शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

सत्तारुढ कांग्रेसकै नेताहरू भन्छन्– सरकारले कामै गर्न सकेन

बिहीबार, ०८ फागुन २०८१, १८ : ००
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेस इतरसमूहका नेतृत्वकर्ता डा. शेखर कोइरालाले बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग संविधान संशोधन, सुशासन, आर्थिक अवस्थामा सुधार ल्याउनेसहित सातबुँदे सहमति गरेर सरकार बनाए पनि त्यो सहमतिअनुसारको काम हुन नसकेको बताए । 

दुई दलबीच भएको सहमतिअनुसार काम नभएकाले आफूले मुख्य सत्तारुढ दलको नेता भएर पनि खबरदारी गरिरहेको डा. कोइरालाले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरूमा बताइरहेका छन् । 

‘मन्त्रीहरूले त मिलेरै जानुपर्छ,’ डा. कोइरालाले सुर्खेतमा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘तर जो हामी बाहिर छौँ, जो सरकारमा छैनौँ, तर सत्तामा छौँ । उनीहरूलाई खबरदारी गरिएन भने भोलि निरंकुशतातिर जानसक्छ कि भन्ने चिन्ता लागेको हो । अहिले देशको अवस्था जटिल छ । कांग्रेस र एमाले मिल्दा पनि सुशासन कायम गर्न, आर्थिक कठिनाइलाई सुधार ल्याउन र संविधान संशोधन गर्ने कामको सुरुवात गर्न सकेका छैनन् । काम गर्न सकेनन् भने जनताले पत्याउन्नन्, तसर्थ विरोध गरिरहनपर्छ ।’

डा. कोइरालाले मात्रै होइन, प्रमुख सत्तारुढ दल कांग्रेसका अन्य नेताले पनि वर्तमान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै सार्वजनिक कार्यक्रममा असन्तुष्टि पोखिरहेका छन् । असन्तुष्टि पोख्नेमा इतरसमूहका नेताहरू मात्रै होइनन्, संस्थापन पक्षीय नेताहरू पनि छन् । 

कांग्रेस नेताहरूले सार्वजनिक कार्यक्रमै असन्तुष्टि पोखिरहेका छन् । असन्तुष्टि पोख्नेमा डा. कोइराला, महामन्त्री गगन थापा, संस्थापनपक्षीय केन्द्रीय सदस्यहरू एनपी साउद, डा. डिला संग्रौला, नैनसिंह महरलगायत छन् । 

महामन्त्री थापाले काठमाडौँमा सञ्चारकर्मीहरूलाई पुस ५ गते प्रतिक्रिया दिँदै सरकारले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । ‘सरकार बनिसकेपछि जुन खालको आशा थियो त्योअनुसार डेलिभरी भइरहेको छैन,’ महामन्त्री थापाले भनेका थिए । 

संस्थापनपक्षीय केन्द्रीय सदस्य साउदले ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकेको भन्दै सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाएका छन् । १८ पुसमा बुटवलमा सञ्चारकर्मीहरूसँग नेता साउदले भने, ‘दुई दलबीचको न्यूनतम् साझा सहमति कार्यान्वयन हुन सकिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सहमतिविपरीतका अभिव्यक्ति आइरहेका छन् । उहाँले आफ्ना अभिव्यक्ति राख्दा संवेदनशील हुन जरुरी छ ।’ 

संस्थापन पक्षकै नेतृ डा. डिला संग्रौला पनि ओली नेतृत्वको सरकारसँग सन्तुष्ट छैनन् । उनले सार्वजनिक कार्यक्रममै यस्तो सरकारसँगको असन्तुष्टि पोखिरहेकी छन् । पुस ९ मा बुटवलमा पत्रकारहरूसँगठ डा. संग्रौलाले जुन–जुन उद्देश्यले कांग्रेस–एमाले मिलेर सरकार बनाएका हुन्, त्यो पूरा गर्न सरकार सफल नभएको बताइन् । संग्रौलाले भनिन्, ‘जनताले विकासको अनुभूति गरेका छैनन् । सरकार सञ्चालनमा भएकाहरू अल्मलिएका छन् ।’

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले सरकार सातबुँदे सहमतिअनुसार चल्न नसकेको बताइरहेका छन् । कांग्रेस सूर्योदय नगर कार्यसमिति इलामले गरेको कार्यक्रममा महरले दुई ठुला शक्ति एक ठाउँमा आउँदा सुरुमा जनतामा आशा रहे पनि निराशा देखिएको बताएका थिए । ‘यसले कांग्रेसको घोषणापत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन । जनतामाझ व्याप्त निराशा आशामा परिणत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता थियो,’ महरले भनेका थिए । 

दुई ठुला दल मिलेर सरकार बनाउँदा पनि सातबुँदे सहमति उद्देश्यअनुसार जनस्तरमा महसुस हुने गरी काम हुन नसकेको उनीहरूले शृंखलाबद्ध रूपमा बताइरहेका छन् । यसरी प्रश्न उठाउनेमा अग्रपंक्तिमा डा. शेखर कोइराला देखिएका छन् । सरकारको सय दिने ‘हनिमुन’ अवधि पूरा नगर्दै कार्यशैलीमाथि प्रश्न उठाएका कोइरालाले प्रतिशोध साधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको, सहकारी समस्या समाधानमा सरकार उदासीन भएको, जिल्ला तहसम्म सत्तागठबन्धनको संयन्त्र बनाउनेलगायत विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । 

                महामन्त्री थापा भन्छन् : अझ् बढी सफल होस् भनेर सचेत गराइएको हो
नेपाली कांग्रेसभित्र हामीले आफ्ना विचारहरू खुला ढंगले राख्छौँ । पार्टीको एकल सरकार हुँदैगर्दा र पार्टी संयुक्त सरकारमा जाँदा सरकारमा बसेका साथीहरूलाई प्रश्न गर्ने, सचेत गराउने गछौँ । हाम्रो पार्टीको परम्परामा बन्द कोठामा भएको बैठकमा र सार्वजनिक कार्यक्रममा हामीले प्रश्न गर्ने अभ्यास रहँदै आएको छ ।
कतिपय कुराहरू निरपेक्ष रूपमा विरोधका लागि विरोध अथवा अन्य कुनै प्रयोजनका लागि राजनीतिक अस्त्रका रूपमा प्रयोग नहोस् भन्नका लागि सचेत रहनुपर्छ । मैले पार्टी कि सरकारमा जान हुन्न, गएपछि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ भन्ने मान्यता राख्छु । यसअघि पार्टी सरकारमा जाँदा पनि सरकारमा गएका साथीहरूलाई अघिकतम सहयोग गरियो । सरकारमा बसेका साथीहरूलाई सचेत गराउने र प्रश्न गर्ने पनि संगसँगै गर्‍यौँ । 
सरकार सरकारमाथि सरकारको गतिसँग प्रश्न उठाइरहेको छु । म जतिबेला मन्त्री भएँ, त्यो बेला ६, ७ महिना मात्रै काम गर्न पाएँ । समय थिएन, कितिबेला सरकार ढल्छ भन्ने थियो । त्यसले काममा प्रतिकूलता थपेको थियो । त्यतिबेला जुन किसिमले काम गरिएको थियो ।
अहिले सरकारमा रहेका साथीहरूमा गर्ने काममा अझै बढी सचेतता देखियोस् । गरेको काम भएन भन्ने होइन, गरिरहेका काम अपर्याप्त भए भन्ने हो । सरकार सफल होस्, कांग्रेस नेताहरूले जिम्मा लिएका मन्त्रालय अझ बढी सफल होऊन् भन्ने उद्देश्यले गति बढाउन सचेत गराइएको हो । कहीँ कतै पनि उनीहरूलाई अफ्ठ्यारो पार्न खोजिएको होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई
लेखकबाट थप