शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

हनुमानढोकामा मृत भेटिएका युवकको हत्या भएको निष्कर्ष, दुई किशोरले हत्या गरेको स्विकारे

बिहीबार, ०८ फागुन २०८१, १४ : ५९
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका युवकको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । करिब ३५ वर्षीका युवक बिहीबार मन्दिर नजिकै फोहोर फाल्ने ठाउँमा मृत भेटिएका हुन् ।

मृतकको यकिन पहिचान खुल्न सकेको छैन । तर, हातमा सुशन शाक्य नामको ट्याटु खोपेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । सिसिटिभी फुटेजमा दुईजना किशोरले बाँसको भाटाले हानेर हत्या गरेको देखिएको छ ।

हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुईजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू १६ र १७ वर्षका छन् ।

पक्राउ परेकाहरूले बाँसको भाटाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनीहरुले भनेका छन्, ‘सुरुमा उसले हामीलाई कुटेपछि बाँसको भाटोले हानेका हौँ ।’

नाबालक भएको हुनाले प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । मृतक यसअघि ३ पटकसम्म प्रहरीको अनुसन्धान दायरामा आएका व्यक्ति हुन् । मृतक र आरोपीहरूको कुनै पेसा थिएन । उनीहरू सडकमा बसेर जीविकोपार्जन गर्दै आएका थिए । हत्यामा संलग्नहरु वसन्तपुर क्षेत्रबाट पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप