शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज

पहिलो संस्करणको विजेता दक्षिण अफ्रिका र नवप्रवेशी अफगानिस्तानबिच रोचक भिडन्त

शुक्रबार, ०९ फागुन २०८१, १० : ५२
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । ‘मिनी विश्वकप’ का रुपमा परिचित आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा शुक्रबार अप्रत्यासित नतिजा निकाल्न खप्पिस अफगानिस्तानले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । 

दक्षिण अफ्रिका र अफगानिस्तानबिचको खेल पाकिस्तानको कराँचीस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ । जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा खेल्न लागिएको यो तेस्रो खेल हो । 

अफगानिस्तान र दक्षिण अफ्रिका प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । उक्त समूहको यो पहिलो खेल हो । समूह ‘बी’ मा दुईपटकको च्याम्पियन अस्ट्रेलिया र इङ्ल्यान्ड पनि रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

सन् २०२३ मा खेलिएको आईसीसी एकदिवसीय विश्वकपमा माथिल्लो आठ स्थानमा रहेका टोलीले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएका हुन् । उक्त विश्वकपको सेमिफाइनलमा पुग्ने चार टोली भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका स्वतः च्याम्पियन्स ट्रफीमा छनोट भएका थिए । 

अफगानिस्तान भने उक्त विश्वकपको छैटौँ स्थानमा रहेर च्याम्पियन्स ट्रफीमा उपस्थित भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा दक्षिण अफ्रिका पाँचौँ स्थानमा आसिन छ । अफगानिस्तान भने वरीयताको आठौँ स्थानमा छ । 

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र अफगानिस्तान

दक्षिण अफ्रिकाले पनि सन् १९९८ मा आयोजित पहिलो संस्करणदेखि नै निरन्तर रुपमा च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाको यो लगातार नवौँ सहभागिता हो । 

दक्षिण अफ्रिकाले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको छ । अस्ट्रेलियाले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणकै उपाधि कुम्ल्याएको थियो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा दक्षिण अफ्रिका ऐतिहासिक टोली पनि हो ।

उक्त संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई चार विकेटले हराउँदै उपाधि हात पारेको थियो । आईसीसीद्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगिताहरुमा दक्षिण अफ्रिकाले जितेको यो एकमात्र उपाधि पनि हो । 

यसदेखि वाहेक दक्षिण अफ्रिकी टोली कुनै पनि संस्करणको फाइनलसम्म पनि पुग्न सकेको छैन । आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानको यो पहिलो सहभागिता हो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा अफगानिस्तान सबैभन्दा कान्छो राष्ट्र पनि हो । 

एकदिवसीय अन्तर्राष्ट्रियमा आपसी भिडन्त

च्याम्पियन्स ट्रफीमा यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने यी दुई टोलीबिच निकै कडा प्रतिस्पर्धा देखिन्छ । हालसम्म यी दुई टोलीबिच एकदिवसीय खेलमा पाँचपटक भिडन्त भएको छ ।

त्यसमध्ये तीन खेलमा दक्षिण र दुई खेलमा अफगानिस्तान विजयी भएका छन् । यी दुबै टोलीले हालसम्म घरेलु मैदान र एक–अर्काको विपक्षीको मैदानमा भने एक खेल पनि खेलेका छैनन् । पाँचवटै खेल ‘न्यूट्रल भेन्यू’ मा खेलिएको हो । 

यी दुई टोलीबिच खेलिएको पछिल्लो तीन एकदिवसीय अन्तर्राष्ट्रियमा भने अफगानिस्तानले दुई र दक्षिण अफ्रिकाले एक खेल जितेका छन् । सन् २०२४ को सेप्टेम्बर १८ मा खेलिएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो ।

यसैगरी, सन् २०२४ को सेप्टेम्बर २० तारिखमा खेलिएको एकदिवसीय खेलमा पनि अफागानिस्तानले दक्षिण अफ्रिकालाई एक सय ७७ रनले पराजयको स्वाद चखाएको थियो । सन् २०२४ को सेप्टेम्बर २२ तारिखमा खेलिएको खेलमा भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सात विकेटले हराएको थियो ।

दक्षिण अफ्रिकाको अवस्था

च्याम्पियन्स ट्रफीअन्तर्गत शुक्रबार खेलिने खेलमा अफगानिस्तानका लागि दक्षिण अफ्रिकीका हेनरिच क्लासेन, मार्को यानसन, केशव महाराज लगायतका खेलाडी घातक बन्न सक्छन् । पछिल्लो समय क्लासेनको ब्याटिङ निकै आक्रामक देखिन्छ ।

त्यसैले अफगानिस्तानका बलरहरुका लागि उनी घातक बन्न सक्छन् । पछिल्लो समय यानसनको प्रदर्शन पनि अब्बल देखिन्छ । केशव महाराजको जादुमयी स्पिन बलिङले पनि अफगानिस्तानका ब्याट्सम्यानलाई हैरान पार्न सक्छ । वायन मुल्डरको बलिङ पनि लयमा देखिन्छ । 

यसैगरी, म्याथ्यू ब्रिट्जकेको अनुपस्थिति दक्षिण अफ्रिकाका लागि दुःखद पक्ष हो । पछिल्लो समय उनी लयमा थिए । उनी यो वर्ष सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले यो दुई सय ३३ रन बनाइसकेका छन् । तर, उनी टोलीमा छैनन् । 

अफगानिस्तानको अवस्था

अफगानिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि टोलीविरुद्ध अप्रत्यासित नतिजा निकाल्न पनि खप्पिस छ, अफगानिस्तानको टोली ।

अफगानिस्तानको पछिल्ला सफलताहरुमा विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजको भूमिका महत्वपूर्ण रहँदै आएको छ । त्यसैले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि उनी अफागानिस्तानका लागि महत्वपूर्ण कडी सावित हुन सक्छन् । 

यसैगरी, अफगानिस्तानका स्पिन बलर राशिद खानको त विश्व क्रिकेटमै दबदबा देखिन्छ । त्यसैले दक्षिण अफ्रिकाविरुद्ध उनी पनि ‘गेम चेन्जर’ को भूमिकामा देखा पर्न सक्ने सम्भावना छ । टोलीमा मोहम्मद नाबीजस्ता अनुभवी खेलाडी पनि छन् ।

तर, अफगानिस्तानले यो वर्ष एउटा पनि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । अघिल्लो वर्ष खेलिएको एकदिवसीय अन्तर्राष्ट्रियमा रहमानुल्लाह गुरबाज सर्वाधिक रन बनाउने खेलाडी थिए ।

सबैभन्दा बढी विकेट लिने बलर भने गजनफर थिए । तर, उनी चोटका कारणले जारी च्याम्पियन्स ट्रफीमा सहभागी छैनन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा अजमतुल्लाह ओमरजाई दोस्रो स्थानमा थिए । उनले अघिल्लो वर्ष एकदिवसीय अन्तर्राष्ट्रियमा १७ विकेट लिएका थिए । 

कराँचीमा पिचको अवस्था

कराँचीस्थित नेशनल स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुका लागि उपयोगी मानिन्छ । यो पिचमा ब्याट्सम्यानहरुले पेस र बाउन्सको फाइदा उठाउन सक्छन् । यद्दपि, यो पिचमा स्पिन बलरहरुले पनि केही फाइदा उठाउन सक्छन् । 

यो स्टेडियममा हालसम्म कुल ५७ एकदिवसीय खेल खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २७ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले यो स्टेडियममा २८ खेल जितेको इतिहास छ । 

दुई खेल भने अनिर्णित रुपमा सकिएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर चार विकेट गुमाएर तीन सय ५५ रन हो । उक्त रन पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध बनाएको थियो ।

छैन वर्षाको सम्भावना

च्याम्पियन्स ट्रफीअन्तर्गत शुक्रबार दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल हुँदा कराँचीमा वर्षाको कुनै सम्भावना नरहेको समाचारमा जनाइएको छ । 

त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, कराँचीको न्युनतम तापक्रम १७ र अधिकतम तामक्रम ३१ डिग्रि सेल्सियससम्म रहनेछ । हावाको गति भने ११ किलोमिटर प्रति घण्टा रहने छ ।

सम्भावित टोली 

दक्षिण अफ्रिकाको सम्भावित टोलीमा टेम्बा बाभुमा ९कप्तान०, रायन रिकेलटन, रासी भान डर डुसान, एडन मारक्रम, हेनरिच क्लासन, डेभिड मिलर, वायन मुल्डर, मार्को यानसन, कागिसो राबडा, केशव महाराज र तबरेज शाम्सी रहन सक्छन् ।

यसैगरी, अफगानिस्तानको सम्भावित टोलीमा हशमतुल्लाह सहिदी ९कप्तान०, इब्राहिम जादरन, रहमानुल्लाह गुरबाज, रहत शाह, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, राशिद खान, नविद जादरन, नुर अहमद र फजल–हक फारुकी रहन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप