शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
प्रकृति लम्साल आत्महत्या प्रकरण

उच्चस्तरीय समितिले किट संस्थापकलाई बोलायो

शुक्रबार, ०९ फागुन २०८१, १२ : १०
शुक्रबार, ०९ फागुन २०८१

नयाँ दिल्ली । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ ।

उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ ।’ समितिले प्रमाणको रूपमा पर्याप्त कागजातहरू पेस गर्न सामन्तलाई भनेको छ । 

गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । आत्महत्याको परिस्थिति, संस्थानका अधिकारीहरूले गरेको मनमानी कारबाही, विद्यार्थीहरूको विशेष समूहलाई मात्र सूचना जारी गर्ने, उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने र अन्य सम्बन्धित मामिलाहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ । 

यसअघि समितिले बुधवार किटको भ्रमण गरेको थियो । यस क्रममा समितिका सदस्यहरूले प्रकृति लम्सालको आत्महत्या प्रकरणमा क्याम्पसमा विरोध गर्दा त्यहाँका कर्मचारीहरूको दुर्व्यवहारमा परेका नेपाली विद्यार्थीहरूसँग कुराकानी पनि गरेका थिए ।

‘उच्चस्तरीय समितिलाई यस विषयमा छानबिन गर्न जो कोहीलाई पनि बोलाउने अधिकार छ । समितिले कानुनको आधारमा काम गरिरहेको छ’ उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजले भने । 

प्रदेश सरकार विद्यार्थीहरूको हितको रक्षा गर्न प्रतिबद्ध भएको  पनि उनले बताएका थिए । प्रदेश सरकारले नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गरेको र घटनाका बारेमा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराएको पनि बताइएको छ । 

२० वर्षीय प्रकृति लम्सालको आत्महत्यापछि किटमा हङ्गामा भएको थियो । नेपाली विद्यार्थीहरूले घटनाको विरोध गर्दै न्यायको माग गरेका थिए । विरोध प्रदर्शनबाट आक्रोशित किट व्यवस्थापनले करिब हजार नेपाली विद्यार्थीहरूलाई निलम्बन गरेको सूचना जारी गरी सोमबार नै क्याम्पस छोड्न आदेश दिएको थियो । 

आरोपी हिरासतमा 

छात्रालाई आत्महत्या गर्न उक्साएको आरोपमा २१ वर्षीय इन्जिनियरिङ छात्रलाई पक्राउ गरिएको प्रहरी आयुक्त एस देवदत्ता सिंहले बताएका छन् । आरोपीलाई प्रहरीले तीन दिनको हिरासतमा लिएको छ ।

प्रकृतिको मृत्यु भएको केही घण्टापछि आइतबार साँझ शहरबाट भाग्ने प्रयास गरिरहेको अवस्थामा ती छात्रलाई बिजू पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । उनीमाथि प्रकृतिलाई ब्ल्याकमेल गरेको र दुर्व्यवहार गरेको आरोप छ ।

थप पाँच कर्मचारी पक्राउ

यसैबिच, नेपाली विद्यार्थीहरूमाथि आक्रमण गरेको आरोपमा ओडिशा प्रहरीले बिहीबार किटका थप पाँच कर्मचारीहरूलाई पक्राउ गरेको छ । संस्थानको निर्देशनपछि होस्टेल खाली गर्दै गर्दा आक्रमण भएको थियो । योसँगै किट विवादमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको छ, जसमा एक इन्जिनियरिङ छात्र पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप