शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

‘बिहेपछि सिरियस भएँ, अभिनयमा आफूलाई प्रमाणित गर्नु थियो’

‘ट्रेलरले जस्तो भने पनि परिवारसँग बसेर हेर्न मिल्छ’
शुक्रबार, ०९ फागुन २०८१, ०८ : ०१
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । आँचल शर्मा पछिल्लो समय फिल्म ‘दुखी आत्मा’का कारण चर्चामा छिन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा उनको भूमिका आधुनिक खालकी युवतीको छ । प्रचार गरिएको भन्दा भिन्न भूमिकामा आफूलाई पाउने उनले बताएकी छन् । 

फिल्म पुरुषको गोप्य रोगको विषयवस्तुमाथि बनेको हो । त्यसैले फिल्मको विषयवस्तु ‘एडल्ट’ भनेर प्रचारसमेत गरियो । त्यसैले फिल्मका कारण दर्शकमा आफ्नो विषयमा नकारात्मक प्रभाव पर्छ कि भन्ने डर उनमा थियाे । 

फिल्म प्रदर्शनपछि भने दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उनी बताउँछिन् । अभिनेत्री शर्मासँग फिल्म अभिनय विषयमा गरिएको छोटो कुराकानी ।

तपाईंको नयाँ फिल्म ‘दुखी आत्मा’ प्रदर्शनरत छ । अभिनय प्रतिक्रिया कस्तो मिलिरहेको छ ?

अभिनय हिसाबले एकदमै राम्रो प्रतिक्रिया पाइरहेकी छु । फिल्मको प्रिमियरमा पनि थुप्रै निर्देशकसहित फिल्मकर्मीहरूको सहभागिता थियो । उहाँहरूले फिल्म हेरेर मेरो अभिनयको तारिफ गर्दै एकदमै राम्रोसँग फरक भूमिका निर्वाह गर्नुभएको रहेछ भनेर प्रतिक्रिया दिनुभयो ।

फिल्म अभिनय गर्दा यो भूमिकाबाट दर्शक रिझाउन सक्छ कि सक्दिनँ भन्ने डर थियो । प्रदर्शन अगाडि फिल्मको विषय एडल्ट भनेर प्रचार भयो । यसले मेरो विषयमा नकारात्मक प्रभाव पार्छ कि भन्ने डर थियो । फिल्मको प्रदर्शनपछि सबै डर हरायो । फिल्मबाट मैले पहिलेभन्दा झन् राम्रो प्रसंसा पाएँ ।

फिल्मको ट्रेलर र टिजरमा समावेश विषयवस्तुले फिल्ममा तपाईंको भूमिका क्यारेक्टरलेस भन्ने झल्काउँथ्यो नि ?

फिल्ममा मेरो अहिलेको मोडन केटीको भूमिका छ । हाम्रो समाजले मोडनमा पनि मोडन र क्यारेक्टरलेस भनेर विभिन्न वर्गीकरण गर्छ । फिल्मको अभिनय गर्दैगर्दा ममा पनि मोर्डन र क्यारेक्टरलेसमा फरक छुट्याउन गाह्रो भयो । फिल्मको स्क्रिप्ट पढ्दा मलाई पनि यो चरित्रमा देखिने केटी राम्रो केटी होइन भन्ने लाग्यो । त्यसैले अभिनय नगर्ने बताएका थिए । तर, निर्देशक दीपेन्द्र दाई ( दीपेन्द्र लामा) ले यो तिमीले एकदमै सफल वेमा गर्नुपर्छ भनेर सम्झाएर बुझाउनुभयो । मलाई भूमिका निवार्ह गर्न निकै गाह्रो भएको थियो । किनभने, चरित्र अलिकति लाउड गर्दा भल्गर देखिने डर थियो । चरित्र जेन्टल केटीको थियो । केटी कस्तो भनेर मैले अभिनयमार्फत प्रमाणित गर्नुपर्ने थियो । मेरो भूमिका ‘मेरो बडी मेरो राइट, होटल जाँदैन नराम्रो कुरो हुन्छ भन्ने छैन’ बुझाउने चरित्रको थियो ।

आफूले फिल्म हेर्दा के पाउनुभयो ?

मैले आफ्नो चरित्र एकदमै सफल वेमा रहेको पाए । जुन भूमिका अहिले सम्झँदा कसरी गर्न सके भनेर आफैलाई अचम्म लाग्छ । 

विषयवस्तु हेर्दा भल्गर जस्तो देखिन्छ । किन यो फिल्म गर्न मन लाग्यो ?

फिल्म ‘झिँगे दाउ’ र ‘एकमुठी बादल’बाहेक मैले अहिलेसम्म जति पनि फिल्ममा काम गरे । गर्व गर्ने फिल्म गरेको छैन । ‘झिँगे दाउ’मा आँचलले पहिले गर्नेभन्दा फरक गर्‍यो भनेर तारिफ भयो । फिल्म ‘एकमुठी बादल’ पनि मैले केही फरक गरेको छु । यो फेस्टिभल लक्षित फिल्म भएकोले रिलिज भएको छैन । मलाई आफू सबैखालको अभिनय गर्न सक्छ भनेर प्रमाणित गर्नुथियो, त्यसैले यो फिल्ममा अभिनय गरेँ । 

anchel2

फिल्मको स्क्रिप्ट हेर्दा त्यो गुण मेरो चरित्रमा केही थिएन । त्यसैले सुरुमा अभिनय गर्न सक्दै सक्दिनँ भन्ने थियो । फेरि मनमा यदि म राम्रो कलाकार हो भने यो राम्रोसँग गर्न सक्छु, हैन भने सक्दिनँ भनेर भावना पलायो । आफूले आफूलाई बुझेँ । 

फिल्म यौन शिक्षा पनि भनियो नि ?

 कसले के–के भने, त्यो थाहा भएन । फिल्मले पुरुषमा हुने एउटा यौन समस्याको विषय उठाएको छ । यो विषय अहिलेसम्म कुनै निर्देशकले उठाएको छैन । यो हामीलाई कहीँकतै ज्ञान नभएको विषय हो । जुन पुरुषमा यो रोग हुन्छ, उसले बाहिर भन्न सक्दैन । किनभने, यो पुरुषको मर्दाङ्गीसँग जोडिएको विषय हो । पुरुष पात्रको एकदमै प्राइभेट पार्टमा हुने समस्या हो यो । यो कुरो उठाउने हिम्मत निर्देशक दीपेन्द्र दाईले गर्नुभयो । फिल्मले यस्तो समस्या कमन समस्या हो ।  धेरैमा हुन्छ । समस्या लुकाउदा जीवनमा मानसिक तनाब मात्र दिन्छ । डाक्टर कहाँ गयो भने समस्या समाधान हुन्छ भनेर भन्न खोजिएको छ । फिल्म हेरेपछि समाजले यो विषय नर्मल र बुझ्नुपर्ने रहेछ थाहा होस् भनेर फिल्म बनेको हो । 

फिल्मको प्रभाव कस्तो रहला त ?

जतिले पनि फिल्म हेरेका छन् । यो त केटा मानिसले हेर्नैपर्ने फिल्म रहेछ भनेर भनेको सुनेको छु । 

फिल्मको ट्रेलर र टिजरले त फिल्म परिवारसँगै बसेर हेर्न मिल्दैन होला भन्ने लाग्छ नि ?

निर्देशक दीपेन्द्र दाईले के र किन ट्रेलरमा त्यस्तो बनाउनुभयो मैले भन्न सक्दिनँ । मैले यो फिल्म हेर्न ममी, बुबा, दादा र भाउजुलाई सँगै पठाएँ । म पनि उहाँहरूसँगै बसेर हेर्छु भन्ने थियो । बाहिर काम परेकोले मिलेन । मेरो परिवार सबैसँगै बसेर हेर्न मिल्छ भने सबैको परिवार पनि मिलिहाल्छ नि ।

ट्रेलरमा किन यौनका कुरा राखियो त ?

निर्देशक दीपेन्द्र दाईले फिल्मको प्रचारका लागि टिजर र ट्रेलर जुन काट्नुभयो । त्यसमा धेरै यौनका कुरा समेट्नुभयो । त्यो फिल्मका लागि प्लस भयो वा माइनस । त्यो मलाई जानकारी भएन । फिल्मको ट्रेलर हेर्दा कतिपयले मलाई किन यस्तो फिल्म खेलेको भनेर समेत भने । 

anchel3

फिल्म कस्तो हो, कथा के हो मलाई थाहा थियो । टिजर र ट्रेलर कटाइ भने पक्क त्यस्तो थियो । त्यही भएर मैले सबैलाई फिल्म हेर्नु न । तपाईंं क्लियर हुनुहन्छ भन्थे । अहिले कोही त्यस्तो सोच्नुहुन्छ भने फिल्म हेर्न सुझाउँछु । 

धेरै फिल्म अभिनय गरिसक्नुभयो । अझै लोभ लागेको भूमिका छ, कि ?

मैले अहिलेसम्म धेरै फिल्म प्रेम, रोमान्स र ग्ल्यामर टाइपको अभिनय गरे । धेरैले त्यस्तै भुमिकाका ेलागि मलाई रोजे । त्यो मेरो रुचिको विषय होइन । म गराउने मानिस भयो भने धेरै गर्न सक्छु जस्तो लाग्छ । अब आर्ट टाइपको, त्यो पनि महिला प्रधान विषयवस्तुको फिल्म गर्न मनछ । 

अभिनेत्रीहरू धमाधम फिल्म निर्माण गरिरहेका छन् । तपाईंंको विचार के छ ?

फिल्म निर्माणमा आउने सोच त छ । म निर्माता बन्ने अहिले सहि समय भने होइन भन्ने छ । किनभने अरूको फिल्म मैले पाइरहेको छु । मैले फिल्म निर्माण गर्न फ्रि भएर काम गर्नुपर्छ । फिल्म निर्माण एकदमै ठुलो चुनौतीपूर्ण कार्य हो । त्यही भएर अहिलेको समय आँट्न सकिरहेको छैन ।

अभिनयमा विवाह अगाडि र पछाडिमा कहिले सजिलो ?

कतिले विवाह अगाडि नै सजिलो भनेको पनि सुनेको छु । मेरो हकमा भने विवाह पछाडि सजिलो भयो । विवाह अगाडि म कामलाई हल्का रूपमा लिन्थेँ । शतप्रतिशत रूपमा लाग्दैन थिए । फिल्म आइरहेको छ, गरिरहेको छु भन्ने हुन्थ्यो । फिल्ममा नयाँपन पनि मेरो केही थिएन । 

anchel4

विवाहपछि लकडाउनमा मोटाएको थिएँ । श्रीमान्ले तिमी फिल्ममा शतप्रतिशत लाग्ने सोच छैन हो ? किन मोटायौ भन्नुभयो । मैले मोटो मानिस पनि छ, गरिरहेका छन् भनेँ । उहाँले तिमी आफ्नो काममा सिरियस छैनौँ । एउटा काममा त शतप्रतिशत लाग भनेर सुझाउनुभयो । उहाँको कुरो ठिक हो भन्ने लाग्यो । त्यसपछि म अभिनयमा अझ सिरियर भएर लागेँ । अब जति समय यसमा रहन्छु, शतप्रतिशत दिने प्रयास गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप