शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक सातामै कसरी ट्रम्प र पुटिनले विश्वलाई हल्लाइदिए ?

बिहीबार, ०८ फागुन २०८१, २० : ४१
बिहीबार, ०८ फागुन २०८१

वासिंटन । सन् १९१७ को रुसी क्रान्तिको साक्षी रहेका अमेरिकी पत्रकार जोन रिड जब यसबारे आफ्नो संस्मरण लेखिरहेका थिए, उनले त्यसको शीर्षक राखे– ‘त्यो १० दिन जसले विश्वलाई हल्लाइदियो’ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि १० दिन पनि धेरै हुन्छ, उनीहरूले एक सातामै विश्वलाई हल्लाइदिएका छन् ।

फेब्रुअरी १२ मा ट्रम्प र पुटिनबिच फोनमा वार्ता भयो । उनीहरूले अमेरिका र रुसबिचको सम्बन्धलाई नयाँ सुरुवातको बाचा गरे ।

अमेरिका र रुसबिच सम्बन्ध सुधारको सुरुवात भइरहँदा अमेरिका र यूरोपबिचको सम्बन्ध चिसिँदै गएको थियो ।

युक्रेन युद्धपछि अमेरिका र रुसबिच पहिलो उच्चस्तरीय वार्ता साउदी अरबमा भयो । यो त्यो साता थियो, जसमा परम्परागत सहयोगीहरूबिच तनाव बढ्यो, अमेरिकी धारणा आलोचना गर्न यूरोप र युक्रेन बाध्य हुन पुगे । यूरोपको सुरक्षालाई लिएर चिन्ता बढ्यो र रुसको अवस्था मजबुत भयो ।

कसैलाई कुनै सहुलियत वा मूल्य नदिइकन रुस अन्तर्राष्ट्रिय राजनीतिमा निकै मजबुत अवस्थामा पुग्यो ।

बुधबार बिहानै रुसी अखबारमा टेबलको वारपार बसेर युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता गरिरहेका रुसी र अमेरिकी अधिकारीहरूको तस्बिर प्रकाशित भएको थियो ।

रुस आफ्ना जनता र विश्व समक्ष युक्रेन युद्धलाई लिएर आफूलाई अलगथल गर्ने यूरोपेली प्रयास विफल भएको देखाउन चाहन्छ ।

के भन्छन् रुसी मिडिया ?

रुसी मिडिया अमेरिका र रुसको सम्बन्धमा देखिएको सुधारलाई स्वागत गरिरहेका छन् । रुसी राष्ट्रपति पुटिन समर्थित टेबलोयड ‘मस्कोस्की कमसोमोलेट्स’ले लेखेको छ, ‘रुसलाई सहुलियत दिनुपर्छ भन्ने ट्रम्पलाई थाहा छ, युक्रेन युद्ध जितिरहेको पक्षलाई उनी सहुलियत दिँदैछन् । ट्रम्पले रुसलाई सहुलियत दिन्छन् तर यसको परिणाम अमेरिकाले होइन, युक्रेन र यूरोपले भोग्नुपर्नेछ ।’

यो पत्रिकाले अगाडि लेखेको छ, ‘लामो समयदेखि यूरोपले विश्वासलाई आफू नै संसारको सबैभन्दा सभ्य हुँ, भगवानको दूत हो भनेर भन्दै आएको छ तर उसको इज्जत घट्दै गएको आकलन गर्न भने सकेन ।’

मस्कोको सडकमा कस्तो छ अवस्था ?

अमेरिका र रुसबिच पछिल्लो समय आपसी सम्बन्धमा देखिएको उत्साहजनक सुधारप्रति मस्कोको सडकमा खासै चासो देखिएको छैन ।

मस्कोका नागरिक ट्रम्पलाई लिएर हतारमा केही भन्न चाहदैनन् । ट्रम्प रुसको सबैभन्दा राम्रो मित्र हुन सक्छन् र युक्रेनसँगको युद्ध अन्त्य गराउन सक्छन् भन्नेमा उनीहरूमा शंका देखिन्छ ।

नादेज्दा नाम गरेकी एक रुसी महिला भन्छिन्, ‘ट्रम्प व्यापारी हुन् । उनी पैसा कसरी कमाउने भन्ने जान्दछन् । मलाई यो अवस्थामा कुनै परिवर्तन आउला भन्ने लाग्दैन ।’

गियोर्गी नाम गरेकी अर्की एक महिला भने केही आशावादी देखिन्छिन् । उनले भनिन्, ‘साउदी अरबमा भएको वार्ताले सायद केही परिवर्तन हुन्छ कि, अब शत्रुता अन्त्य गर्ने बेला आएको छ ।’

इरिना नाम गरेकी महिलाले ट्रम्प ऊर्जावान, सक्रिय रहेको जिकिर गर्दै भनिन्, ‘वार्ताबाट यो क्षेत्रमा शान्ति आउँछ भन्ने आशा छ । यसबाट हाम्रो अर्थव्यवस्थामा पनि मद्दत पुग्नेछ ।’

युद्ध र अन्तर्राष्ट्रिय तनावका कारण खाद्य वस्तु लगायत अत्यावश्यक वस्तुको मूल्य बढेको उनको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप