शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य कात्तिक १५ को रेकर्डसँग बराबरी

बिहीबार, ०८ फागुन २०८१, १० : ४१
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो । 

यद्यपि त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत रहेको थियो । तर, भन्सार दर १० प्रतिशत कायम भएपछि पनि सुनको मूल्य पुरानो मूल्यको रेकर्डसँग बराबरी भएको हो । 

मन्त्रिपरिषद्को गत मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो । 

अघिल्लो आर्थिक वर्ष १० प्रतिशत नै रहेको सुनको भन्सार दर तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर कार्यान्वयनमा गएको थियो । त्यसपछि केही समय सुनको मूल्य १ लाख ५० हजार रुपैयाँको हाराहारीमा रहेपनि अहिले फेरि मूल्य निरन्तर बढिरहेको हो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम रहेकाले स्थानीय बजारमा पनि फेरि मूल्यले नयाँ रेकर्ड बनाउने देखिएको जानकारहरू बताउँछन् । 

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । बिहीबार थप ५ सय बढेर तोलामा १ लाख ७१ हजार पुगेको हो। 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?