आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

'भावी प्रधानमन्त्री'को भारत भ्रमण : बहाना महाकुम्भको, मेसो सम्बन्ध सुधार्ने

बिहीबार, ०८ फागुन २०८१, ११ : ३०
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । नेपाल–भारत सम्बन्ध बिग्रिरहेका बेला सत्ताधारी गठबन्धनका मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । 

यता प्रधानमन्त्री केपी शर्मा ओलीले चाहना राखे पनि भारत भ्रमण गर्न पाएका छैनन् । ओली प्रधानमन्त्री बनेको ६ महिना बढी भइसक्यो तर, भारतले हालसम्म भ्रमणको निम्तो दिएको छैन । 

यस्तोमा महाकुम्भ स्नानको बहानामा ‘वेटिङ प्राइममिनिस्टर’का रूपमा रहेका सभापति देउवाको भारत भ्रमण चर्चाको विषय बनेको हो । 

उत्तर प्रदेशको प्रयागराजमा सुरु हुने ‘कुम्भ ग्लोबल समिट’ मा वक्ताका रूपमा उनी त्यसतर्फ जान लागेका हुन् । दिल्ली हुँदै प्रयागराज पुग्ने सभापति देउवाको यो भ्रमणलाई बिग्रेको सम्बन्ध सुधारको प्रयासको रूपमा लिइएको छ । 

भारतीय जनता पार्टी (भाजपा) निकट रहेर थिंक ट्यांकको रूपमा काम गर्दै आएको इन्डिया फाउन्डेसन र भाजपा नेतृत्वको उत्तर प्रदेश सरकारले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा देउवालाई वक्ताका रूपमा  निम्त्याउनुलाई सम्बन्ध सुधारको प्रयास भनेर अर्थ्याइएको छ । 

उक्त कार्यक्रमका लागि नेपाली कांग्रेसका नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई निम्तो थियो । तर, उनी आफू त्यहाँ नगएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई पठाउन लागिएको हो । परराष्ट्रमन्त्री आरजु हाल ओमानमा छिन् । 

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भारतले सहज रूपमा लिएको छैन । कांग्रेसकै अगुवाइमा चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौता भएपछि भारत थप झस्किएको छ । 

गत असारमा ओली प्रधानमन्त्री भएपछि भ्रमणको वातावरण बनाउन परराष्ट्रमन्त्री राणा भदौमा भारत भ्रमणमा गएकी थिइन् । त्यहाँ उनलाई राजकीय सम्मान प्राप्त भयो । परराष्ट्रमन्त्री आरजुसँग भारतका प्रधानमन्त्री आरजुदेखि विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्च पदस्थका व्यक्तिहरूको पनि राणासँग भेटघाट भएको थियो । 

तर, चीनमा बीआरआई सम्झौता गरेर भारत पुगेकी परराष्ट्रमन्त्री राणालाई पहिलाझैँ भारतले सम्मान दिएन । निकै ‘चिसो’ आतिथ्य पाएयता भारत–नेपालबिच सम्बन्ध खासै राम्रो देखिएको छैन । 

बिग्रेको सम्बन्ध सुधार्ने प्रयासस्वरूप परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच फागुन ४ गते ओमनमा भेटवार्ता भएको थियो । त्यो भेटवार्तालाई पनि सम्बन्ध सुधारको कडीका रूपमा लिइएको छ । 

अहिले पूर्वप्रधानमन्त्री देउवा स्वयं भारत जान लागेका छन् । कार्यक्रममा सबै वक्ता मन्त्री वा मन्त्रीसरह छन् । सभापति देउवा मात्र पूर्वप्रधानमन्त्रीको हैसियतमा सहभागी हुनेछन् । यसले पनि उनी कार्यक्रमको बहानामा भारतमा उच्चस्तरको भेटघाटका लागि जान लागेको पुष्टि हुने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । 

पूर्वराजदूत एवं विदेश मामिलाका जानकार विजयकान्त कर्णले सभापति देउवाको यो निजी भ्रमणले दुई देशबिच सम्बन्धमा पक्कै पनि सुधार आउने बताए । उनले भने, ‘यो भ्रमणलाई अन्यथा लिनुहुँदैन, यो एउटा धार्मिक र निजी भ्रमण हो, उत्तर प्रदेश सरकारको आयोजना भइरहेको यो कार्यक्रममा नेपालबाट मात्र होइन, विभिन्न देशका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् ।’

यो भ्रमणले नेपाल–भारतबिच चिसिएको सम्बन्धमा थोरै भए पनि सुधार ल्याउने विश्वास गर्ने ठाउँ रहेको उनले बताए । यद्यपि सभापति देउवा सम्बन्ध सुधारकै लागि भारत जान लागेको भन्नु गलत हुने उनको भनाइ थियो । 

‘गएपछि विभिन्न भेटघाट हुन्छन्, कुराकानी हुन्छन्, त्यसले पनि सम्बन्धमा फरक पर्छ’, उनले भने, ‘यसलाई दुवै देशको हितमा लिनुपर्छ ।’ 

सत्ता सहकार्य गरिरहेका दुई दलबिचको सहमतिअनुसार देउवा २०८३ असारमा प्रधानमन्त्री बन्दैछन् । कुनै राजनीतिक दुर्घटना भएन भने कांग्रेस–एमालेबिच भएको सात बुँदे सम्झौताअनुसार देउवा प्रधानमन्त्री बन्ने निश्चित छ । 

प्रधानमन्त्री देउवा प्रधानमन्त्री बन्नुअघि भारतसँग सम्बन्ध सुधार गर्न चाहन्छन् । यसका लागि उनले विभिन्न प्रयासहरू गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप