१० बजे १० समाचार : नेपालमा युरोपियन जहाज ल्याउन रोकदेखि पाथीभरा क्षेत्रमा फेरि तनावसम्म

काठमाडौँ । आज मिति २०८१ साल फागुन महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–
१. ईयूलाई नेपालको जवाफ
नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू) लाई नेपालले जवाफ फर्काउन थालेको छ ।
सबै सुरक्षा मापदण्ड पालना गर्दा पनि विभिन्न सर्त राखेर नेपाललाई सेक्युरिटी लिस्टबाट नहटाएपछि नेपालले पनि युरोपमा बनेका जहाज ल्याउन रोक लगाउन सुरु गरेको हो । जसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अघि माउन्टेन हेलिकोप्टरले एटीआर हेलिकोप्टर ल्याउन मागेको अनुमति ‘रिफ्युज’ गरेको छ ।
२. पाथीभरा क्षेत्रमा फेरि तनाव
ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । नो केबलकार समूह क्षमा पूजाको नाममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेको बताए ।
३. फुटबल
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको सुरक्षामा गम्भीर चुक देखिएको छ । आयोजक नेपाल र लेबानानबिच बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मैदानभित्र नै असम्बन्धित व्यक्ति प्रवेश गरेका हुन् ।
४. प्रकृति लम्साल मृत्यु प्रकरण
उडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा उडिसा सरकारले छानबिन सुरु गरेको छ । छानबिनका लागि उडिसा सरकारले गठन गरेको उच्च स्तरीय समितिले विश्वविद्यालयका संस्थापक अच्युता समान्तालाई बयानका लागि बोलाइएको हो ।
लम्सालले आइतबार विश्वविद्यालयको छात्रावासमा आत्महत्या गरेकी थिइन् । उनले विश्वविद्यालयकै अर्का छात्र आदिक श्रीवास्तवको दुव्र्यवहार सहन नसकेर आत्महत्या गरेको दाबी छ ।
५. कांग्रेसका सरकार विरोधी
नेपाली कांग्रेस इतरसमूहका नेतृत्वकर्ता डा शेखर कोइरालाले बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग संविधान संशोधन, सुशासन, आर्थिक अवस्थामा सुधार ल्याउनेसहित सातबुँदे सहमति गरेर सरकार बनाए पनि त्यो सहमतिअनुसारको काम हुन नसकेको बताए ।
दुई दलबीच भएको सहमतिअनुसार काम नभएकाले आफूले मुख्य सत्तारुढ दलको नेता भएर पनि खबरदारी गरिरहेको डा कोइरालाले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरूमा बताइरहेका छन् ।
‘मन्त्रीहरूले त मिलेरै जानुपर्छ,’ डा कोइरालाले सुर्खेतमा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘तर जो हामी बाहिर छौँ, जो सरकारमा छैनौँ, तर सत्तामा छौँ । उनीहरूलाई खबरदारी गरिएन भने भोलि निरंकुशतातिर जानसक्छ कि भन्ने चिन्ता लागेको हो । अहिले देशको अवस्था जटिल छ । कांग्रेस र एमाले मिल्दा पनि सुशासन कायम गर्न, आर्थिक कठिनाइलाई सुधार ल्याउन र संविधान संशोधन गर्ने कामको सुरुवात गर्न सकेका छैनन् । काम गर्न सकेनन् भने जनताले पत्याउन्नन्, तसर्थ विरोध गरिरहनपर्छ ।’
६. मन्त्रिपरिषद् निर्णय
सरकारले एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
फागुन ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक खर्च पुनरावलोकन आयोग, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग र एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक–फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनका लागि मन्त्रीपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिए ।
७. राप्रपा बैठक
राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । फागुन १५ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।
बैठक नियमित भएको बताउँदै श्रेष्ठले पार्टीको यसअघि भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, बैठकले गरेका निर्णयहरुको कार्यान्वयन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुने बताए ।
यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशको विषयमा पनि स्वाभाविक रुपमा बैठकमा छलफल हुने उनको भनाइ छ । पूर्वराजाले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।
८. माओवादी भेला
नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिकाका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला फागुन १० र ११ गते गोल्डेन दरबार चावहिलमा हुने भएको छ । पुस २३ मा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
९. सुनको मूल्य
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो ।
यद्यपि त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत रहेको थियो । तर, भन्सार दर १० प्रतिशत कायम भएपछि पनि सुनको मूल्य पुरानो मूल्यको रेकर्डसँग बराबरी भएको हो ।
१०. सडक र पुलमा बजेट
सरकारले विपद्बाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि आवश्यक बजेटको स्रोत सहमति गरेको हो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट
-
समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ