शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पको अभिव्यक्तिमा के भन्छन् युरोपेली देश ?

बिहीबार, ०८ फागुन २०८१, ११ : ११
बिहीबार, ०८ फागुन २०८१

ब्रसेल्स ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तानाशाह भनेपछि युरोपेली देशका नेताहरूले यसमा प्रतिक्रिया जनाएका छन् ।

  जेलेन्स्कीको कार्यकाल गएको वर्ष नै  सकिएको थियो । तर युक्रेनमा जारी युद्धका कारण राष्ट्रपतिको चुनाव हुन नसकेपछि जेलेन्स्की राष्ट्रपति रहिरहेका छन् । यस्तोमा ट्रम्पले जेलेन्स्कीको हैसियतमाथि प्रश्न उठाउँदै तानाशाह भनेका हुन् । 

यसै सन्दर्भमा जर्मन चान्सलर ओलाफ स्कोल्जले यो पूर्णतया गलत र राष्ट्रपति जेलेन्स्कीको लोकतान्त्रिक वैधताको लागि खतरनाक भएको बताए । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि जेलेन्स्कीसँग फोनमा कुरा गरेर आफू उनको साथमा रहेको बताएका थिए । ट्रम्पले भोलोडिमिर जेलेन्स्कीलाई तानाशाह भनेकोमा स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले निन्दा  गरे । 

गलत जानकारी दिएको बयानलाई लक्षित गर्दै जेलेन्स्कीलाई ट्रम्पले तानाशाह भनेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बताएको छ । ट्रम्पले पहिले जेलेन्स्कीको लोकप्रियता चार प्रतिशतमा खुम्चिएको दाबी पनि गरेका थिए । तर, ५७ प्रतिशत युक्रेनीहरूले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने बीबीसी भेरिफाइको रिपोर्टले देखाएको थियो । 

युक्रेनको बारेमा रुसले निकै गलत सूचनाहरू फैलाइरहेको आरोप जेलेन्स्कीले लगाएका थिए । ‘राष्ट्रपति ट्रम्पको म पूरै सम्मान गर्छु, तर भन्न चाहन्छु कि उनी गलत सूचनाको दुनियाँमा छन् ।’ उनले भनेका थिए । राष्ट्रपतिको रूपमा जेलेन्स्कीको कार्यकाल २०२४ को मेमै समाप्त हुनेवाला थियो, तर २०२२ को फेब्रुअरीको उत्तरार्द्धमा रूसले आक्रमण गरेदेखि युक्रेनमा मार्सल ल लागू छ र यसका कारण चुनाव हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?