हाथरस भागदौड मामिलामा भोले बाबालाई सफाइ, प्रहरी र आयोजकलाई ठहराइयो जिम्मेवार

नयाँ दिल्ली । उत्तर प्रदेशको हाथरसमा २०२४ को जुलाई ४ मा भएको भयानक भागदौडको घटनामा न्यायिक आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । यस दुर्घटनामा १२१ जनाको मृत्यु भएको थियो भने अरू दर्जनौँ घाइते भएका थिए ।
न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गरिएको थियो । यसलाई सदनमा राख्न पनि मन्जुरी दिइएको छ । प्रतिवेदनमा भागदौडको लागि मुख्यतया आयोजकहरूलाई जिम्मेवार ठहराइएको छ भने प्रशासन र प्रहरीको लापरबाहीलाई पनि गम्भीर गल्ती मानिएको छ ।
प्रतिवेदनका अनुसार भागदौड भएको सत्संगका आयोजकहरूले सुरक्षा मापदण्डहरू पालना गरेका थिएनन् । यद्यपि, एसआईटीले जस्तै न्यायिक आयोगले पनि सत्संग सञ्चालन गर्ने कथावाचक भोले बाबालाई यस घटनाबाट अलग राखेको छ र उनलाई क्लिन चिट दिएको छ ।
अनुसन्धानले भागदौडमा बाबाको कुनै भूमिका नभएको निष्कर्ष निकालेको छ । बरु अराजकता र कुव्यवस्थापन यसको कारण बताइएको । प्रतिवेदनमा प्रहरीले पनि आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा नगरेको उल्लेख गरिएको छ ।
भीड व्यवस्थापनको लागि उचित व्यवस्था गरिएन, जसका कारण अचानक भागदौड मच्चियो र धेरै मानिसहरूको कुल्चिएर ज्यान गयो । प्रतिवेदनका अनुसार यदि प्रहरी र प्रशासन सतर्क भएको भए र भीड नियन्त्रणको लागि आवश्यक उपायहरू अपनाएको भए यो त्रासदी रोक्न सकिन्थ्यो ।