शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी क्रिकेटमा आज

बलियो भारतविरुद्ध अर्को अप्रत्याशित नतिजा निकाल्ने दाउमा बङ्गलादेश

बिहीबार, ०८ फागुन २०८१, १२ : ००
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । ‘मिनी विश्वकप’ का रूपमा परिचित आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा बिहीबार भारतले बंगलादेशको सामना गर्दैछ । जारी प्रतियोगितामा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले हराएको थियो ।  

भारत र बंगलादेशबिचको खेल संयुक्त अरब इमिरेट्सको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिने छ । सुरक्षाको कारण देखाउँदै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान भ्रमणमा नपठाउने निर्णय लिएपछि भारतले च्याम्पियन्स ट्रफीको खेल दुबईमा खेल्न लागेको हो । 

खेल नेपाली समय अनुसार, दिउँसो १४ः ४५ बजे सुरु हुनेछ । भारत र बङ्गलादेश प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । भारत र बङ्गलादेश दुवैले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई हराएको न्युजिल्यान्ड भने दुई अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । 

आईसीसीद्वारा घोषित पछिल्लो एक दिवसीय वरीयतामा भारत पहिलो स्थानमा छ । बङ्गलादेश भने उक्त वरीयताको नवौँ स्थानमा छ । भारत र बंगलादेशबिच हालसम्म एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ४१ खेल खेलिएको छ ।

त्यसमा बङ्गलादेशभन्दा भारत निकै बलियो देखिन्छ । भारतले ३२ खेलमा बंगलादेशलाई हराएको छ । बंगलादेशले भने आठ वटा एक दिवसीय खेलमा भारतलाई पराजयको स्वाद चखाएको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

भारतले घरेलु मैदानमा खेलिएको चार खेलमा बंगलादेशलाई हराएको छ । बंगलादेशले भने घरेलु मैदानमा खेलिएको ६ वटा एक दिवसीय खेलमा भारतलाई पराजित गरेको छ । बंगलादेशको घरेलु मैदानमा भारतले १८ खेल जितेको छ । 

तर, भारतको घरेलु मैदानमा भने बंगलादेशले एउटा पनि एक दिवसीय खेल जित्न सकेको छैन । यसका अतिरिक्त, ‘न्यूट्रल भेन्यू’ मा खेलिएको १० खेलमा भारतले बंगलादेशलाई हराएको छ । बंगलादेशले भने ‘न्यूट्रल भेन्यू’ मा खेलिएको दुई खेलमा मात्र भारतलाई हराउन सकेको छ ।

यी दुई राष्ट्रबिच खेलिएको पछिल्लो पाँच एक दिवसीय अन्तर्राष्ट्रियमा भने बंगलादेशले तीन र भारतले दुई खेल जितेका छन् । सन् २०२३ को अक्टोबर १९ तारिखमा खेलिएको पछिल्लो खेलमा भारतले बंगलादेशलाई सात विकेटले हराएको थियो । 

त्यसअघि, सेप्टेम्बर १५ तारिखमा खेलिएको खेलमा (सन् २०२३ को एसिया कप) बंगलादेशसँग भारत ६ रनले पराजित भएको थियो । त्यसैले यसपटक दुबई पनि बंगलादेशी टोली बलियो भारतविरुद्ध अर्को अप्रत्याशित नतिजा निकाल्ने दाउमा देखिन्छ । तर, बंगलादेशी टोलीका लागि आफ्नो यो सपना साकार पार्नु फलामको चिउरा चपाउनु बराबर हुनेछ ।

पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको भारतीय टोलीको च्याम्पियन्स ट्रफीमा यो नवौँ उपस्थिति हो । भारतले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । च्याम्पियन्स ट्रफीको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने भारत दोस्रो टोली हो । 

भारतले सन् २००२ मा आयोजित तेस्रो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला आयोजक श्रीलङ्का र भारत फाइनलमा पुगेका थिए । फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि भारत र श्रीलंकालाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो । 

यसैगरी, सन् २०१३ मा भारतले दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । सन् २०१३ मा सातौँ संस्करण इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । त्यतिबेला भारतले फाइनलमा आयोजक इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो । 

यसका अतिरिक्त, सन् २००० मा आयोजित च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण र सन् २०१७ मा आयोजित आठौँ संस्करणमा पनि भारत फाइनलसम्म पुगेको थियो । भारतीय टोली सन् २००० को फाइनलमा न्युजिल्यान्डसँग चार विकेटले र सन् २०१७ को फाइनलमा पाकिस्तानसँग एक सय ८० रनले पराजित भएको थियो । 

यसैगरी, च्याम्पियन्स ट्रफीमा बंगलादेशको यो छैटौँ सहभागिता हो । बंगलादेशले सबैभन्दा पहिले सन् २००० मा च्याम्पियन्स ट्रफी खेलेको थियो । तेस्रो सहभागितासम्म बंगलादेशले च्याम्पियन्स ट्रफीमा एक खेल पनि जित्न सकेको थिएन ।

सन् २००६ मा आयोजित पाँचौँ संस्करणमा बंगलादेशले पहिलो खेल जितेको थियो । उक्त संस्करणमा बंगलादेशले जिम्बाबेलाई एक सय एक रनको फराकिलो अन्तरले हराएको थियो । त्यतिबेला हबिबुल बसार बंगलादेशका कप्तान थिए । 

सन् २००९ मा आयोजित छैटौँ र सन् २०१३ मा आयोजित सातौँ संस्करणमा भने बङ्गलादेश छनोट भएन । त्यसपछि सन् २०१७ मा आयोजित आठौँ संस्करणमार्फत बङ्गलादेश पुनः च्याम्पियन्स ट्रफीमा फर्किएको थियो । 

आठौँ संस्करणमा भने बंगलादेशी टोली समूहगत चरण पार गर्दै सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा बंगलादेशी टोली भारतसँग नौ विकेटले पराजित भएको थियो । च्याम्पियन्स ट्रफीमा बंगलादेशको यो नै सबैभन्दा ठुलो उपलब्धि हो ।

आईसीसी एक दिवसीय विश्वकपको उप–विजेतासमेत रहेको भारतीय टोली पछिल्लो समय लयमा देखिन्छ । अर्कोतिर, अन्तर्राष्ट्रिय क्रिकेटमा आफूभन्दा बलिया टोलीलाई हराउँदै अप्रत्याशित नतिजा निकाल्न खप्पिस बंगलादेशका लागि पनि आफूलाई प्रमाणित गर्ने यो सुनौलो अवसर हुनेछ ।

नजमुल शान्तोको कप्तानीमा रहेको बंगलादेशी टोलीमा दुई अनुभवी खेलाडी शकिब अल हसन र तामिम इक्वालको अभाव भने पक्कै पनि खट्किने छ । सन् २००४ को च्याम्पियन्स ट्रफीपछि पहिलो पटक बंगलादेशी टोली आईसीसीद्वारा आयोजित कुनै पनि ठुलो प्रतियोगितामा शकिब बिना मैदानमा ओर्लन लागेको हो । 

तर, मुशफिकर रहिम, महमुदुल्लाह, मुस्तफिजुर रहमानजस्ता अनुभवी खेलाडीहरू अहिले पनि बंगलादेशी टोलीमा उपस्थित छन् । यी क्षमतावान खेलाडीको अभूतपूर्व प्रदर्शनले कुनै पनि बेला भारतलाई अप्ठ्यारोमा पार्न सक्ने सम्भावना रहन्छ ।

अर्कोतिर, घरेलु मैदानमा इङ्ल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेर उत्साही बनेको भारतीय टोलीका लागि कप्तान रोहित शर्माको अस्थिर प्रदर्शन र अनुभवी ब्याट्सम्यान विराट कोहलीको गुमेको लय चिन्ताको विषय बनेको छ ।

रोहित शर्माले निरन्तरको निराशाजनक प्रदर्शनपछि इङ्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीयमा शतक प्रहार गरेका थिए । एकपछि अर्को खराब प्रदर्शनका कारण आलोचित बन्दै आएका कोहलीले पनि इङ्ल्यान्डविरुद्धको तेस्रो खेलमा अर्धशतक बनाएका थिए ।

पछिल्लो समय युवा ब्याट्सम्यान शुभमन गिल र श्रेयष ऐयरको उत्कृष्ट प्रदर्शन भने भारतका लागि च्याम्पियन्स ट्रफीमा पनि सकारात्मक पक्षका रुपमा देखिएको छ । विकेटकिपर ब्याट्सम्यानको भूमिकामा पनि भारतसँग केएल राहुल र ऋषभ पन्तका रूपमा दुई अनुभवी खेलाडी छन् । 

तर, यसपटक च्याम्पियन्स ट्रफीमा दायाँ हाते तीव्र गतिका बलर जसप्रित बुमराहको अनुपस्थिति भने भारतका लागि दुःखद पक्ष बन्न सक्छ । घाइते भएका कारण बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिरिएका हुन् । 

भारत र बंगलादेशबिच बिहीबारको खेल हुने दुबईको पिचमा हालै फ्रेन्चाइज प्रतियोगिता आईएलटी खेलिएको थियो । त्यसैले त्यहाँको पिच तुलनात्मक रूपमा केही सुस्त हुने अनुमान गरिएको छ । खेल दिउँसो हुने भएकाले मैदानमा शीतको असर पनि देखिने छैन ।

बंगलादेशविरुद्धको खेलका लागि भारतको सम्भावित टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयष ऐयर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, मोहम्मद सामी, अर्शदीप सिंह वा हर्षित राणा, कुलदीप यादव वा वरुण चक्रवर्ती रहने छन् ।

यसैगरी, भारतविरुद्धको खेलमा बंगलादेशको सम्भावित टोलीमा नजमुल होसैन शान्तो (कप्तान), सौम्य सरकार, तान्जिद हसन, मेहदी हसन मिराज, तौहिद हृदोय, मुशफिकर रहिम, महमुदुल्लाह, जाकेर अली (विकेटकिपर), रिशाद हुसैन, नाहिद राणा वा तस्किन अहमद र मुस्तफिजुर रहमान रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप