‘दुनियाँ बदल्न सक्दिन होला तर आफ्नो वडा बदल्न सक्छु’
_pSzOIqlaNi.jpg)
देशमा संघीयता लागू भई गाउँ–गाउँमा सिंहदरबारको अभ्यास हुन थालेसँगै राजनीतिको रंगमञ्चमा धेरैले आफ्ना राजनीतिक पाइला चाल्ने अभ्यास गरिरहेकै छन् । महिला, दलित, मधेसी, जनजाति तथा आदिवासी मात्रै होइन, विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरूलाई पनि राजनीतिमा रुचि जाग्न थालेको छ । र, जनताले उनीहरूलाई मत दिएर आफ्नो पालिका, वडामा शासन गर्ने अधिकार दिएका छन् ।
जनताको मत पाएर, जनताकै पक्षमा काम गर्न प्रयासरत त्यस्ता कयौँ स्थानीय जनप्रतिनिधिमध्ये एक हुन् सानुराजा घिमिरे अर्थात् राज घिमिरे । घिमिरे हाल गोदावरी नगरपालिकाको वडा नम्बर– ३ का वडा अध्यक्ष हुन् । २०५७ सालमा ‘सारा खुसी’ बोलको गीतबाट अभिनयमा पाइला टेकेका उनी विभिन्न आरोह अवरोह पार गर्दै नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय स्तरमा संघीयताको अभ्यास र अनुभव तथा जननिर्वाचित प्रतिनिधिहरूको संघर्षको कथा भन्ने यो शृङ्खलामा रातोपाटीले यसपटक कुराकानी गरेको छ उनै घिमिरेसँग ।
- सिनेमाको पर्दाबाट आममानिसको घर–घरसम्म पुगी रहेको एउटा मान्छे अचानक राजनीतिमा कसरी आइपुग्यो ?
यो रोचक छ । म पहिले पर्दाकै माध्यमबाट जनताको घर–घरमा पुगी रहेको थिएँ । पहिले प्रस्तोता भएर टेलिभिजन प्रोग्राम चलाएँ । त्यसपछि मोडलिङमा प्रवेश गरेँ । त्यसपछि बल्ल मैले सिनेमाको दुनियाँमा पाइला चालेको हो । चपली हाइट मेरो पहिलो सिनेमा हो । मेरो जीवनको कथा म सिनेमामा प्रवेश गरेपछि वा राजनीतिमा प्रवेश गरेपछि हुँदैन । मेरो जीवनको कथा गरिबी, अभाव, तिरस्कार, अपमान र संघर्षबाट सुरु हुन्छ ।
गरिबमाथि हुने शोषण, दमन, तिरस्कार र हेयको भावले ममा सम्मानका लागि लड्नु पर्छ भन्ने सिकायो । पहिले मलाई लाग्यो यो गाउँमा, यो देशमा र यो पृथ्वीमा सबै भन्दा धेरै गरिबी र अभाव बेहोर्ने म मात्रै हुँ । तर, उमेरका सिँढी चढ्दै गएपछि बल्ल थाहा पाएँ, यस्तो दुःख पाउने म मात्रै होइन रहेछु । तिनताका देशमा माओवादी आन्दोलनको रापताप ज्यादै बलियो गरी स्थापित हुँदै थियो । हामीले काठमाडौँमा सुन्ने समाचारबाट माओवादीको विचारधारा बुझ्न सक्ने कुरै भएन । तर, मैले एउटा नयाँ नाम थाहा पाई सकेको थिएँ । त्यसको नाम थियो– माओवादी ।
जीवनका थप केही वर्षहरू त्यसको अर्थ बुझ्नमै बित्यो । त्यसपछि म निष्कर्षमा पुगेँ, यो देशमा हाम्रा लागि अर्थात् गरिबका लागि बोल्ने पार्टी माओवादी नै हो । त्यसपछि म माओवादी विचारतर्फ लहसिन थालेँ । तर, त्यतिञ्जेलसम्म मेरो मस्तिष्कबाट सिनेमाको रङ उत्री सकेको थिएन । समयले मलाई फेरी सिकायो– सबै नीतिहरूको नीति राजनीति हो भन्ने । त्यसपछि म राजनीतिमा प्रवेश गरेँ ।
- अनि सिनेमामा प्रवेश कसरी भएको थियो ?
हामी निकै सीमान्त परिवारका मान्छे हौँ । समाजमा हाम्रो कुनै हैसियत थिएन । समाजमा तपाईंको हैसियत बन्न कि त तपाईंले पारिवारिक विरासत बोक्नु पर्ने रहेछ कि त मनग्य पैसा हुनु पर्ने रहेछ । हाम्रो वर्गका कुनै पनि मानिसले दुवै गर्न नसक्ने भनेपछि हाम्रो कुरा पनि कसले नसुन्ने रहेछ । गाउँमा त्यतिबेला निकै थोरै टेलिभिजन हुन्थे । एक दिन म एउटा साथीसँग टिभी हेर्न अर्काको घर गएको बेला के देखेँ भने टेलिभिजनमा आई रहेको संवाद हेरेर त्यहाँ बसेका सबैले गम्भीरतासाथ सुनी रहेका छन् । त्यति मात्रै होइन उनीहरू हाँसी रहेका छन् र घरी–घरी रोई पनि रहेका छन् ।
त्यसपछि मलाई लाग्यो टेलिभिजन भित्र छिर्न पाएँ भने त मेरो कुरा पनि मान्छेले यसैगरी सुन्छन् । अनि म सिनेमाको दुनियाँमा छिरेँ । टेलिभिजनमा छिर्न मलाई ९ वर्ष लाग्यो । यी ९ वर्षमा मैले आफ्नो पहिचान बनाई सकेको थिएँ । तर, मेरो मनमा अर्कै कुराले घर गरिरहेको थियो । जस्तै, टेलिभिजनमा त सुटेड, बुटेड रूपमा प्रस्तुत भई रहेको थिएँ तर वास्तविकता त्यो भन्दा भिन्न थियो । सुटिङ गर्नका लागि लगाएको अर्कैको लुगा हिँड्नु पर्दा फुकालेर हिँड्नु पर्थ्यो । टेलिभिजनमा ठुलै मान्छेको अभिनय गरिएको छ तर आफूसँग ट्याम्पोमा हिँड्ने र खाजा खाने पैसा पनि छैन । त्यसपछि लाग्यो होइन आफ्नो आर्थिक हैसियत उकास्न त व्यवसाय नै गर्नुपर्छ ।
त्यसपछि गोलभेँडा खेती गरेँ । कापी–कलमको डिलर चलाएँ । त्यति गर्दा पनि त्यसले मलाई उकास्न सकेन । त्यसपछि अरू धेरै काम गरेँ । एकपछि अर्को असफलताको बिचबाट धुलो टकटकाउँदै अघि बढ्न छोडिन । यो सारा प्रक्रियामा मलाई के लाग्न थाल्यो भने मैले मेरै गाउँमा रहेको सम्भावनालाई विस्तार गरेँ भने म राम्रो व्यवसायी हुन सक्छु । गोदावरीमा शनिबार मात्रै बोटानिकल गार्डेन घुम्न आठ हजार आन्तरिक पर्यटक आउँछन् । अन्य ठाउँमा गरी १०–१२ हजार मान्छे घुम्न आउँछन् भने उनीहरूलाई नै लक्षित गरेर केही गर्नपर्छ भन्ने सोच साथ म पर्यटन व्यवसायमा लागेँ ।
विगतमा आफूले चालेका पाइला फर्केर हेर्दा लाग्छ– म त हिजो सबै भन्दा तल्लो कामदेखि सिनेमाको हिरोसम्मको काम गरेर आई सकेँ । आजका दिन जनताको काम गर्नका लागि निर्वाचित पनि भएँ, अब के त ? त्यसैले आजका दिन मेरो लोभ, पद, प्रतिष्ठा र पैसामा भन्दा पनि म मरेर गएपछि मानिसले मलाई के गरी सम्झेलान भन्नेमा छ । आखिर मर्नु त छँदैछ ।
- तपाईंले माथि आफ्ना बारे कुरा गर्दैगर्दा गरिबी, अभाव र अपमानले गर्दा राजनीतिमा आएँ भन्नु भयो, तपाईंको बाल्यकाल कस्तो थियो ?
मेरो पुरानो घर बनेपा हो । ललितपुरमा हाम्रो मामा घर हो । बुबालाई मद्यपानको लत थियो । ज्यादै नराम्रो लत । हाम्रो घरको मियोलाई रक्सीको धमिराले खाई सकेको थियो । घरको मियोले जीवनको न्यूनतम आवश्यकता पनि पुरा गर्न नसकेपछि हामी मामा घर आयौँ । मामाघरमा हजुरआमाले मजदुरी गरेको पैसाले चार जना नातिनातिना, आफू, हजुरबुबा र छोरीसहित ६ जनाको परिवार धान्ने जिम्मा थियो । घरमा खान लाउन अभाव भएर माइतीको शरण परेको परिवार त्यहाँ पनि टिक्न सक्ने अवस्था थिएन ।
गरिबी र अभाव त थियो नै बुबाको मद्यपानले गर्दा हामीलाई जँड्याहाको सन्तान भन्थे सबैले । हजुरआमा रगत छादेर मर्नु भयो । हामीले आर्थिक अभावमा उहाँको उपचार गर्न सकेनौँ । देशको राजधानीमा बस्छौँ । आफ्नै घरको आँगनसँग अस्पतालको आँगन जोडिएको छ र पनि आर्थिक अभावमा उपचार गर्न नपाइने रहेछ । कक्षा १२ मा छँदा १८ सय शुल्क तिर्न नसकेर दिनको १५० रुपियाँमा खेत खनेको र दाउरा चिरेको अझै याद छ मलाई । पछि १२ कक्षा टप गरेँ । तर, पारिवारिक जिम्मेवारीले त्यसअघिको पढाई गर्न सकिन ।
अवस्था कतिसम्म नाजुक थियो भने सानोमा सुख के हो भन्ने थाहा पाइएन । आफ्नै जीवनमा भोगेको दुःखले मानिसमा चेतनाको विकास गराउँदो रहेछ । त्यसले आफू जस्तै समान हैसियतमा रहेको समाजका सीमान्तकृत वर्गका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ । त्यसैले मैले बुढाबुढी, गरिब, सीमान्त र विद्यार्थीहरूका लागि सकेको वडाबाट नसकेको व्यक्तिगत रूपमा औषधी, उपचार र छात्रवृत्तिको व्यवस्था गर्ने गरेको छु । किनभने मलाई त्यसको मूल्य थाहा छ । सानो छँदा अरूले फालेको कलम टिपेर पढेको र अरूले लगाएर छोडेको जड्यौरी लुगा लगाएर हुर्किएका हामीलाई अरूले गरेको सानो सहयोगले पनि के अर्थ राख्छ भन्ने थाहा छ ।
- तपाईंको वडामा त अन्य हाई प्रोफाइल नेताहरू पनि छन्, माओवादीको जनाधार राम्रो भएर जित्नु भयो वा कसरी जित्नु भयो ? तपाईँप्रतिको जनताको विश्वासलाई कसरी कायम राख्ने सोच्नु भएको छ ?
हो, तपाईंले ठिक भन्नु भयो । मेरो वडामा नेकपा (एमाले) का बागमती प्रदेश सचिव तथा पूर्व संघीय सांसद नवराज सिलवाल, गोदावरी नगरपालिकाको उपाध्यक्षका पाँच प्रत्याशी पनि त्यही वडाका र जित्ने पनि मेरै वडाका हुनुहुन्छ । माओवादीको जनाधारको कुरा गर्नु हुन्छ भने धेरै कमजोर हौँ हामी । मैले जित्नुको मुख्य कारण चाहिँ मैले विगतमा गरेको जनताको सेवाको परिणाम हो । चाहे त्यो भूकम्पको बेलामा होस वा कोभिडको वा पछिल्लो प्राकृतिक प्रकोपको बेलामा ।
तपाईंले मनैदेखि जनताको काममा साथ दिनु हुन्छ भने जनताले पनि तपाईंलाई साथ दिन्छन् । यसका साथै तपाईंलाई मत दिने जनताको धरातल र तपाईंको धरातल पनि मिल्छ भने उनीहरूले तपाईंलाई साथ दिन्छन् । म त दुःखको पाहाड चढेर आएको मान्छे, सीमान्त भन्दा सीमान्त परिवारमा गएर खान–बस्न मलाई समस्या हुने भएन । किनभने म पनि त त्यही वर्गबाट आएको हुँ । म त्यहाँ जाँदा उनीहरूले मलाई शासकका रूपमा होइन परिवारका सदस्यका रूपमा हेर्छन् ।
यही नै तपाईंको सबै भन्दा ठुलो कारण हो । आजका दिन पनि म एक सय २५ जना बूढाबूढीलाई औषधी खुवाउने गर्छु । कारण किन भने उनीहरूमा म आफ्नी हजुरआमा देख्ने गर्छु । सुत्केरीलाई सुत्केरी मसला खुवाउने गर्छु विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्छु यही त मेरो काम हो । र यो मेरो कर्तव्य हो । म राजनीतिमा आएकै सीमान्त र गरिबहरूको पक्षमा काम गर्नका लागि हो । त्यसैले मेरो वडाको २० करोड बजेटमा ५० हजार पनि फ्रिज हुन पाउँदैन । त्यसैले म के कुरामा पूर्ण विश्वस्त छु भने मैले दुनियाँ बदल्न सक्दिन होला तर म मेरो वडा बदल्न सक्छु । त्यसका लागि म अविचलित भई लागि रहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल निवासबाट राजालाई नारायणहिटी पुर्याउन तयार छौँ : अध्यक्ष लिङ्देन
-
अब राजसंस्थाका बारेमा सेनाले निर्णय लिनुपर्ने बेला आयो : रवीन्द्र मिश्र
-
बाम एकता आवश्यक तर व्यवहारिक रूपमा अहिले असम्भव
-
खेल क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री लामा
-
किन लाग्छ बाडुल्की ?
-
शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो