपमा ब्रिफिङ गर्ने निर्णय गरिएको छ ।’

प्रवक्ता बुढाथोकीले सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरको निवारण गर्ने लक्ष्य राखेकाले समयमै उपचार गर्न सकियो भने पाठेघरको मुखको क्यान्सर निको हुन्छ भने अभियान सञ्चालन गरेको बताए ।  हालसम्म विभिन्न विधिबाट ९२ हजार २ सय ७३ महिलाले पाठेघरको मुखको क्यान्सर स्किनिङ गरेको उनको भनाइ छ । उनले ३० देखि ४९ वर्षका महिलाहरूले पाठेघरको मुखको क्यान्सरबाट बच्न स्किनिङ गराउन आग्रह गरे । पाठेघरको मुखको क्यान्सरको स्किनिङ देशभर सञ्चालन भइरहेको उनको भनाइ छ ।

प्रवक्ता बुढाथोकीले नसर्ने रोगका पहिचानका लागि फागुन महिनाभर एक महिने अभियान सञ्चालन भइरहेकाले मधुमेह, उच्च रक्तचाप, मृगौलारोगलगायत प्राणघातक रोगबारे नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अर्धवार्षिक प्रगति समीक्षाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालय ८१.८ अङ्कसहित तेस्रो स्थानमा रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप