जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताए। उनले भने वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ कि “परोपकार पुण्याय, पापाय परपिडनम ।”
हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्ने पनि बताए । “यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ, आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिनेको यही कारण हो ”, राष्ट्रपति पौडेलले भने।
विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेको र यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदाे रहेको उनको भनाइ थियो । “यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं, यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीन कालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराटस्वरुपका कारण यसअन्तर्गत विभिन्न संप्रदायहरूको सृजना हुनु स्वाभाविक नै मान्न सकिने पनि बताए । उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे । सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद् गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
-
यसरी बन्दैछ ४०० केभीको लप्सीफेदी सबस्टेसन (तस्बिरहरु)
-
नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्