बाबुरामप्रति कमल थापाको टिप्पणी- 'हताश मानसिकता उदाङ्गो भयो'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हताश मानसिकता देखिएको टिप्पणी गरेका छन्।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराईले गरेको टिप्पणीमाथि थप टिप्पणी गर्दै दल र सरकारलाई कुनै आलोचना नगरेका राजा शाहप्रति खनिनु भनेको दुर्भाग्य भएको बताएका हुन।
‘मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हताश मानसिकता फेरि एकपटक उदाङ्गो भएको छ। राजा ज्ञानेन्द्रले फागुन ७ को सन्देशमा देशको वर्तमान अवस्थाप्रति मार्मिक ढङ्गबाट चित्रण गर्नु भएको छ। राजाले देश बचाउन र बनाउन आफू सहयोग गर्न तयार रहेको र त्यस कार्यमा सहयोग गर्न आह्वान गर्नुभएको छ। राजाले प्रजातन्त्र, दल वा सरकारको विरोध पनि गर्नुभएको छैन,’ थापाले भट्टराईमाथि प्रश्न गरेका छन्, ‘देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन ? संविधान प्रदत्त विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?’
जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको जनाउँदै थापाले थप प्रश्न गरे, ‘त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुराम जीलाई कसले दियो ?’ वर्तमान अवस्था र व्यवस्थाप्रति असन्तोष प्रकट गरेको कारण राजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरङ्कुश र फासिष्ट छ, राजाको कुरा छोडिदिनुहोस्, राजाको मन्तव्यमा त गणतन्त्रको उल्लेख पनि छैन।’
विगत अठार वर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेको र त्यसका लागि संघर्ष गरिरहेको पनि थापाले जनाएका छन्। ‘सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनु होस्, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस्,’ उनले अगाडि भने, ‘विचार नियन्त्रण गर्ने बाबुरामजीले बुझ्नुपर्छ कि जनताको मानसिकतामा ठूलो परिवर्तन आइसकेको छ। १८ वर्ष अघि विदेशीको दबाब र प्रभावमा परेर तयार गरिएको गलत भाष्य अब जनताले बुझिसकेका छन्। जनतालाई ढाँटेको र धोका दिएको छर्लङ्ग भैसकेको छ।’
अध्यक्ष थापाले युद्दकालमा राजासँग मिलेर जाने प्रस्ताव ल्याएको पनि स्मरण गराएका छन्। ‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होईन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आईरहेको छ,’ उनले भनेका छन् 'देश र जनताप्रति ईमान्दार हुनुहुन्छ भने अहिले पनि सुधार गर्ने अवसर छ। परिवर्तनकारी शक्ति र बिचार तथा परम्परागत शक्ति र विचारकाबिचमा सामञ्जस्यता खोजौँ। सबै राजनीतिक शक्ति र विचार अटाउने मौलिक प्रजातन्त्रको विकास गरौँ। यसबारे ठण्डा दिमागले सोच्न बाबुरामजीलाई आग्रह छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?