ओडिसाको किट विश्वविद्यालय कसरी पुगे यतिका नेपाली विद्यार्थी ?

काठमाडौँ । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युले स्तब्ध बनायो । उनको ‘आत्महत्या’पछि उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको दमन र दुर्व्यवहारका कारण नेपाल र भारत दुवैतर्फ तरंग पैदा गर्यो ।
अहिले अवस्था सामान्य बने पनि नेपाली विद्यार्थी अझै विश्वविद्यालय फर्किसकेका छैनन् । होस्टेलभित्र भएको कुटपिट तथा जबर्जस्ती होस्टेलबाट निकालिएको घटनापछि नेपाली विद्यार्थीहरू त्रासमा छन् । उनीहरू तत्कालै विश्वविद्यालय फर्किन मानसिक रूपमा तयारसमेत छैनन् । त्यसका लागि केआईआईटी विश्वविद्यालय तथा भारत सरकारले विद्यार्थीहरूलाई सुरक्षा प्रत्याभूति दिलाउने प्रयास गरिरहेका छन् ।
एक हजार एक सय ६० नेपाली विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा भएको उक्त घटनाले यतिको संख्यामा नेपाली विद्यार्थी कसरी त्यहाँ पुगे भन्ने प्रश्न उठेको छ । नेपालको सरकारी निकायहरू नै चकित पर्ने खालको विषयवस्तु बाहिर आएको छ । नेपालबाट विदेशमा पढ्न जान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति (एनओसी) लिनुपर्ने हुन्छ ।
शिक्षा मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले चालु आर्थिक वर्षको फागुन २ गतेसम्म दुई हजार १७ जनालाई भारत पढ्न जान एनओसी दिएको थियो ।
त्यस्तै गत वर्ष २०८०/०८१ मा दुई हजार २८९ विद्यार्थीले भारतका लागि एनओसी लिएको देखिन्छ । तर, एउटा विश्वविद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी पढिरहेका छन् । जसले गर्दा नेपालबाट एनओसी नै नलिई विद्यार्थी केआईआईटीमा पढ्न गएको सरकारी अधिकारीहरूको बुझाइ छ ।
एनओसी शाखाका प्रमुख रमेश घिमिरेले एनओसी जारी भएको र केआईआईटीमा पढिरहेको तथ्यांक हेर्दा एनओसी नलिई पनि पढ्न जाने गरेको देखिएको बताए ।
भारतभरका लागि वार्षिक २ हजार हाराहारीमा एनओसी जारी भएको देखिन्छ । तर, केआईआईटीमा मात्रै एक हजार दुई सय हाराहारीमा विद्यार्थी पढिरहेकाले भारत पढ्न जाने धेरै विद्यार्थीले एनओसी नलिने गरेको देखिएको हो ।
‘तथ्यांक र पढ्ने विद्यार्थीको संख्या हेर्दा भारतमा कतिपय विद्यार्थीले एनओसी नलिई गएको देखियो । खुला सिमानाका कारण इमिग्रेसनमा समस्या हुँदैन,’ शाखा प्रमुख घिमिरेले भने, ‘कतिपयले विश्वविद्यालय पुगेर पढ्न थालेपछि माग्ने गरेका छन् । कतिपयलाई एनओसी चाहिन्छ भन्ने पनि थाहा छैन ।’
भारतसँग खुला सिमा तथा भिसा नचाहिने भएकाले विद्यार्थीहरूलाई कलेजको शुल्क तिर्न समस्या हुँदैन । विद्यार्थीहरूलाई बैंकमार्फत कलेजको शुल्क बुझाउन एनओसी आवश्यक पर्छ । तर, भारतको हकमा त्यस्तो नहुने भएपछि विद्यार्थीहरूले एनओसी नलिएको हुन सक्ने उनको भनाइ छ ।
कुन विश्वविद्यालयका लागि कति जनालाई एनओसी दिएको भन्ने तथ्यांक नहुने घिमिरेको भनाइ छ । जसले गर्दा केआईआईटीका कति एनओसी जारी भएको भन्न नसकिने उनले बताए ।
विदेशमा उच्च शिक्षा पढ्न एनओसी अनिवार्य चाहिन्छ । एनओसी नलिई पढ्न गएका विद्यार्थीलाई पछि नेपाल फर्किने बेला समकक्षता लिनसमेत समस्या हुने गरेको छ । तर, भारत जाने विद्यार्थीहरूको हकमा एनओसी अनिवार्य लिनुपर्छ भन्ने ज्ञान नहुँदा समस्यामा पर्ने गरेका छन् ।
भारतलगायत देशबाट उच्च शिक्षा पढेर फर्किएपछि त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिनुपर्ने हुन्छ । नेपालको पाठ्यक्रम र उताको पाठ्यक्रम हेरेर क्रेडिट आवरका आधारमा त्रिविले समकक्षता दिने गरेको छ ।
- कुन–कुन कन्सल्टेन्सीबाट जान्छन् ?
नेपालबाट केआईआईटीमा जाने विद्यार्थीहरू विभिन्न माध्यमबाट जाने गरेका पाइएको छ । कोही विद्यार्थी सीधा विश्वविद्यालयसँग सम्पर्क गरेर पनि जाने गरेका छन् । कोही विद्यार्थी स्टडी इन इन्डियामार्फत छात्रवृत्ति पाएर जाने गरेका छन् भने कतिपय नेपालमा रहेका कन्सल्टेन्सीमार्फत जाने गरेको पाइन्छ ।
बुटवलमा रहेका एफलिन्डरर्स एजुकेसनल नेटवर्क प्रालिले अहिलेसम्म ६० विद्यार्थीलाई केआईआईटीमा पढ्न पठाएको छ । गत वर्ष मात्रै १८ जना विद्यार्थीलाई उसले पठाएको थियो ।
प्रालिका म्यानेजिङ डाइरेक्टर योगेश ढकालले केआईआईटीमा पढ्न जान चाहने विद्यार्थीलाई सहजीकरण गर्र्दै आएको बताए । उनीहरूको होस्टेल व्यवस्था, अफर लेटरदेखि लिएर छात्रवृत्तिका लागि समेत सहजीकरण गर्दै आएको ढकालको भनाइ छ ।
केआईआईटीमा चार वर्षे बीई (ब्याचलर अफ इन्जिनियरिङ) पढ्न १२ लाख २० हजार भारु शुल्क लाग्छ । त्यस्तै छात्रवृत्ति पाउने विद्यार्थीहरूले पूर्ण रूपमा निःशुल्क तथा ६० प्रतिशतसम्म छात्रवृत्ति पाउने गरेका छन् ।
उनको संस्थाबाट बुटवल, भैरहवा, काठमाडौँ र विराटनगरका विद्यार्थी पढ्न गएका छन् ।
त्यस्तै वीरगञ्जमा रहेको एक्सल वल्र्ड एजुकेसनल कन्सल्टेन्सीले गत वर्ष ३० जना नेपाली विद्यार्थी केआईआईटीमा पढ्न पठाएको थियो । संस्थाका विनय गिरीले आफ्नो संस्थामार्फत गएका विद्यार्थीहरू सबै सुरक्षित रहेका जानकारी दिए ।
भारतले ‘स्टडी इन इन्डिया’मार्फत विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । संसारभरिका विद्यार्थीहरूलाई अवसर दिने मनशायले भारत सरकारले नै उक्त पोर्टलमार्फत यस्तो गर्दै आएको हो ।
त्यस्तै भारतीय दूतावासमार्फत पनि विद्यार्थीहरूले छात्रवृत्ति पाउने गरेका छन् । छात्रवृत्ति नपाउने विद्यार्थीहरू महँगो शुल्क तिरेरसमेत पढ्न जाने गरेका छन् ।
केआईआईटीमा १२ लाख २० हजारदेखि १७ लाख ६० हजार भारु तिरेरै भए पनि नेपाली विद्यार्थीले इन्जिनियरिङ पढ्दै आएका छन् ।
वीरगञ्जमै रहेको अनस्टपेबल एजुकेसन कन्सल्टेन्सी, आद्मिज नेपाललगायत कन्सल्टेन्सीले समेत नेपाली विद्यार्थी केआईआईटीमा पठाउने गरेका छन् । केआईआईटीमा चार वर्षे बीटेक इन कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका कोर्सहरू पढ्न १७ लाख ६० हजार भारु शुल्क तोकिएको छ । त्यस्तै दुई लाख ७१ हजार भारु होस्टेलका लागि, भर्ना तथा कन्सुलिङ शुल्क ७४ हजार गरेर २१ लाख ५ हजार भारु शुल्क तिर्नुपर्ने हुन्छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दीपक भुसालले कति संस्थाहरूले भारतमा विद्यार्थी पठाउने गरेका यकिन जानकारी नभएको बताए । केआईआईटीमा भएको घटनापछि विज्ञप्ति जारी गरेको ईक्यानले विद्यार्थी पठाउने कन्सल्टेन्सीहरूको सोधीखोजी गरेको थियो । तर, अहिलेसम्म कतिवटा कन्सल्टेन्सीले पठाउने गरेको ठ्याक्कै थाहा नभएको भुसालले बताए ।
त्रिभुवन विश्वविद्यालयले २०७६ सालदेखि हालसम्म केआईआईटीमा पढेका २० नेपाली विद्यार्थीलाई समकक्षता प्रदान गरेको छ । त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्राडा पारसनाथ यावदले विभिन्न विषयमा समकक्षता प्रदान गरिएको बताए ।
- समकक्षता रोक्ने शिक्षा मन्त्रालयको चेतावनी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ । प्रकृतिको मृत्यु प्रकरणलाई न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिए भविष्यका लागि ओडिसामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी स्थगित गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका थिए । विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत अध्ययनरत गरिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय रहेको जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?