शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : अन्तर्राष्ट्रिय मातृभाषा दिवस

मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन र स्कुलहरूमा पढाउन किन आवश्यक छ ?

शुक्रबार, ०९ फागुन २०८१, १० : ११
शुक्रबार, ०९ फागुन २०८१

हामीले भाषिक जनगणना अहिलेसम्म गर्न सकेका छैनौँ । हामीसँग भाषिक तथ्यांक छैन । राष्ट्रिय जनगणनाले भाषासम्बन्धी जुन तथ्यांक सार्वजनिक गर्दै आएको छ, त्यसैलाई आधिकारिक मान्दै आएका छौँ । 

राष्ट्रिय जनगणनाले देशभर १२४ मातृभाषा बोलिने भनेको छ । यसमा भाषा आयोगले तीनवटा खोजेर १२७ मातृभाषा पुगेको त छ, तर आयोगले अनुसन्धान गरेको तीनवटा भाषाले राष्ट्रिय रूपमा मान्यता पाइसकेको छैन । 

हामीकहाँ भएका सबै मातृभाषाको लिपि छैनन् । गणतन्त्रपछि गोरखापत्रले विभिन्न भाषाका सामग्री प्रकाशन गर्ने गरेको छ । त्यसमा लिपि नभएका मातृभाषाका सामग्रीलाई देवनागरी लिपिमै प्रकाशन गरिन्छ । भाषा भएको तर लिपि नभएको अवस्थामा देवनागरीलाई नै प्रयोग गरिएको छ । 

जनगणनाले १२४ भाषासँगै अन्य भनेर केही हजार वक्तालाई राखेको छ । अन्यमा कुन–कुन भाषा परेका छन् भनी खोज्नुपर्नेछ । अन्यमा परेका पनि १२४ भाषाभित्र पर्न सक्छन् र कसैको भाषिक जनसंख्यामा केही संख्या थपिन सक्छ । हामीले कुसुन्डा भाषा एकजनाले मात्र बोल्छ भनेका छौँ । यस्तै सुरेल भाषा दुई–चार सयले मात्रै बोल्छन् । यो अवस्थामा अन्य भनिएको भाषामा पर्ने को हुन् भनी अध्ययन हुन आवश्यक देखिन्छ । अध्ययन गर्ने जिम्मेवारी घुमिफिरी भाषा आयोगकै देखिन्छ तर जनगणना लिनेसम्मको म्यान्डेट भाषा आयोगलाई छैन । अर्कोतिर आयोगसँग यस प्रकारको बजेट र जनशक्ति पनि छैन ।

मीकहाँ धेरैजसो मातृभाषामाथि अध्ययन–अनुसन्धान भएका छन् । विशेषतः भाषा आयोगले राष्ट्रिय जनगणनाले नदेखाएको केही भाषाको समेत अध्ययन गरेको छ । 

भाषाविज्ञान केन्द्रीय विभागले पनि धेरै भाषाको अध्ययन गरेर आफ्नो वेबसाइटमा राखेको छ । भाषाको अध्ययन विभिन्न कोणबाट भएका छन् । जस्तो : कुनै भाषाको शब्दको अध्ययन, कुनैको व्याकरणको अध्ययन, कसैको इतिहासको अध्ययन, कसैको सामाजिक भाषा विज्ञानको अध्ययन आदि । 

  • भाषिक भेद

स्थान परिवर्तन हुनेबित्तिकै कुनै पनि जीवित भाषाको स्वरूप परिवर्तन हुन्छ । त्यही परिवर्तनलाई पहिले भाषिका भनिन्थ्यो, अहिले भाषिक भेद वा भाषाको क्षेत्रीय भेद भन्ने गरेका छौँ । हामीकहाँ यस्ता भेद धेरै ठाउँमा छन् । यसलाई भाषाको विवाद वा समस्याभन्दा पनि भाषाको सुन्दर पक्ष भनेर लिनुपर्छ । यद्यपि यसले कतै–कतै समस्या पनि उत्पन्न गरेका छन् । 

पहिले राई भाषा भनिन्थ्यो; अहिले चाम्लिङ, बान्तवा, वाहिङ, वाम्बुले आदि भाषा आदि भनिन्छ । अर्थात् किरात समुदायका विभिन्न भाषाका आ–आफ्नै नाम छन् । राष्ट्रिय जनगणनाको तथ्यांकले राई भाषा भनेकामा किरात समुदायले आपत्ति प्रकट गरेको छ । राई भाषा भन्ने नै छैन भन्ने उनीहरूको भनाइ छ । राई भने पनि चाम्लिङ राई, बान्तवा राई आदि भन्नुपर्ने हुन्छ । 

यस्तै तामाङ समुदायभित्र पनि भाषिक भेद छन् । चारै तिरबाट उपत्यकालाई घेरेर, त्यसमा पनि दुई तह बनी तामाङहरूको बस्ती रहेको छ । उपत्यकालाई छुने गरी बसेको बस्तीमा एउटा किसिमको र त्योभन्दा परको बस्तीमा अर्को खालको भाषा छ । यसमा पनि पूर्व, पश्चिम, उत्तर र दक्षिण भेगमा भाषिक भेद रहेका छन् । यी सबैमध्ये कुनलाई मानक मान्ने भनी छलफल भइरहेका छन् । 

जहाँसम्म नेपालभाषा (नेवाः भाषा)को कुरा छ, यसमा पनि केही भाषिक भेद छन् । दोलखाको नेवार र काठमाडौँको नेवारले बोल्ने नेपालभाषा फरक छ, यी दुई भाषी भेट हुँदा नेपालीमा कुरा गर्नुपर्ने हुन्छ । यद्यपि बिस्तारै बोल्दा सबै नबुझे पनि अधिकांश बुझिन्छ । 

केही वर्षअघि नारायणघाटमा सम्पन्न ‘नेवाः देय् दबू’ (नेवाः राष्ट्रिय सम्मेलन)ले निर्णय गरेको थियो कि जहाँ जे–जस्तो नेपालभाषा बोलिए पनि काठमाडौँमा बोलिनेलाई नै मानक मानिनेछ । 

यही वर्षदेखि बागमती प्रदेश सरकारले तामाङ र नेपालभाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा लागु गरेको छ । अब दोलखाका नेपालभाषीले प्रदेशमा नेपालभाषाबाट पत्राचार गर्दा भने काठमाडौँमा बोलिने नेपालभाषालाई मानक मान्नुपर्छ । पछिल्लो समय यो खालको सहमति गर्ने गरी छलफल भइरहेका छन् । 

स्थानीय तहमा जुन भाषा छ, त्यसलाई मर्न दिनु हुँदैन । जस्तो : दोलखामा त्यहाँकै नेपालभाषा मानक मानेर प्रयोग हुन्छ । त्यहाँ काठमाडौँको नेपालभाषा प्रयोग गर्ने भन्ने होइन । 

काठमाडौँ उपत्यकामा बोलिने नेपालभाषामा भने जातगत रूपमा भाषिक भेद रहेको पाइन्छ । मानन्धर, ज्यापु, वज्राचार्य, शाक्य, सायमि आदिले बोल्ने भाषा र अलिकति पछाडि पारिएका कसाई, च्यामखलः (पोडे) आदिले बोल्ने भाषामा केही फरक छ । मलाई लाग्छ— एकै ठाउँमा बस्ने नेवारहरू भए पनि कुनै बेलाको जातीय छुवाछुतका कारण एउटा तप्कालाई पछाडि पारियो र खुला रूपमा सम्पर्क नहुँदा भाषामा केही फरक पर्न गयो ।

भाषिक भेदका कारण केही समुदायमा समस्या उत्पन्न भएका छन् । जस्तो : सुदूरपश्चिममा थारु भाषा र रानाथारु भाषाको विवाद । यस्तै सुदूरपश्चिमतिर पनि भाषिक भेद छन् । त्यहाँ खस भाषाको अतिरिक्त डोटेली भाषा, बाजुराली भाषा, डडेल्धुरेली भाषा, बैतडेली भाषा आदि छन् । 

कुनै समुदायले आफूले बोल्ने भाषा छुट्टै हो भन्छ भने त्यसलाई मान्यता दिनुपर्ने हुन्छ । एकातिर हामीले आ–आफ्नो भाषिक पहिचानलाई स्थापित गर्नुपर्नेछ, अर्कोतिर भाषा अधिकारका लागि सामूहिक शक्तिलाई पनि मजबुत पार्नुपर्नेछ । किनभने हामी विभिन्न भाषीले आ–आफ्नो भाषिक अधिकारका लागि एकीकृत रूपमै संघर्ष गरिरहनुपरेको अवस्था छ । त्यसैले हामी यो भाषी, त्यो भाषी भन्नुभन्दा अगाडि आफूहरूको अधिकारका लागि एकीकृत हुनुपरेको छ । 

चेपाङ बालबालिकाले स्कुलमा चेपाङ भाषा सिकेर घरमा आफ्ना अभिभावकलाई सिकाएछन् । आफूले बिर्सेको भाषा आफ्नै बालबच्चाबाट सिक्न पाउँदा अभिभावक नै दंग छन् । यसले के देखाउँछ भने, स्कुलमा मातृभाषा पढाइयो भने लोप हुन लागेको भाषा ब्युँतिने सम्भावना रहन्छ ।

कुनै पनि मातृभाषा आ–आफ्नो समुदायमा बोलिनु एकातिर छ, खासगरी मातृभाषाको औपचारिक अध्ययन–अध्यापन स्कुलमा गर्नुपर्ने हुन्छ । सरकारी कामकाजको भाषाका रूपमा पनि मातृभाषा प्रयोग हुन्छ । सरकारी कामकाजमा पनि प्रमुख रूपमा स्थानीय तहमा मातृभाषाको प्रयोग हुन्छ वा गर्नुपर्ने हुन्छ । किनभने जुन स्थानमा जुन मातृभाषीको बाहुल्य छ, सोही भाषा प्रयोग गर्दा प्रभावकारी हुन सक्छ, अझ भनौँ भाषाको संरक्षण पनि हुन्छ । 

मातृभाषा पढाउने अभ्यास विभिन्न पालिकाका स्कुलहरूले गरेका छन् । जहाँ नेपालीबाहेक जुन मातृभाषाको बाहुल्य छ, त्यहाँ सोही मातृभाषाको एउटा विषय पढाउने गरिएको छ । काठमाडौँ महानगरपालिकाका केही वडाका विद्यालयमा नेपालभाषा पढाइन्छ । यस्तै तामाङ, राई, लिम्बुहरूको बाहुल्य भएको स्थानीय तहमा पनि आ–आफ्ना मातृभाषाको अध्ययन–अध्यापन चलिरहेको छ । यद्यपि मातृभाषा पढाउने शिक्षकको दरबन्दी नहुँदा समस्या भएका छन् । 

अस्ति भर्खरै हामी सिन्धुली गएका थियौँ, त्यहाँको कमलामाई नगरपालिका– १, कोप्चेमा जनजागृति पूर्वप्राथमिक विद्यालय छ, जहाँ हायु समुदायका बालबालिकाले मात्र अध्ययन गर्छन् तर शिक्षक सबै बाहुन–क्षत्री छन् । त्यहाँ हायु भाषा पढाउने कुरा भयो तर समस्या शिक्षकको छ । किनभने हायु समुदायबाट एसएलसी उत्तीर्ण शिक्षक खोज्न समस्या रहेछ । 

धादिङको गंगाजमुना गाउँपालिकामा चेपाङ बस्तीमा चेपाङ भाषा लोप हुने अवस्थामा रहेछ । त्यस पालिकामा रहेको श्री जलकन्या आधारभूत विद्यालयमा चेपाङ भाषा पढाउन थालियो । चेपाङ बालबालिकाले स्कुलमा चेपाङ भाषा सिकेर घरमा आफ्ना अभिभावकलाई सिकाएछन् । आफूले बिर्सेको भाषा आफ्नै बालबच्चाबाट सिक्न पाउँदा अभिभावक नै दंग छन् । यसले के देखाउँछ भने, स्कुलमा मातृभाषा पढाइयो भने लोप हुन लागेको भाषा ब्युँतिने सम्भावना रहन्छ ।   

  • शब्द संकलन 

कुनै पनि भाषालाई सरकारी कामकाजमा प्रयोग गर्दा र विद्यालय तथा विश्वविद्यालयमा पढाउँदा त्यस भाषाको शब्दकोश आवश्यक हुन्छ । लोपोन्मुख भाषाको हकमा भने शब्दकोश बनाउनुअघि शब्द संकलन गर्नुपर्ने हुन्छ । शब्द संकलनको काम अहिले राज्य स्तरबाट भइरहेका छन् । 

हायु, सुरेल, चेपाङ, राउटे, कुुसुन्डा लगायत लोपोन्मुख भाषाका शब्द संकलन गर्ने र व्याकरणसँग सम्बन्धित काम भइरहेका छन् । नेपालभाषाको हकमा त धेरै नै शब्दकोश बनेका छन् । 

भाषा आयोगले नेपालीबाहेक १२ वटा मातृभाषालाई सरकारी कामकाजका लागि सिफारिस गरेको छ । कोशी प्रदेशमा मैथिली र लिम्बु; मधेस प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका; बागमतीमा तामाङ र नेपालभाषा; गण्डकीमा मगर र गुरुङ; लुम्बिनीमा थारु, अवधी र भोजपुरी; सुदूरपश्चिममा डोटेली र थारु भाषालाई सरकारी कामकाजका लागि सिफारिस गरिएको छ । आयोगले सिफारिस गर्ने मुख्य आधार त्यहाँको जनसंख्या नै हो । सिफारिस गरे पनि मातृभाषाहरू सरकारी कामकाजमा प्रयोग भइसकेका छैनन् । सरकारले भर्खरै कानुन र कार्यविधि बनाएको छ । बागमतीबाहेक अन्य प्रदेशमा कानुन बनिसकेको अवस्था छैन ।

अहिले बागमती प्रदेशको संसदले दुईजना अनुवादक (तामाङ र नेवार भाषाका लागि) मागेको छ । उहाँहरूको प्रमुख काम भनेको संसद्का डकुमेन्टलाई तामाङ र नेपालभाषामा अनुवाद गर्नु हो । यसपछि मुख्यमन्त्रीको कार्यालय र संस्कृति मन्त्रालयमा अनुवादक राख्ने कुरा छ । 

  • भाषाको महत्त्व

संसारको कुनै पनि ठाउँको सभ्यता र संस्कृतिको आधार भनेकै भाषा हो । भाषा भएन भने संस्कृतिहरू लोप हुँदै जान्छन् । कुनै पनि समुदायको संस्कृतिलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्ने माध्यम भनेकै भाषा हो । त्यही समुदायले बोल्दै आएको भाषाबिना कुनै पनि संस्कृतिको हस्तान्तरण आंशिक रूपमा मात्रै सम्भव हुन्छ ।

नेवार समुदायको बिहे संस्कार विधि नेपालभाषामा छ । नेपालभाषा लोप हुँदा त्यो संस्कारलाई पनि असर गर्छ । अर्को कुरा, अहिले हामीले केक काटेर र मैनबत्ती बालेर जन्मदिन मनाउँछौँ । तर नेवारहरूको संस्कृतिमा सुकुन्डा बालेर, अन्डा र रक्सी सगुन लिएर, नवग्रहको पूजा गरेर जन्मदिन मनाउने गरिन्छ । 

अरूको पनि जन्मदिन मनाउने आफ्नै संस्कृति होला तर हामीले एक–अर्काको जन्मदिन मनाउने चलनलाई नक्कल गर्दैनौँ । पश्चिमा प्रायः संस्कृतिको नक्कल गरिरहेका छौँ । खासगरी बालबच्चा र नयाँ पुस्तालाई ‘ह्याप्पी बर्थडे’ भन्ने मात्रै थाहा छ, जुन केक काटेर मनाइन्छ । जब हाम्रा स्कुलमा बालबालिकालाई अंग्रेजी भाषा पढाउन थालियो, सँगसँगै कतिपय पश्चिमा संस्कृति भित्रिए । अहिले नेवार समुदायले जन्मदिन मनाउँदा केक पनि काट्छ । जसले गर्दा सुकुन्डा बाल्ने, अन्डा र रक्सी सगुन खाने चलन कम हुँदै गएको छ । पछि गएर जन्मदिनमा सुकुन्डा बाल्ने, नवग्रह पूजा गर्ने, अन्डा–रक्सी सगुन खाने, चलन कथा बन्ने खतरा छ ।

(भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरसँगको कुराकानीमा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश किरण
सुरेश किरण
लेखकबाट थप