‘राजाको अभिव्यक्ति निजी विचारमात्र नभएर देशको आवाज हो’

काठमाडौँ । ७५ औँ प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सकारात्मक रूपमा लिँदै उत्साह व्यक्त गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा शाहको अभिव्यक्ति उनको निजी विचारमात्र नभएर देशकै आवाज भएको दाबी गर्छन् ।
पूर्वराजा शाहको अभिव्यक्तिका विषयमा केन्द्रित रहेर रातोपाटीले राप्रपाका अध्यक्ष लिङ्देनसँग कुराकानी गरेको छ । प्रस्तुत छ, अध्यक्ष लिङ्देनसँग गरिएको कुराकानीको सम्पादित अंश–
- ७५ औँ प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशलाई कसरी लिनुभएको छ ?
राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएका सन्देशलाई अत्यन्त राम्रो रूपमा लिएका छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भन्दै पनि आएको छ कि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको डेढ दशकभन्दा बढीको अभ्यासले अब मुलुक यही अवस्थामा चल्न सक्दैन । त्यसैले अब नयाँ समझदारी आवश्यक छ । त्यसका लागि सबै राजनीतिक दल र शक्तिहरूका बिचमा नयाँ समझदारी हुन जरुरी छ । त्यो नयाँ समझदारी भनेको राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्ने भनिएको हो ।
त्यसकारण पनि राप्रपाले राजाको पछिल्लो सन्देशको स्वागत गरेको छ । अरू राजनीतिक दलहरूलाई पनि कुनै आग्रहविना नयाँ समझदारीका लागि तयार हुन आह्वान गर्दछु ।
- पूर्वराजाले यो सन्देश तयार गर्नुअघि तपाईंहरूसँग कुनै छलफल पनि गर्नुभएको थियो ?
त्यस प्रकारको कुनै छलफल र कुराकानी त भएको थिएन र त्यो जरुरी पनि छैन । तर राजाबाट आएको सन्देश अत्यन्त सकारात्मक छ । अहिले मुलुक संकटपूर्ण अवस्थामा गइरहेको छ र जे अव्यवस्था बेहोर्नु परिरहेको छ, त्यसको एकमात्र निकास भनेकै नयाँ समझदारी हो ।
- पूर्वराजाको पछिल्लो अभिव्यक्तिपछि राप्रपा कसरी अघि बढ्छ ?
राप्रपाले यसअघि पनि राजसंस्था पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त देश भन्दै विभिन्न कार्यक्रम गर्दै आएको हो । अहिले पनि हामीले सबै प्रदेशमा जनसभा गर्दै गएका छौँ । पर्सीमात्र भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा भण्डाफोर सभा गर्दैछौँ । अब त्यो कार्यक्रम गर्न थप उत्साह जागेको छ ।
- अहिलेकै अवस्थामा पूर्वराजा र राजनीतिक दलहरू एक ठाउँमा आउनसक्ने सम्भावना देखिँदैन तर तपाईंहरू सबै शक्ति एक ठाउँमा आउने कुरामा जोड गर्नुहुन्छ । कुनै त्यस्तो विन्दु फेला परेको छ र सबै एक ठाउँमा आउने ?
हामी सबैभन्दा माथि देश छ । देशभन्दा माथि अर्को केही छैन । अहिले देश संकटमा छ । हिजो गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा उभिनेहरूले राम्रै हुन्छ भनेरै त्यताको पक्षमा उभिए होलान् तर विगत १६ वर्षको समयले मुलुकका लागि त्यो अनुपयुक्तमात्र होइन कि त्यसले त देश बर्बाद गर्ने रहेछ भन्ने प्रमाणित गरेपछि अब त्यो गल्ती सच्याउने अवसरको रूपमा प्रयोग गर्ने प्रयास हुनुपर्छ ।
राजसंस्थालाई स्पेस दिँदा अरू कुनै दल निषेधित गर्ने होइन, सबै अटाउने र सबै मिलेर जाने, देशलाई शान्त, स्थिर र समृद्ध बनाउने नयाँ सम्झौताको खोजी गर्नुपर्छ । त्यसका लागि दलहरू तयार हुनुपर्ने आवश्यकता पनि हो । देशलाई माया गर्ने र स्थायित्व चाहने सबैले राजाको यो आह्वानलाई स्वीकार्छन् भन्ने पनि लाग्छ ।
राजालाई साथ दिनेहरू सबै समयक्रमसँगै एक ठाउँमा आइहाल्छन् । अलगअलग रहेर पनि अभियानलाई साथ दिन सकिन्छ, एकै ठाउँ रहेर पनि साथ दिन सकिन्छ ।
- पूर्वराजा र दलहरूको साझा मिलनबिन्दु के हुनसक्छ त ?
मिलनबिन्दु भनेकै अहिलेको राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकीय संस्थाका रूपमा स्थापित गर्ने । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले कार्यकारीका रूपमा काम गर्ने, पूर्ण समानुपातिक संसद् र सांसदले मन्त्री हुन नपाउने गरी गयो भने सबै दल र शक्तिबिचमा एकता कायम गर्न सकिन्छ । मिलनबिन्दु पनि त्यही नै हुन सक्छ ।
- गणतन्त्र घोषणा गर्ने बेलामा पूर्वराजा र दलहरूबिच केही सम्झौता भएको भन्ने पनि सुनिन्छ । के त्यसबेला कुनै सम्झौता भएको थियो भन्ने तपाईंलाई विश्वास छ ?
अहिले त्यसतर्फ म जान चाहन्नँ तर त्यसबेला राजसंस्थाको अन्त्य गर्ने परिकल्पना गरिएको थिएन । यो सार्वजनिक भएको र त्यसबेला दलहरूले पनि भनेको कुरा हो तर षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई बोकाइयो । त्यसकारण राजसंस्था हटेर देशलाई के फाइदा भयो र के राम्रो भयो भनेर केलाउँदा देशले धेरै नोक्सान बेहोर्नुपरेको अवस्थामा राजालाई कुनै न कुनै स्पेस दिएर अघि बढ्दा सबैको हित र कल्याण हुन्छ ।
- पूर्वराजाको अभिव्यक्तिले राजसंस्था पक्षधर उत्साहित भए पनि उनीहरूबिच नै बेमेल रहेको जगजाहेर छ । यस्तो अवस्थामा तपाईंहरूले भनेको अवस्थामा पुग्न सम्भव छ र ?
राजालाई साथ दिनेहरू सबै समयक्रमसँगै एक ठाउँमा आइहाल्छन् । अलगअलग रहेर पनि अभियानलाई साथ दिन सकिन्छ, एकै ठाउँ रहेर पनि साथ दिन सकिन्छ ।
- तपाईं राजसंस्था पक्षधर पार्टी या शक्ति (राप्रपा)को अध्यक्ष पनि हुनुहुन्छ । सबैलाई एक ठाउँमा ल्याउन तपाईं संयोजनकारी भूमिका पनि खेल्दै हुनुहुन्छ कि ?
यो आह्वानपछि अलि विशेष ढंगले पहिला हामी आफ्नो तयारी गर्छौँ । पोखराको आमसभापछि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्छौँ । आवश्यक परेमा केन्द्रीय समिति बैठक पनि बस्छ । त्यसपछि आफ्नो तयारी र अरूसँग कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल गर्दै अघि बढ्छौँ ।
राजाले हामीलाई वास्ता गर्ने या नगर्ने प्रश्नमा राजा राजनीतिक दलभन्दा माथि हुन्छन् र हाम्रो परिकल्पनाको राजसंस्था चुनावी राजनीतिभन्दा माथि उठ्ने संस्था हो ।
- पूर्वराजाले बेलाबेला यो व्यवस्थाले राम्रो गर्न सकेन भन्ने, अरुबेला मौन बस्ने गरेको देखिनेमात्र होइन, तपाईंहरूजस्ता शक्तिलाई पनि राजाले बेवास्ता गर्ने गरेको भन्ने गुनासो सुनिन्छ नि ?
राजाले सधैँ बोलिराख्ने र भाषण गरिराख्ने होइन, सन्देश दिने हो । पछिल्लो पटक राजाबाट जे सन्देश आएको छ, त्यो उहाँको निजी विचारमात्र होइन, देशको आवाज पनि हो । अब यो व्यवस्थाले काम गर्दैन भन्ने कुरा त आम निष्कर्ष नै हो । सर्भे गर्ने वा जनमत लिने नै हो भने पनि यो व्यवस्थाले काम गर्दैन भन्ने ठुलो जनमत हुन्छ । त्यसकारण राजाबाट आएको मत जनअभिमत भएकाले यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।
अर्को कुरा, राजाले हामीलाई वास्ता गर्ने या नगर्ने प्रश्नमा राजा राजनीतिक दलभन्दा माथि हुन्छन् र हाम्रो परिकल्पनाको राजसंस्था चुनावी राजनीतिभन्दा माथि उठ्ने संस्था हो ।
- अहिले कतिपयले पूर्वराजालाई राजनीति गर्न मन भए पार्टी खोले वा खुला राजनीतिमा आए भइगयो त भन्ने गरेको सुनिन्छ, तपाईंको भनाइमा पूर्वराजा राजनीतिमा आउनु हुँदैन ?
चुनावी राजनीतिमा राजा आउनु हुँदैन । हाम्रो परिकल्पनाको राजसंस्था चुनावी राजनीतिभन्दा माथिको उठेको संस्था हो, जो भोलि स्थापना भयो भने त्यो राप्रपाको मात्र हुँदैन, कांग्रेस, एमाले, माओवादीको र देशको अभिभावकीय संस्था हुनेछ । मुकुट हुँदा या नहुँदा राजा दलीय राजनीतिभन्दा माथि हुनुपर्छ ।
- तपाईंको भाव राप्रपाको नेतृत्वमा राजतन्त्र फर्काउनुपर्छ भन्ने बुझ्दा गलत हुँदैन ?
यसको नेतृत्व कांग्रेस, एमाले, मओवादी जसले गरे पनि हुन्छ तर उनीहरू अहिले गणतन्त्रवादी कित्तामा उभिरहेको र उनीहरूले आफ्नो धारणामा परिवर्तन नल्याएको अवस्थामा राप्रपाले नेतृत्व गरिरहेको छ ।
- तपाईंहरूले चाहेको राजा कस्तो खालको हो ?
अभिभावकको रूपमा । नराम्रो गर्न नदिने अभिभावकको रूपमा हामीले राजसंस्थाको परिकल्पना गरेका हौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
-
कुलमान हटाएको विषयमा जवाफ दिनु आवश्यक छैनः प्रधानमन्त्री ओली
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?
-
योगी आदित्यनाथको जीवनमा आधारित फिल्म पाँच भाषामा रिलिज हुने
-
‘१० वर्षमा देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले युवा रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ’
-
हारको सँघारमा पुगेको एपीएफलाई लोकेश बमले अविश्वासिलो जित दिलाए