बाम एकता आवश्यक तर व्यवहारिक रूपमा अहिले असम्भव

आजको परिस्थितिले एउटा जबरजस्त क्रान्तिकारी हस्तक्षेपको माग गरेको छ । पार्टीको वर्गीय बनोट र नेपाली राजनीतिमा त्यसले खेल्दै आएको भूमिका अर्थात् त्यसका सैद्धान्तिक मान्यताहरूका कारणले नेपाली काङ्ग्रेसले त्यो भूमिका खेल्न सक्दै सक्दैन ।
उदार लोकतान्त्रिक राजनीति र दलाल पुँजीवादी आर्थिक व्यवस्थाको सन्तुलन खोज्ने त्यसको असङ्गत मान्यताले आजका समस्या समाधान गर्ने सक्दैन । किनकि त्यस्तो हस्तक्षेप एउटा बलियो समाजवादी आन्दोलनको नेतृत्व गर्न सक्ने कम्युनिष्ट पार्टीले मात्रै गर्न सक्छ । नेकपा एमालेमा हुर्केको व्यक्तिवादले त्यसको सिद्धान्त र सङ्गठनलाई कब्जा गरिसकेको छ। र, अहिले त्यसको व्यक्तिवादी पपुलिज्मको निरर्थकताको पोल खुल्दै जाँदा सम्पूर्ण पार्टी सङ्कटग्रस्त बन्दै गएको छ। आगामी दिनमा त्यसको ओह्रालो यात्रा अझ तीव्र हुनेछ ।
अरू वामपन्थी पार्टीहरू आफ्नै वैचारिक र साङ्गठनिक अन्तर्विरोधको माकुरे जालोको फन्को मार्दैछन् । तिनीहरूबाट ठुलो भूमिकाको आशा कसैले गरेको छैन । त्यसैले हाम्रो काँधमा एउटा ठुलो जिम्मेवारी आएको छ । यो अवस्था हाम्रालागि जति चुनौती हो त्यत्तिकै अवसर पनि हो । अर्थात्, एउटा दूरगामी तथा जिम्मेवार क्रान्तिकारी पहलकदमीका लागि मैदान खाली छ । आजको गतिरोधलाई चिर्न र मुलुकले खोजेको ऐतिहासिक दिशा सुनिश्चित गर्न हाम्रा वैचारिक तथा सैद्धान्तिक प्रस्थापना सबैभन्दा सही छन् । आफै पार्टी निर्माणका क्रममा रहेको हुँदा कुनै पनि जडताबाट ग्रसित नहुने सुविधा पनि हामीसँग छ । समयले हामीसँग नयाँ उचाइबाट पहलकदमीको माग गरेको छ । उही बाटो पटक–पटक हिँडेर नयाँ गन्तव्यमा पुग्न सकिन्न भन्ने विज्ञानकी सामान्य नियमलाई मनन गरौँ ।
आफ्ना राजनीतिक मागहरू सार्वजनिकरुपमा घोषणा गरेर, बढिभन्दा बढी जनतालाई त्यसका वरिपरि परिचालित नगरीकन संसारको कुनै पनि राजनीतिक पार्टी स्थापित भएको छैन । अझ आफूलाई क्रान्तिकारी, प्रगतिशील दाबी गर्ने पार्टीको हकमा त यो नियम अकाट्यरुपले लागू हुन्छ । तिनीहरू आन्दोलनमै जन्मिन्छन् र आन्दोलनमै हुर्किन्छन् । कहिले कहीँ हामीलाई के लाग्छ भने पहिले संगठन बनाउनु पर्छ, त्यसपछि मात्रै आन्दोलन गर्न सकिन्छ । सङ्गठन नभएको अवस्थामा कसले आन्दोलन गर्छ ? भन्ने प्रश्न झट्ट सुन्दा तार्किक लागे पनि त्यो गलत हो ।
आजसम्मको इतिहासमा न क्रान्तिकारी पार्टीको निर्माण भएपछि क्रान्तिकारी आन्दोलन भएको छ, न त क्रान्तिकारी आन्दोलन पूरा भएपछि पार्टी बनेको छ । जहाँ जति क्रान्तिकारीहरू छन् तिनको सङ्गठन जेजस्तो छ त्यसैले आन्दोलन सुरु गर्छ र सङ्गठन पनि विस्तार गर्दै जान्छ । जति आन्दोलन विस्तार हुन्छ सङ्गठन पनि त्यसै गरी बढ्छ, जति सङ्गठन बढ्छ आन्दोलन पनि त्यसै गरी बढ्छ । अर्थात् समाजवादी पार्टीको निर्माण र समाजवादी आन्दोलन सँगसँगै विकसित हुने कुरा हुन् । त्यस क्रममा विचार, सिद्धान्त, सङ्गठनलगायत अनेकौँ नयाँ नयाँ समस्याहरू आउँछन् । ती समस्या सामना गर्ने क्रममा नै पार्टीको माथिदेखि तल्लो तहसम्म सक्षम नेताहरूको पति तयार हुन्छ । पार्टीभित्र र बाहिरका अनेकौँ अन्तर्विरोध समाधान गर्न उनीहरू सैद्धान्तिक र व्यवहारिकरुपले सक्षम हुन्छन् । समाजले तिनको कुरा सुन्छ, उनीहरूलाई विश्वास गर्छ र क्रान्तिकारी परिवर्तनको पक्षमा अगाडि आउँछ । यसरी आन्दोलन र पार्टी सँगसँगै फराकिला र बलिया हुँदै जान्छन्, यही हो आन्दोलन र पार्टी निर्माणको द्वन्द्ववाद ।
विभिन्न कारणहरूले गर्दा गत ३ वर्ष हामीले पार्टी निर्माणको यस पद्धतिलाई प्रभावकारीरुपमा अवलम्बन गर्न सकेनौँ । त्यसका कारणहरूको समीक्षा अहिले नै गर्नु सम्भव छैन । अब हामीले सुस्पष्ट योजना, दृढता र हिम्मतका साथ पार्टी निर्माणमा लाग्नु पर्छ, त्यसको अर्थ हो सम्पूर्ण पार्टी पङ्क्ति आन्दोलनमा जानु पर्छ ।
अहिले हाम्रो पार्टीमा एकसाथ अनेक समस्या छन् । वैचारिक, सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक समस्याको लामो फेहरिस्त बनाउन सकिन्छ । त्यसबाट विभिन्नरुपमा हामी प्रभावित भएका छौँ । ती समस्याबाट तर्सिनु वा निराश हुनु वा भाग्नु समाधान होइन । त्यस्तै, ‘जे छ सबै ठिकै छ’ भनेर त झन् हुँदै हुँदैन । व्यक्तिगत तहमा जाँदा हामीले अनगिन्ती समस्या भेटाउँछौँ । तिनका समस्या र अन्तर्विरोधको अलग अलग समाधान हुँदैन ।
हरेक व्यक्तिका समस्याको समाधान फकाएर, आश्वासन दिएर, पालैपालो आलोचना गरेर पनि हुँदैन । एउटा राजनीतिक पार्टीले त्यस्ता सबै समस्याको समाधान मुख्यतः विचारधारात्मक तहमै खोज्नु पर्छ । विचारले निर्देशित नभएको व्यक्ति प्राविधिकरुपमा जतिसुकै ठुलो पदमा भए पनि समस्याग्रस्त नै हुन्छ । त्यसपछि, राजनीतिक कार्यदिशा, कार्यक्रम र योजनाको निर्माण र कार्यान्वयनमा खोज्नु पर्छ । अर्थात्, एउटा राजनीतिक पार्टीले समस्यालाई राजनीतिकरुपमै बुझ्नु पर्छ समाधान पनि राजनीतिकरुपमै खोज्नु पर्छ । अहिले हामीले पार्टीको सिद्धान्त र कार्यक्रमलाई आन्दोलनका रूपमा जनतामा लैजाने र आन्दोलनका क्रममै ती समस्याको समाधान खोज्नु पर्ने अवस्थामा छौँ ।
हामी संवैधानिक लोकतान्त्रिक व्यवस्थाभित्रै क्रान्तिकारी पहलकदमीद्वारा समाजवादका आधार तयार गर्दै अगाडि बढ्ने पार्टी हौँ । त्यसैले २०८३ र २०६४ सालका निर्वाचनहरू हाम्रा लागि महत्त्वपूर्ण छन् । ती निर्वाचनहरू पनि आन्दोलनको कार्यक्रमभित्रै राखेर हामी अगाडि बढ्नु पर्छ । अब फेरि गठबन्धनका आधारमा निर्वाचनमा जाने कुरा हामीले सोच्नै सक्दैनौँ । एक त हामी आफैले गठबन्धनका दुष्परिणाम भोगिसकेका छौँ, दोस्रो, गठबन्धनका कारणले नेपालको राजनीति नै बदनाम हुँदै गएको छ । गठबन्धनले क्रान्तिकारी पार्टीहरूलाई वैचारिकरुपले नै भुत्ते बनाउँछ । त्यसले अन्ततः पुँजीवादी तथाकथित उदारवादलाई, दलाल पुँजीवादलाई नै सेवा गर्छ । सैद्धान्तिकरुपमा बाम एकता आजको आवश्यकता हो तर व्यवहारिकरुपमा अहिले त्यो सम्भव छैन । आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ । आन्दोलनको उद्देश्य, आन्दोलनका माग र आन्दोलनको स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टीहरू एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ ।
नेतृत्वका केही मानिसका सत्ता स्वार्थका कारण गरिने एकता भरपर्दो हुँदो रहेनछ भन्ने उदाहरण २०७५ सालमा भएको नेकपा एमाले र नेकपा माओवादीका बिचमा भएको एकता, कचिङ्गल र विभाजनले देखाएको छ । त्यस घटनाबाट हामीले धेरै कुरा सिक्नु पर्नेछ । सङ्क्षेपमा, अब नेकपा एकीकृत समाजवादी ठोस् राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक अरू कुनै पनि गठबन्धन गर्दैन भन्ने कुरामा आफै पनि स्पष्ट हुनु पर्छ ।
(नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दोस्रो केन्द्रीय कमिटीमा आन्दोलनद्वारा पार्टी निर्माणबारे प्रस्तावबाट )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानविरुद्ध किन आलोचनामा उत्रे ऊर्जामन्त्री ?
-
बुढानीलकण्ठमा ११ भाइको भेलापछि शेखर पक्षको पनि बैठक
-
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
-
सात महिनामा २५ अर्बको तरकारी, १२ अर्बको फलफूल आयात
-
संविधान संशोधन दलहरूबिच साझा सहमतिका आधारमा गर्नुपर्छ : सांसद न्यौपाने
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी (तस्बिरहरू)