काठमाडौँ । राजनबाबु श्रेष्ठ सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सिप्रदी भारतीय गाडी निर्माता कम्पनी टाटाको नेपालका लागि आधिकारिक विक्रेता हो । चार दशक अघिदेखि नेपालमा सवारी साधनको आधिकारिक विक्रेताको रूपमा सेवा दिँदै आएको उक्त कम्पनी नेपालको सबैभन्दा ठुलो सवारी विक्रेता कम्पनी हो ।
गत वर्षको तथ्यांक हेर्दा नेपाको कुल बजारको ३१ प्रतिशत हिस्सा टाटा मोटर्स अन्तर्गतका कम्पनीले ओगटेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय बजारमा विद्युतीय सवारीको माग बढ्दै गएको छ । योसँगै सयौँ ईभी निर्माता कम्पनीले नेपालमा आफ्नो प्रोडक्ट पठाइरहेका छन् । यो अवस्थामा लामो लिगेसी बोकेको सिप्रदीले आफूलाई बजारमा स्थापित गर्न गरेका काम, अहिलेका प्रोडक्ट एवं समग्र ईभी र अन्य अटो बजारका सम्बन्धमा केन्द्रित भइ हामीले सीईओ श्रेष्ठसँग कुरा गरेका छौँ ।
यो भागमा सिप्रदीले पछिल्लो समयमा ल्याएका प्रोडक्ट एवं बजार प्रतिस्पर्धाको विषय समावेश गरिएको छ । अर्को अंकमा समग्र ईभी बजार एव) अटो बजारको अवस्थाको बारेमा चर्चा गर्नेछौँ ।
प्रस्तुत छ, सीईओ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश (पहिलो भाग) ।
टाटा सफारीलाई हामीले प्रिमियम एसयूभी ब्राण्डको रूपमा हेरेका छौँ । नेपालको कन्टेक्स्टमा हेर्ने हो भने प्रिमियम एसयूभीको बजार त्यति धेरै ठुलो त छैन, यद्यपि यो इभरग्रोइङ छ । जसलाई लक्जरी पर्फमेन्स चाहिन्छ, त्यस्ता ग्राहकका लागि यो प्रोडक्ट ल्याइएको हो । प्रिमियम एसयूभीमा हाम्रो उपस्थिति बलियो बनाउन हामीले यो प्रोडक्ट लञ्च गरेका हौँ । हामीले टाटा सफारी ल्याएको त धेरै नै भइसक्यो, अहिले यसको अपग्रेडेड भर्सन ल्याइएको हो ।
अहिले ग्राहकले कम्फोर्ट र धेरै फिचर खोज्ने गर्नुहुन्छ । यो सबै जोडेर यसको एक्पेरियन्स अझ बढाउने भनेर नयाँ प्रोडक्ट आएको छ । यो सुरक्षाको दृष्टिकोणले पनि एकदमै राम्रो छ । हुन त टाटाले सेफ्टीको मामिलामा कम्प्रोमाइज गर्दैन । यसमा हामी सधैँ अरुभन्दा अगाडि नै छौँ । यो मोडेलमा सेफ्टीको फिचरलाई अझै धेरै ध्यान दिएर बनाइएको छ । यसलाई ग्राहकहरूले पनि एकदमै धेरै रुचाइराख्नुभएको छ ।
गाडीको छनोट गर्दाखेरि कुनै पनि ग्राहकले दैनिक रूपमा गाडी चलाउँदा के के कुरा प्रयोग गरिन्छ भनेर हेर्नुपर्छ । त्यस्तै, गाडीमा सेफ्टीको फिचर के छ भन्ने पनि हेर्नुपर्छ । ड्राइभिङको कम्फोर्टको लागि के के कुरा जोडिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । आम रूपमा बुझ्ने भाषामा भन्नुपर्दा ओरालोमा जाँदाखेरि गाडी कन्ट्रोल गर्ने, उकालोमा जाँदाखेरि गाडी रोकियो भने त्यहाँबाट पछाडि नसर्ने हुनुप¥यो । सिटहरू एड्जस्टेबल हुनुप¥यो । गाडीमा चिसो–तातोको अवस्था नियन्त्रण गर्ने सिस्टम हुनुप¥यो । साउन्ड सिस्टम राम्रो हुनुप¥यो । अहिले त झनै टचस्क्रिनको प्रचलन छ, त्यो हुनुप¥यो । यो मोडेलमा यी सबै कुरामा पहिलेभन्दा थप इम्प्रुभमेन्ट भएर आएको छ ।
प्रिमियम एसयूभी सेगमेन्टमा हेर्नुभयो भने नेपालमा अझै धेरै ईभीमा गइसकेको अवस्था छैन । त्यसको धेरै कारण छन् । पहिलो कारण, ट्राभल डिस्टेन्स हो । दोस्रो, अफरोड एप्लिकेसन हो । नेपालमा जहाँ पनि जानुपर्ने अवस्थामा सबै ठाउँमा सबै इलेक्ट्रिक भेहिकलको लागि सम्पूर्ण सिस्टम तयार भएको छ भन्ने हुँदैन । त्यसैले त्यो नभएको ठाउँमा जानुपर्ने अवस्था छ र, त्यसरी जाँदाखेरि पनि एकदमै कम्फर्टेबल चाहियो ।
त्यसले गर्दा प्रिमियम एसयूभीमा चाहिँ आइस भेहिकलमै एक्सेप्टेन्स धेरै छ । यो सेगमेन्टमा आइसले नै राम्रो गर्छ होला भन्ने मलाई लाग्छ । हुन त बिस्तारै ईभी पनि आउँदै छ, पछि आउन सक्ला तर, अहिलेको अवस्थामा सबैतिर ईभी एसेप्टेन्स भएको अवस्था छैन ।
हामीले गर्ने जुनसुकै एक्टिभिटीको उद्देश्य बजारलाई एक्साइट गर्ने हो । हामी बिजनेस गर्ने मान्छेले सबै मुभमेन्टको अवसर कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुरा हो । त्यसले यस प्रकारको एक्टिभिटी भइरहेकै हुन्छ । यसमा हामीले निश्चित एक्टिभिटी गर्छौं, यसको निश्चित टार्गेट लिन्छौँ र यसको आउटकम के हुनुपर्छ भन्ने हो । त्यो अनुसार हामीले सामान्यतया लक्ष्य पूरा भएको पाइरहेका हुन्छौँ ।
कुनै केसमा लक्ष्य पूरा नहुन सक्छ । त्यो केसमा हामीले कहाँ सुधार गर्नुपर्ने रहेछ भन्ने हेर्छौं । केले गर्दाचाहिँ हाम्रो टार्गेटेड आउटकम आएन ? त्यसमा के करेक्सन गर्दै जाने भनेर एउटा निष्कर्ष निकल्छौँ र तत्कालै करेक्सन गर्छौं । यही अनुसार यो अफर आएको हो । यो केसमा पफर्मेन्स रामै्र आएको छ ।
नेपालमा सेकेन्ड ह्यान्ड गाडीको आफ्नो छुट्टै बजार छ । त्यसैले त्यो इन्डष्ट्री पनि हेर्ने हो भने अहिलेको अवस्थामा झण्डैझण्डै नयाँ गाडीकै हाराहारीमा पुरानो गाडीको बिक्री छ । त्यही अनुसारको कस्टुमर पनि हुनुहुन्छ ।
सुरुमा गाडी सिक्ने मान्छेहरू र नयाँ गाडी अफोर्डिबिलिटीको हिसाबले सेकेन्ड ह्यान्ड गाडीको माग हुने गरेको छ । सुरुमा सेकेन्डह्यान्ड किनेर सिकौँ, त्यसपछि अपग्रेड गर्दै जाउँला भनेर यसको डिमाण्ड गरिन्छ । यस्तो गाडीको मूल्य नयाँको भन्दा अफोर्टेबल हुने भएकाले नयाँ गाडी अफोर्ट गर्न नसक्नेहरू पनि यसमा आउनुहुन्छ ।
नेपालमा एउटा घर हुनुपर्छ, त्यसपछि एउटा गाडी हुनुपर्छ भन्ने छ, नेपालमा मात्रै नभएर जहाँ पनि यस्तो हुन्छ । त्यसैले यस्तो गाडीको व्यवस्थापन भनेको पुनः बिक्री नै गर्ने हो । यसको एउटा छुट्टै च्यानल हुन्छ । त्यही अनुसार हामीले ग्राहकलाई बिक्री गरिरहेका हुन्छौँ ।
बजारमा हाम्रो छुट्टै किसिमको फिलोसोपी छ । पहिलो कुरा, हामीले टाटाका प्रोडक्टमध्ये नेपालको लागि उपयुक्त हुने खालका प्रोडक्ट मात्रै बजारमा ल्याउँछौँ । हामीले जुनसुकै प्रोडक्ट ल्याउँदाखेरि पनि आईडिन्टीटी र इन–मार्केट टेस्ट नगरिकन ल्याउँदैनौँ । यसले गर्दा नेपालको जुनसुकै क्षेत्रमा पनि हाम्रो प्रोडक्टले कस्तो पर्फमेन्स गर्छ भन्ने परीक्षण हामीले गरेका हुन्छौँ । हामीले ग्राहकसँग जे कमिटमेन्ट गरिरहेका छौँ, त्यो भेहिकलले दिइरहेको छ कि छैन भनेर हेर्ने गर्छौं ।
सिप्रदीले हेर्ने कुरा मुख्य कुरा भनेकै ग्राहकको एक्सपेरियन्स हो । हाम्रो प्रत्येक ग्राहकले सिप्रदीसँग जोडिएको दिनदेखि गाडी किन्दा, गाडी चलाउँदा लगायत सबै ठाउँ पुग्दा कसरी राम्रो एक्सपेरियन्स दिन सकिन्छ भन्ने नै हाम्रो मुख्य फोकस हो ।
त्यसैले हामीले जति पनि प्रोडक्ट लिएर आउँछौँ, चाहे कर्भको कुरा गरौँ, टियागोको कुरा गरौँ, केथ्रीको कुरा गरौँ । जुनसुकै गाडी ल्याउँदा पनि यी सबै प्रक्रिया पूरा नगरी हामी ल्याउँदैनौँ । त्यो भइसकेपछि हामीले हाम्रो ग्राहकलाई हामीले दिन खोजेको अनुभव पाइराख्नु भएको छ कि छैन भनेर अपडेट भइराख्ने काम गर्छौं र त्यसलाई कसरी इम्प्रुभ गर्दै लिएर जान सकिन्छ भन्ने कुरा पनि हेर्छौं ।
हामीले अहिलेसम्म जति पनि गाडी बेचिरहेका छौं र नयाँ गाडी बेच्ने तयारी गरिरहेका छौँ, हाम्रो सबैभन्दा मुख्य फोकस नै दुई वटा कुरामा हुन्छ । एउटा, नेपालको लागि प्रोडक्ट उपयुक्त होस् र अर्को कुरा, कुनै पनि कस्टुमरले लिएको प्रोडक्ट प्रयोग गर्दा भएका प्रत्येक टच प्वाइन्टमा ‘वाह’ एक्सपेरियन्स आओस् भन्ने हुन्छ । यसमा फोकस गरेर हामीले प्रोडक्ट लिएर आउने गरेका छौँ । अहिलेसम्म हामी बिजिनेसमा सफल हुनु र भइरहनुको मुख्य कारण यही नै हो ।
आफ्नै प्रोडक्टभित्र क्यानिबलाइज (प्रतिस्पर्धा) नहुने भन्ने भन्ने हुँदैन, अलिअलि हुन्छ तर पनि हामीले मुख्यतया हाम्रो टार्गेट ग्रुप कुनकुन छन्, त्यो अनुसार हामीले कुनकुन प्रोडक्टलाई कसरी पोजिसनिङ गर्ने भन्नेमा ध्यान दिएका हुन्छौँ । त्यसरी पोजिसनिङ गर्दाखेरि हामी सम्भव भएसम्म टार्गेट ग्रुप छुट्ट्याउन खोज्छौँ ता कि आफ्नै प्रोडक्टमा क्यानिबलाइज नहोस् ।
हामीसँग अहिले भएको प्रोडक्टमध्ये टियागो भन्नेबित्तिकै इन्ट्री सेगमेन्ट भन्ने चिनिन्छ । यो सिटी एप्लिकेसनको लागि डिमाण्ड हुन्छ । सहरभित्र चलाउने, सानो पार्किङमा पनि राख्न सकिने किसिमको हुन्छ । यसलाई ग्राहकले त्यही अनुसार स्वीकार गरिरहनुभएको छ ।
मान्छेको एक्सपेरियन्स बढ्दै जाँदा पञ्च ईभीको डिमान्ड हुन्छ । त्यसपछि केथ्रीमा जानुहुन्छ । अहिले कर्भ आउँदैछ, यो त्योभन्दा नेक्स लेभलको एक्सपेरियन्सको लागि हो । त्यसैले हामीले सबै पोटेन्सियल ग्राहक वा टार्गेट ग्रुपलाई फरकफरक प्रोडक्टले कभर गर्न खोजिरहेका छौँ ।
प्राइसिङ गर्दा पनि एकदमै विचार गरेर राखेका हुन्छौँ । कुन सेगमेन्टमा हामीले कसरी प्रोडक्ट पोजिसनिङ गर्ने, कुन टार्गेट सेगमेन्टमा फोकस गर्ने भन्ने कुरामा ध्यान दिएर नै प्रोडक्ट लञ्च गर्ने भएकोले यो विषयमा धेरै ठुलो समस्याचाहिँ मैले देखेको छैन ।
हामी भारतीय प्रिन्सिपल कम्पनी भएको हुनाले हामीले अप्रिल टू मार्चको अप्रेसनलाई हेरेर तुलना गर्छौं । त्यो हिसाबले हेर्दा गत वर्ष पनि हामी मार्केट लिडर हौँ । ओभरअल मार्केटमा हाम्रो सेयर ३१ प्रतिशत छ, जुन राम्रो हो । यो अवस्था पछिसम्म रहिराख्न र भोलिका दिनमा पनि मार्केट लिडर बन्नको लागि जे काम गर्नुपर्छ, हामीले त्यसमा फोकस गरिरहेका छौँ ।
यसका लागि हामीले हेर्ने मुख्य कुुरा भनेको कस्टुमरको विश्वास कसरी जित्न सक्छौँ भन्ने नै हो । हामीले आफूलाई मूल्यांकन गर्दा अरु र हामीमा धेरै फरक पाउँछौँ । ईभीको सन्दर्भका हामी झन् अगाडी छौँ भन्ने लाग्छ । अटो इन्डष्ट्री आफैँमा प्रोडक्ट सेलिङ गर्ने ठाउँमात्रै होइन, यसका लागि कम्प्लिट मोबिलिटी सोलुसन दिनुपर्छ । अहिले इलेक्ट्रिक भेहिकलमा त झन् यसको आवश्यकता बढेको छ ।
त्यो भनेको कुनै पनि प्रोडक्ट बिक्री गर्दा प्रोडक्टसँग सम्बन्धित इकोसिस्टम राम्रो बनाउनुपर्छ । हामीले त्यसो गरेनौँ भने प्रोडक्टले राम्रो पर्फर्म गर्न सक्दैन । ईभीको विषयमा हाम्रो फोकस यसैमा हो । यसका लागि हामीले चारवटा कुरा ध्यान दिएका छौँ । पहिलोमा चार्जिङ स्टेशन । दोस्रोमा सर्भिस सेन्टर, तेस्रोमा जनशक्ति व्यवस्थापन र चौथोमा ब्याट्रीको रिपेयर र रिप्लेसमेन्ट ।
इलेक्ट्रिक भेहिकल बेच्ने भन्नेबित्तिकै हामीले सुरुमै हाइवेका प्रत्येक ७० किलोमिटरमा फास्ट चार्जिङ स्टेशन हुनुपर्छ भनेका थियौँ । त्यही अनुसार हामीले प्रत्येक हाइवेका विभिन्न ठाउँमा फास्ट डीसी चार्जरसहितको चार्जिङ स्टेशन राखेर सुरु गरेका थियौँ ताकि हाम्रा ग्राहकहरूलाई उपत्यका बाहिर जहाँ पनि चार्जिङको समस्या नहोस् । अहिले हामीसँग देशभर १८५ वटा चार्जिङ स्टेशन छन् ।
ईभीको लागि वर्कशप पनि विशेष किसिमको हुन्छ । अहिले हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १६ वटा वर्कशप सञ्चालनमा ल्याएका छौँ, जहाँ इलेक्ट्रिक गाडीको मर्मतसम्बन्धी सम्पूर्ण काम हुन्छ । जनशक्ति उत्पादनका लागि हामीले आफ्नै ट्रेनिङ सेन्टर स्थापना गरेका छौँ । हामीलाई चाहिने दक्ष जनशक्ति हामी आफैँले उत्पादन गरिरहेका छौँ ।
गाडीको ब्याट्री रिपेयरिङ गर्ने सिस्टम हामीले ल्याएका छौँ । कुनै गाडीको ब्याट्री महत्त्वपूर्ण हिस्सा हो । किनकि अहिले ईभीको ब्याट्री रिप्लेसमेन्टको लागि ठुलो लागत लाग्छ । अरु गाडीमा कुनै कारणले ब्याट्री बिग्रियो भने रिप्लेसमेन्ट गर्नुको विकल्प हुँदैन । हामी यसमा के समस्या छ, त्यसको डाइग्नोसिस गरेर रिपेयर गर्न सक्छौँ ।
यी चार वटा कुरामा हामीले एकदमै राम्रोसँग इकोसिस्टम बनाइसकेको हुनाले टाटाको गाडीप्रति ग्राहकमा विश्वास बढेको छ । त्यसैले उहाँहरूले हाम्रो प्रोडक्टलाई एकदमै राम्रो ढंगबाट स्वीकार गरिरहनुभएको छ । यसले गर्दाखेरि नै हामी मार्केट लिडर हुन सक्षम भएका हौँ । भोलि पनि हामीले यही कुरामा फोकस गर्ने हो, यही कुरालाई स्ट्रेन्थेन गर्दै जाने हो ।
जुनसुकै देशबाट आउने गाडी पनि आफैँमा राम्रो–नराम्रो भन्ने हुँदैन । मुख्य कुरा भनेको कुनै प्रोडक्ट किनेपछि ग्राहकले कम्प्लिट सोलुसन पाउँछ कि पाउँदैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
जहाँसम्म चीनबाट धेरै गाडी आएको भन्ने कुरामा मलाई के लाग्छ भने जहाँ धेरै स्टार्टअप छन्, त्यहीँबाट आउने हो । चीनमा अहिले २०० वटाभन्दा धेरै ईभीका स्टार्टअप कम्पनी छन्, त्यसमध्ये १०० वटाभन्दा बढी मोडल नेपालमा आएको छ ।
भारतमा त्यस्तो छैन, त्यहाँ एकदमै सीमित कम्पनीमात्रै छन् । त्यसमा पनि स्टार्टअप नभएर अटो इन्डष्ट्रिजमा वर्षौंवर्ष काम गरिरहेका दुईतीन वटा कम्पनीका इलेक्ट्रिक भेहिकलमात्रै नेपालमा आइरहेका छन् तर चीनबाट अहिले १०० भन्दा धेरै मोडेल नेपाल आइरहेको छ । त्यसैले चीनबाट धेरै आएको देखिनु स्वाभाविक हो ।
त्यसैले प्रोडक्टको आधारमा मात्रै दुई देशबाट आउने गाडीमा तुलना गर्ने भन्ने खासै हुँदैन । बिक्रीपछिको सेवा लगायतको कुरामा धेरै कुरा भर पर्छ । कम्पनीले आफ्नो प्रोडक्ट कसरी बनाइरहेको छ र उसले दीर्घकालीन रूपमा कसरी सोचिरहेको छ भन्ने कुरा ग्राहकले विचार गर्नुपर्छ जस्तो लाग्छ । कुनै स्टार्टअपले गाडी उत्पादन गरेर बिक्री गरेको छ र पछि स्टार्टअप बन्द भयो भने पछिका दिनमा सर्भिस, मेन्टिनेन्स, पार्टर्समा समस्या हुन सक्छ । त्यस्तै, राम्रो इकोसिस्टम नबनाइ बजारमा आएको अवस्थामा पनि यसले कस्टुमरलाई राम्रो एक्सपेरियन्स नदिन सक्छ । यी कुरामा नै बढी प्रतिस्पर्धा हो भन्ने मलाई लाग्छ ।
प्रतिक्रिया