नेपाल–खनाल एकअर्काको कार्यशैलीप्रति असन्तुष्ट

काठमाडौँ । एमालेसँग विद्रोह गर्दै गठन भएको नेकपा एकीकृत समाजवादीका शीर्ष दुई नेताले एकअर्काप्रति पार्टी सञ्चालनको विधि, प्रक्रिया र कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दुवै पार्टीको शीर्ष नेतृत्वमा रहेर पनि विधि, प्रक्रिया र कार्यशैलीलाई लिएर उनीहरूले एकअर्काप्रति असन्तुष्टि जनाउन नछाडेका हुन् ।
गत असारमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन र त्यस क्रममा नेतृत्व चयन गर्न अपनाइएको विधि र पद्धतिबाट सुरु भएको नेपाल–खनालबिचको असन्तुष्टि आठ महिना बित्न लाग्दासमेत साम्य हुन नसकेको सो पार्टीका नेताहरूको भनाइ छ ।
‘असारमा सम्पन्न दशौँ महाधिवेशनमा केन्द्रीय कमिटी चयनका सवालमा नेपाल–खनालबिच देखिएको मतभेद अझै साम्य भएको छैन’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘त्यस यता स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचनसम्म आउँदा दुई नेताबिच एकअर्कामा शंका–उपशंका गर्ने अवस्था बढ्दै गयो ।’
दशौँ महाधिवेशनमा सर्वसम्मत केन्द्रीय नेतृत्व चयन गर्नुपर्ने पक्षमा अध्यक्ष नेपाल उभिएका थिए भने खनाल सर्वसम्मत भएका अध्यक्ष, महासचिव र सम्मानित नेताबाहेक अरु पदाधिकारी र केन्द्रीय सदस्य प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने पक्षमा उभिएका थिए ।
तर महाधिवेशन हलको म्यान्डेट विपरीत लामो समयपछि नेताहरूको तजविजमा ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो । तजविजमा घोषणा गरिएका केन्द्रीय सदस्यहरूमार्फत बाँकी पदाधिकारी र पोलिटब्यूरो चयन गरिएको थियो । त्यसैबेला यो प्रक्रियाप्रति खनालसहित जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आले लगायतका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।
यही असन्तुष्टि सम्बोधन नहुँदा श्रेष्ठ र आले लगायतका नेताहरू पार्टीमा निष्क्रियजस्तै बसेका छन् ।
दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकअघि मंगलबार र बुधबार बसेको स्थायी कमिटी बैठक र पोलिटब्यूरो बैठकमा समेत नेता झलनाथ खनाल र अध्यक्ष माधव नेपालबिचको सम्बन्ध सुमधुर बन्न नसकेको बैठकमा सहभागी सदस्य बताउँछन् । स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा नेता खनालले अध्यक्षलगायत केही नेताको कार्यशैलीप्रति लिखित रूपमै असन्तुष्टि जनाउँदा अध्यक्ष नेपालले पनि खनाललक्षित असन्तुष्टि आफ्नो दस्तावेजमै समेटेका छन् ।
नेकपा एकीकृत समाजवादीमा दशौँ महाधिवेशन यता अध्यक्ष नेपाल र नेता खनालसहित महासचिव घनश्याम भुसाल समूहको गुटका रूपमा विकसित भएको सो पार्टीका नेता कार्यकर्ताको भनाइ छ ।
शुक्रबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी र पोलिटब्यूरो बैठकबाट पारित अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमै पार्टीमा अनुशासनहीन र अराजक प्रवृत्ति देखिएको उल्लेख छ ।
नेता नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टीभित्र अनुशासनहीन र अराजक प्रवृत्ति देखिने गरेको छ ।’ नेता नेपालले त्यतिमात्रै होइन, पार्टी निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको भन्दै खनालसहितको समूहप्रति कटाक्ष गरेका छन् ।
‘अनुशासनहीन, अराजक र निराश जमातले कहिले पनि पार्टीको विकास र विस्तारमा सकारात्मक भूमिका खेल्न सक्दैन । त्यसो भएकाले यस्ता प्रवृत्तिका विरुद्ध दृढताका साथ जुध्नु र त्यसमाथि नियन्त्रण गर्ने काम गर्नुपर्दछ’, खनालसहितका केही नेताहरूले विभिन्न निर्णयमा असहमति राख्दै बोल्ने र लेख्ने गरेकोतर्फ नेपालले लक्षित गरेका छन् ।
पछिल्लो पटक जारी भएको पार्टीको चौथो ‘अपानी’मा भ्रातृ संगठन अनेरास्ववियु र युवासंघका अध्यक्षको जिम्मेवारी खोसेपछि नेता खनाल र भुसाल पक्षधरले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका छन् ।
अध्यक्ष नेपालले आफ्नो दस्तावेजमै अनुशासनको विषयलाई लिएर यस्तो टिप्पणी गरेका बेला सम्मानित नेता खनालले पनि नेपाललाई ‘काउन्टर’ दिँदै पार्टीमा टीके प्रवृत्ति मौलाएको भन्दै यसरी पार्टी र संगठन नचल्ने बताएका छन् ।
‘गलत निर्णय सच्याऔँ, पार्टीलाई एकतावद्ध बनाएर अघि बढौँ’ भन्दै नेता खनालले पार्टीमा टीके प्रथा, ठाडो बर्खास्ती र नियुक्ति, मन नपरेकालाई हटाउने र परेकालाई ठाडै नियुक्त गर्ने, भइरहेका कमिटीहरू विघटन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशनहरू गर्न नदिने तरिका भनेको गुटबन्दीपूर्ण विभाजनकारी र विघटनकारी तरिका मौलाएको छ’, नेता खनालले बुधबार सम्पन्न स्थायी कमिटीमा लिखित रूपमै राखेको मतमा भनिएको छ ।
उनले पार्टीमा हाल अपनाइएको तौर तरिकालाई निरंकुश र नोकरशाहीको संज्ञा दिँदै यस्तो तरिका स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
‘यो स्वीकार्य हुँदैन, त्यस्ता तरिकाले पार्टी पनि चल्दैन र जनसंगठन पनि चल्दैनन्’, खनालले भनेका छन्, ‘पार्टीले यो कार्यशैली र निर्णय गर्ने तरिका सच्याउनुपर्छ ।’
महाधिवेशनभन्दा नेता शक्तिशाली !
त्यसो त नेता खनालले यसरी मत राख्दा पार्टीमा आफूलाई सम्मानित नेता नभनी सामान्य सदस्यका रूपमा मात्र प्रस्तुत गरेका छन् । गत असारमा सम्पन्न महाधिवेशनले पारित गरेको विधान अहिले पुस्तकका रूपमा छापेर आउँदा फेरबदल गरिएकोमा षड्यन्त्रको गन्ध भएको खनालको बुझाइ छ । सो पार्टीको १० हजारप्रति विधान केही दिन अघिमात्र छापिएको थियो ।
तर छापिएको विधानमा महाधिवेशन हलले पारित गरेकोभन्दा फरक विषय राखिएको भन्दै खनालले आपत्ति जनाएका हुन् ।
‘हलले पारित गरेको विधानमा सम्मानित नेता महाधिवेशनबाटै निर्वाचित हुने भनिएकोमा केन्द्रीय कमिटीले तोक्ने, ६ जना उपाध्यक्षमा एक महिला भनिएकोमा महिला भन्ने शब्द नै हटाएको, तीन जना उपमहासचिव भनेकोमा चार जना लेखेर विधान छापिएको छ’, खनाल निकट एक पोलिटब्यूरो सदस्यले भने, ‘विधानका धेरै कुरा चलाएपछि नेता खनाल असन्तुष्ट बन्नुभएको हो ।’
उक्त विधान छाप्ने जिम्मा नेता बेदुराम भुसाललाई दिइएको थियो । भुसालले हालैमात्र १० हजारप्रति विधान छापेर पार्टी कार्यालयमा पुर्याएका छन् । नेता खनालले विधानमा गडबड भएको भन्दै स्थायी कमिटीमा विरोध गरेपछि त्यसलाई सच्याउने निर्णय भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।
‘विधान प्रकाशन गर्दा केही कमजोरी भएका छन् । ती कमजोरी सच्याउने निर्णय भएको छ’, उपाध्यक्ष ज्वालाले भने, ‘झलनाथ कमरेड लगायत अरुले पनि त्यो कुरा औँल्याउनुभयो । विधानमा महाधिवेशनले गरेका निर्णयभन्दा फरक ढंगले पुटिङ भएकाले सच्याउने खालको निर्णय भइसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति लम्साल आत्महत्या प्रकरणमा भारतले के भन्यो ?
-
परराष्ट्रमन्त्री शनिबार जेनेभातर्फ प्रस्थान गर्दै
-
थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार, आजै नेपाल फर्काइयो
-
१० औँ राष्ट्रिय खेलकुद वैशाख अन्तिम साता वा जेठमा गर्ने तयारी
-
बजेट झण्डै ५ अर्बले घट्ने अनुमान
-
निजामती विधेयकमा सांसद र कानुन सचिवको प्रस्ताव : एक तहमात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गरौँ