शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
उड्डयन

ईयूले कालोसूचीबाट नहटाएपछि नेपालको पनि जवाफ, युरोपियन जहाज ल्याउन रोक

बिहीबार, ०८ फागुन २०८१, १७ : ०६
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू) लाई नेपालले जवाफ फर्काउन थालेको छ ।

सबै सुरक्षा मापदण्ड पालना गर्दा पनि विभिन्न सर्त राखेर नेपाललाई सेक्युरिटी लिस्टबाट नहटाएपछि नेपालले पनि युरोपमा बनेका जहाज ल्याउन रोक लगाउन सुरु गरेको हो । जसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अघि माउन्टेन हेलिकोप्टरले एटीआर हेलिकोप्टर ल्याउन मागेको अनुमति 'रिफ्युज' गरेको छ ।

पछिल्ला दुर्घटनामा एटीआर जहाज बढी परेको देखिएको र धेरैजसोमा दुर्घटनाका कारण एयरक्राफ्टकै सेक्युरिटी समस्या भएको पाइएकाले अनुमति 'रिफ्युज' गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

‘माउन्टेनलाई एटीआर हेलिकोप्टर ल्याउन हामीले अनुमति दिएनौँ । अब तत्काल हेलिकोप्टर ल्याउन रोक्छौँ,’ भूलले भने, ‘एटीआर जहाजको पनि सबै पफर्मेन्स चेक गरेर मात्रै रोक लगाउन सकिन्छ ।’

नेपालमा अहिलेसम्म ११० वटा हवाई दुर्घटना भएको रेकर्ड छ । यी दुर्घटनामा ९६५ जनाको मृत्यु भएको छ । यसरी भएकामध्ये ४१ वटा हेलिकोप्टर दुर्घटनाका छन् । हेलिकोप्टर दुर्घटनाका अधिकांश घटनामा एयरक्राफ्टकै समस्या देखिएको भूलको भनाइ छ । 

नेपालमा आउने अधिकांश जहाज र हेलिकोप्टर युरोपियन युनियनअन्तर्गत कम्पनीबाटै आउँछन् । हाल नेपालमा ३४ वटामध्ये ३० वटा एटीआर हेलिकोप्टर रहेका छन्, जुन युरोपियन कम्पनीका हुन् । बाँकी ४ वटामध्ये अमेरिकल कम्पनीका दुई ड्रिल र रबिन्सनका २/२ वटा छन् । त्यस्तै ६० वटा जहाजमा पनि धेरैजसो एयरबसकै जहाज छन् । बुद्ध एयरका १८ वटा, यती एयरका ७ वटा जहाज एटीआरकै हुन् । 

  • १२ वर्षदेखि निरन्तर कालोसूचीमा

नेपालको हवाई सुरक्षा कमजोर भएको भन्दै सन् २०१३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) ले नेपाललाई सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी) मा राखेको थियो । त्योलगत्तै ईयूले समेत नेपाललाई सेफ्टीमा राख्यो । यो भनेको कालोसूचीसरह नै हो । त्यसरी सेफ्टी लिस्टमा राख्दा नेपालले कुल ५५ अंक प्राप्त गरेको थियो । 

आईकाओले सुरक्षा एसेसमेन्ट गर्दा खासगरी आठवटा मापदण्डलाई आधार बनाउने गरेको छ । ती आधारहरूमा हवाई कानुन, नागरिक उड्डयन संगठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल रहेका छन् ।

कालोसूचीमा परेपछि नेपालले आईकाओले भनेबमोजिम सुधारका योजना लागु गर्दै गयो । सन् २०१७ मा भएको मूल्यांकनमा नेपालले ६६.७६ अंक प्राप्त गरेपछि आईकाओले नेपाललाई २०१७ जुलाई २० मा एसएससी सूचीबाट हटाएको थियो । तर, आईकाओसँगै नेपाललाई कालोसूचीमा राखेको ईयूले भने ८ वर्षसम्म पनि कालोसूचीबाट हटाएको छैन । ईयूले सुरक्षाभन्दा प्राधिकरणको संरचनाको विषयमा अनावश्यक रूपमा धेरै चासो राखेर सेफ्टी लिस्टबाट हटाउन नमानेको नेपाली पक्षले महसुस गर्दै आएको छ ।

‘हामीले आईकाओको लिस्टबाट हटेपछि ईयूको लिस्टबाट पनि हट्छौं भन्ने लागेको थियो । तर, एकपछि अर्को सर्त तेर्स्याउने काम भयो, नेपाललाई अन्डरस्टिमेट गरेजस्तो देखियो,’ भूलले भने । 

खासगरी नेपालको नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने ईयूको मुख्य चासो देखिन्छ । त्यसैले अनेक सुधारका बाबजुद ईयूले कालोसूचीबाट हटाउन मानेको छैन । जबकि, हवाई कानुनको विषय आईकाओको समेत चासोको विषय थियो, नागरिक उड्डयन प्राधिकरणको संरचनागत परिवर्तनपछि आईकाओले त्यसमा चित्त बुझाएको थियो ।

यसअघि प्राधिकरणका सम्पूर्ण कर्मचारी नियमन र विमानस्थल सञ्चालन गर्ने जिम्मेवारीमा सरुवा हुन सक्थे । अहिले प्राधिकरणले एउटा सेवाका कर्मचारी अर्को सेवामा जान नपाउने गरी नियम बनाएको छ । तर, यो संरचनालाई ईयूले भने मानेको छैन । कानुनी व्यवस्थालाई नै देखाएर उसले नेपाललाई कालोसूचीमै राखिरहेको छ । नेपाललाई सुरक्षा सूचीबाट हटाउन प्राधिकरणलाई टुक्र्याउनुपर्ने पूर्वसर्त जस्तै देखिन्छ । 

प्राधिकरण टुक्र्याउने विधेयक यतिबेला प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ । यद्यपि, यसैका नाममा ईयूले नेपालमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेकोले युरोपियन युनियनअन्तर्गत देशबाट आउने नयाँ जहाज नै रोक लगाउने तयारी गरिएको प्राधिकरण स्रोतको भनाइ छ । नेपालमा आउने जहाजमध्ये एयरबस फ्रान्सेली कम्पनी हो । एटीआर पनि फ्रान्सेली र इटालियन लगानी भएको कम्पनी हो । 

प्राधिकरणका सूचना अधिकारी भूल भने युरोपियन जहाजमा देखिएको सुरक्षा कमजोरीसँगै नेपाली बजारलाई लागत र सुरक्षाको हिसाबले समेत राम्रो हुने जहाज ल्याउन खुला गर्न खोजिएको बताउँछन् । यसका लागि अरू विकल्प खोज्नसमेत वायुसेवा कम्पनीहरूलाई सुझाव दिएको उनको भनाइ छ । 

‘नेपाललाई आर्थिक रूपमा सस्तो हुन्छ, जुन सुरक्षाको दृष्टिकोणले विश्वसनीय हुन्छ, त्यो जहाज ल्याउनुपर्छ भनेर हामीले खुला गर्न लागेका हौँ । त्यसैले नेपाल नागरिक उड्डयन प्राधिकरणले बोइङ वा अन्य वायु निर्माता कम्पनी वा अन्य हेलिकोप्टर निर्माणका कम्पनीका जहाज पनि आयात गर्न प्रोत्साहन गर्ने भन्ने नीतिको तयारी गर्दैछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप