शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरको सुधार केन्द्रमा युवकको मृत्यु, परिवारद्वारा छानबिनको माग

शुक्रबार, ०९ फागुन २०८१, ०७ : ५२
शुक्रबार, ०९ फागुन २०८१

जनकपुर । धनुषास्थित एक सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा बुधबार साँझ निधन भएको हो । 

यादव दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका थिए। सुधार केन्द्रका व्यवस्थापक सञ्जीव शर्माका अनुसार राजकुमार लागुपदार्थ दुर्व्यसनीमा संलग्न थिए। घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबार बिहान समर अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले सामान्य अवस्था देखिएको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि साँझ फेरि समस्या भएपछि प्रादेशिक अस्पताल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको दाबी गरिएको छ। 

तर, प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवका अनुसार अस्पताल ल्याउँदा नै राजकुमारको मृत्यु भइसकेको थियो। परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आरोप लगाएका छन्। मृतककी आमाले चार दिनअघि छोराको अवस्था कमजोर देखेर घर लैजान चाहे पनि सुधार केन्द्रले भने मानेको थिएन । 

प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताएका छन्। राजकुमार घरका एक्ला छोरा थिए। उनका दुई सन्तान छन् भने उनका पिता वैदेशिक रोजगारीमा छन्। उनको परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ।

केही दिनअघि बाराको सुधार केन्द्रमा निर्घात कुटपिटका कारण एक युवकको मृत्यु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप