पहिलो खेलमै घरेलु समर्थकलाई निराश बनाएपछि पाकिस्तानको सेमिफाइनलयात्रा संकटमा
![पहिलो खेलमै घरेलु समर्थकलाई निराश बनाएपछि पाकिस्तानको सेमिफाइनलयात्रा संकटमा](https://npcdn.ratopati.com/media/news/new-zerland_c7xiOPYeVg.png)
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो खेलमै पराजित भएपछि आयोजक पाकिस्तान दबाबमा परेको छ । प्रतियोगिताको बुधबार राति सम्पन्न उद्घाटन खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई उसैको घरेलु मैदानमा ६० रनले हराएको हो ।
उक्त नतिजापछि साविक विजेता पाकिस्तानको समेमिफाइनल यात्रा पनि संकटमा परेको छ । समूह ‘ए’ मा न्युजिल्यान्ड दुई अंकसहित पहिलो स्थानमा छ । भारत र बंगलादेश पनि यही समूहमा छन् । साविक उपविजेता भारत र बंगलादेशले आफ्नो पहिलो खेल खेल्न बाँकी छ ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान छ । त्यसैले पहिलो खेलमै पराजित भएपछि पाकिस्तान अप्ठ्यारोमा परेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय २० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ४७.२ ओभरमै आउट हुनुअघि दुई सय ६० रनमात्र बनाउन सक्यो ।
कराँचीमा खेलिएको उक्त खेलमा न्युजिल्यान्डका लागि दुई ब्याट्सम्यानले शतकीय पाली खेले । ओपनर विल योङले एक सय सात रन बनाए । उनले एक सय १३ बलको सामना गरी एक छक्का र १२ वटा चौका पनि हिर्काए ।
३२ वर्षीय विल योङले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो शतक हो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान टम लाथमले पनि टोलीका लागि अविजित एक सय १८ रनको योगदान गरे ।
यस क्रममा लाथमले एक सय चार बलको सामना गरी तीन छक्का र १० चौका हिर्काए । ३२ वर्षीय विकेटकिपर ब्याट्सम्यान लाथमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रकेटमा बनाएको यो आठौँ शतक हो । ग्लेन फिलिप्सले पनि टोलीको खातामा ६१ रन थपे ।
आक्रामक रुमा प्रस्तुत भएका फिलिप्सले केवल ३९ बलको सामना गरी चार छक्का र तीन चौका प्रहार गरे । २८ वर्षीय यी प्रभावशाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पाँचौँ अर्धशतक पनि हो ।
घरेलु मैदानमै पाकिस्तानी टोलीका बलरहरु निरीह देखिए । पाकिस्तानी बलर नसिम शाह र ह्यारिस रउफले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानका लागि ओपनर बाबर आजम र खुसदिल शाहले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
पूर्वकप्तान समेत रहेका बाबर आजमले ६४ रन बनाए । उनले ९० बलमा एक छक्का र ६ वटा चौका प्रहार गरे । ३० वर्षीय बाबरले एकदिवसीय क्रिकेटमा बनाएको यो ३५औँ अर्धशतक हो । खुसदिल शाहले ६९ रन बनाए । उनले ४९ बलमा एक छक्का र १० चौका प्रहार गरे ।
३० वर्षीय खुसदिलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक हो । सलमान अघाले पनि टोलीको खातामा ४२ रन थपे । किविज टोलीका बलर विल ओ’रुर्क र मिचेल सान्टनरले तीन–तीन विकेट लिए । म्याट हेनरीले पनि दुई विकेट हात पारे । टम लाथम प्लेयर अफ दि म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री लामा
-
किन लाग्छ बाडुल्की ?
-
शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो
-
आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
-
चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
-
गोरु तस्करी प्रकरणमा भइरहेका छानबिनमाथि प्रदेश प्रहरी कार्यालयले निगरानी गर्दै