सुरजको अलराउण्ड प्रर्दशनमा शुक्लाफाँटाको पहिलो जित

काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाको टोलीले पहिलो जित हासिल गरेको छ । शुक्लाफाँटाको टोलीले पुनर्वास नगरपालिकाको ‘ए’ टोलीलाई ६ विकेटले हराएको हो ।
पुनर्वास नगरपालिकाको ‘ए’ टोलीले दिएको एक सय ५५ रनको लक्ष्य शुक्लाफाँटा नगरपालिकाले १९.३ ओभरमा केवल चार विकेट गुमाएर पुरा गर्यो । शुक्लाफाँटका लागि सुरज तिरुवाले अलराउण्ड प्रर्दशन गरे । उनले बलिङतर्फ दुई विकेट लिए भने ब्याटिङतर्फ अविजित ५३ रन बनाए ।
सुरज म्यान अफ दि म्याच पनि घोषित भए । शुक्लाफाँटाका लागि निराजन गौतमले २४ बलमा ३७ रन बनाए । अशोक बिस्टले पनि १४ बलमा ३१ रन बटुले । लोकेश जोशीले १३ र अशोक धामीले अविजित सात रन जोडे । पुनर्वासका बलर पारस शाहीले दुई तथा निरज ऐर र सन्तोष दियालले एक–एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वासले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५४ रन बनाएको थियो । पुनर्वासका लागि कप्तान अविनास सिंह र संदिप भण्डारीको जोडीले ६८ रनको साझेदारी गरेको थियो । भण्डारीले ४२ रन, कप्तान सिंहले ३९ रन र पारस शाहीले २८ रन बनाएका थिए । पारस सुनार १३ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । शुक्लाफाँटाका बलर कैलाश ऐर र निराजन गौतमले दुई–दुई तथा सुरज तिरुवा र अशोक धामीले एक–एक विकेट लिए ।
कैलाली प्रिमियर लिगको यो तेस्रो संस्करण हो । पहिलो संस्करणको उपाधि टिकापुर नगरपालिकाको टोलीले जितेको थियो । दोस्रो संस्करणको उपाधि भने डडेल्धुराको आलिताल गाउँपालिकाको टोलीले जितेको थियो । तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ‘ए’ मा गोदावरी नगरपालिका, पुर्नवास नगरपालिका ‘ए’ र शुक्लाफाँटा नगरपालिका र समूह ‘बी’ मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका ‘बी’ रहेका छन् ।
यसैगरी, समूह ‘सी’ मा त्रीवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका तथा समूह ‘डी’ मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिकाको टोली रहेका छन् ।
लिग कम नकआउटमा खेलाइने प्रतियोगितामा हरेक समूहको विजेता टोलीले सेमिफानलमा स्थान बनाउने छ । प्रतियोगिताको विजेता टोलीले दुई लाख, उपविजेता टोलीले एक लाख र सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट बलर र सर्वोत्कृष्ट ब्याटरले जनही १५–१५ हजार, उदीयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी आयोजक जिल्ला क्रिकेट संघ कैलालीले दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार, आजै नेपाल फर्काइयो
-
१० औँ राष्ट्रिय खेलकुद वैशाख अन्तिम साता वा जेठमा गर्ने तयारी
-
बजेट झण्डै ५ अर्बले घट्ने अनुमान
-
निजामती विधेयकमा सांसद र कानुन सचिवको प्रस्ताव : एक तहमात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गरौँ
-
प्रचण्ड र बीपी कोइराला युग नायक हुन् : वर्षमान पुन
-
एकीकृत समाजवादीको बैठकमा ११ जनाले आफ्ना धारणा राखे