शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

अनुपम घलान स्मृति फुटबल: वडा नम्बर १२, १५ र १९ सेमिफाइनलमा

शुक्रबार, ०९ फागुन २०८१, ०८ : ४६
शुक्रबार, ०९ फागुन २०८१

मकवानपुर । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुमप घलानको स्मृतिमा सुरु भएको १६ वर्ष मुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १२, १५ र १९ सेमिफाइनलमा प्रवेश गरेका छन् । नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको बिहीबारको खेलमा जीत निकाल्दै वडा नम्बर १२, १५ र १९ सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

प्रतियोगिता अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा–६ लाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै हेटौँडा १५ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय एक–एक गोलको बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो । खेलको निर्धारित समयमा हेटौँडा–६ का लागि अनुज राई र हेटौँडा–१५ का लागि असिम वाईवाले एक/एक गोल गरेका थिए ।

यस्तै बिहीबार नै भएको दोस्रो क्वार्टरफाइनल खेलमा हेटौँडा–९ लाई ३–१ गोलअन्तरले हराउँदै हेटौँडा–१२ ले सेमिफाइनलमा स्थान बनाएको छ । हेटौँडा–९ ले पाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपरेको हो । उसका लागि खेलको २३ औँ मिनेटमा बिप्लव बोहोराले गोल गर्दै अग्रता दिलाएका थिए । 

तर हेटौँडा–१२ का लागि २५ औँ मिनेटमा आदित्य मोक्तानले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा उर्गेन रुम्बा र खेलको अन्तिम समयमा आदित्य मोक्तानले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा वडा नम्बर १२ सेमिफाइनल पुग्न सफल भयो ।

बिहीबार नै भएको क्वाटरफाइनलको तेस्रो खेलमा हेटौँडा–१९ ले हेटौँडा–८ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराएको छ । खेलको निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । हेटौँडा–१९ का लागि पेम्वा बल र हेटौँडा–८ का लागि सन्देश देउलाले एक/एक गोल गरे । 

प्रतियोगिता अन्तर्गत शुक्रबार क्वार्टरफाइनल चरणको अन्तिम खेलमा हेटौँडा–११ र हेटौँडा–१८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै शुक्रबार दिउँसोबाट सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा हेटौँडाका १९ मध्ये १० वटा वडाको सहभागिता छ । १० गते फाइनल खेल हुने प्रतियोगिताको उपाधि विजेता टोलीले एक लाख र उपविजेता टोलीले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप