हाम्रो पात्रोको नयाँ अपडेट फिचर सार्वजनिक

काठमाडौं । हाम्रो पात्रो एपले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ यूआई र सुविधाहरू सहितको अपडेट भर्सन सार्वजनिक गरेको छ। नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने आफ्नो उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
त्यसबाहेक यस संस्करणले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीहरूमा संलग्न हुन सजिलो बनाउने हाम्रो पात्रोको भनाइ छ ।
हाम्रो पात्रोकी डाइरेक्टर सुदिना गौतमले यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज भएको बताइन् । उनले भनिन्, “समय अनुसार प्रयोगकर्ताहरूलाई नयाँ अपडेट प्रदान गर्ने कुरा हामीले सधैँ ध्यानमा राखीरहेका हुन्छौं । यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो भनेर भन्न सकिन्छ । हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधाहरू प्रयोगकर्ताहरू माझ पस्कन पाउँदा एकदमै उत्साहित छौं । प्रयोगकर्ताहरूले यस संस्करणलाई पनि उत्तिनै माया दिनुहुनेछ भनेर विश्वस्त छौं । ”
यस अपडेटपछि प्रयोगकर्ताहरूले हाम्रो पात्रोको क्यालेन्डरमा आफ्नो गूगल क्यालेन्डर सिङ्क गर्न सक्नेछन् । जसले सबै महत्वपूर्ण मिति र इभेन्टहरूलाई एकै स्थानमा व्यवस्थापन गर्न सजिलो बनाउने बताइएको छ। साथै, Customize Hamro Services फिचर प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले प्रयोग गर्ने सेवाहरूलाई मात्र प्राथमिकता दिँदै आफ्नो आवश्यकता अनुसार एपलाई व्यक्तिगत बनाउन सक्नेछन् ।
त्यसबाहेक, प्रयोगकर्ताहरूले आफ्नो सहजता अनुसार एपको फन्ट (Font) साइज पनि बदल्न सक्ने विशेषता रहेको छ ।
त्यसैगरी, धेरै देशका समय क्षेत्रहरू हेर्न र व्यवस्थापन गर्न सकिने सुविधाले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लाभान्वित गर्ने बताइएको छ। लामो समय देखि प्रयोगकर्ताहरूले माग गरिरहेको iOS मा नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि यसपटकको अपडेटमा थपिएको गौतमले बताइन् ।
यसैगरी नयाँ इभेन्टहरू खोज्ने , प्रश्नोत्तर र मतदानमा सहभागी हुने र एनिमेटेड दैनिक डूडलहरू जस्ता सुविधाहरूले प्रयोगकर्ताहरूको अनुभवलाई थप रमाइलो बनाउने गौतमको भनाइ छ ।
त्यसबाहेक, अब हाम्रो पात्रो एपबाटै इभेन्टहरूको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। हाम्रो पात्रोको आफ्नै वालेट “हाम्रो पे” का साथै मोबाइल बैंकिङ र कनेक्ट आईपीएसको प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिनेछ। यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको गौतमको भनाइ छ ।