शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

मस्कले भारतमा कारखाना खोले अमेरिकालाई अन्याय हुन्छ : ट्रम्प

बिहीबार, ०८ फागुन २०८१, १२ : ५३
बिहीबार, ०८ फागुन २०८१

वासिङ्टन डीसी । विश्वको सबैभन्दा ठुलो विद्युतीय कार निर्माता कम्पनी टेस्ला लामो समयदेखि भारत छिर्ने प्रयासमा छ । अब भने उसको भारत प्रवेश सफल हुने हो कि भन्ने संकेत देखिएको छ ।

टेस्लाले केही दिन अघि मात्रै भारतका विभिन्न स्थानमा कर्मचारी भर्ना सुरु गर्न आवेदन जारी गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खर्बपति व्यापारी तथा आफ्ना निकट मित्र समेत रहेका मस्कको टेस्लाको भारत छिर्ने योजना फिटिक्कै मन परेको छैन । टेस्लाले भारतमा विद्युतीय कार उत्पादन गर्न उत्पादन प्लान्ट स्थापना गर्नु अमेरिकाको लागि धेरै अन्यायपूर्ण हुने ट्रम्पले बताएका छन् । 

फक्स न्युजका सीन ह्यानिटीका लागि मस्कसँगको संयुक्त अन्तरवार्तामा ट्रम्पले भनेका छन् कि टेस्लाले नयाँ ट्याब खोल्छ र करबाट बच्न भारतमा कारखाना बनाउँछ भने यो अमेरिकाको लागि अन्याय नै हुनेछ ।

ट्रम्पले गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा भारतले कारहरूमा लगाएको उच्च करको आलोचना गरेका थिए । ‘दुनियाँका हरेक देशले हामीबाट फाइदा उठाउँछन्, अनि उनीहरूले शुल्क लगाएर यस्तो गरिरहेका छन् । जसका कारण अमेरिकी कम्पनीहरूलाई अर्को देशमा व्यापार गर्न व्यावहारिक रूपमा असम्भव हुनेछ । ट्रम्पले भने कि यदि मस्कले भारतमा कारखाना स्थापना गर्न चाहन्छन् भने त्यो उनको लागि ठिक हुनेछ, तर यो अमेरिकाको लागि अन्यायपूर्ण हुनेछ, निकै अन्यायपूर्ण,’ ट्रम्पले भने । 

  • दिल्ली–मुम्बईमा टेस्ला शोरूमको तयारी

रोयटर्समा छापिएको खबरका अनुसार टेस्लाले भारतमा प्रवेश गर्न आफ्नो खुद्रा आउटलेटका लागि दुई स्थान छानेको छ । कम्पनीले राजधानी दिल्ली र मुम्बईमा पनि आफ्नो शोरूम खोल्ने तयारी गरिरहेको छ । 

यी दुई स्थानमा शोरूम खोलेर टेस्लाले भारतीय कार बजारमा आफ्नो उपस्थिति विस्तार गर्नेछ । मस्कको कम्पनीले २०२३ को अन्त्यदेखि शोरूमका लागि ठाउँ खोजिरहेको थियो । तर नीतिगत अवरोधका कारण यसमा ढिलाइ भइरहेको थियो । टेस्लाले लामो समयदेखि भारतमा प्रवेश गर्ने विचार गरिरहेको थियो । तर उच्च आयात शुल्कका कारण कम्पनी पछि हटेको थियो । 

तर, हालै भारत सरकारले नीतिमा परिवर्तन गरेको थियो । यसमा ४० हजार डलरभन्दा बढी मूल्यका विलासी विद्युतीय कारहरूमा भन्सार शुल्क ११० प्रतिशतबाट घटाएर ७० प्रतिशतमा झारेको छ । सरकारको यो नयाँ नीतिले विदेशी कम्पनीहरूका लागि भारतीय बजारलाई अरु आकर्षक बनाएको ठानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप