पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य ः राजावादी उत्साहित, गणतन्त्रवादी आक्रोशित
_hQaJ1bqL30.jpg)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो वक्तव्यलाई लिएर पक्ष–विपक्षमा प्रतिक्रिया आएका छन् ।
पूर्वराजाको वक्तव्यलाई लिएर राजावादीहरू निकै उत्साहित देखिएका छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि एक ठाउँमा उभिएका तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीले उनको सन्देशलाई लिएर आपत्ति जनाएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसंध्यामा मंगलबार ज्ञानेन्द्रले १० मिनेटको भिडियो सन्देशमार्फत अब नेपालको उन्नतिका लागि आफूले के–के त्याग गर्नुपर्ने हो तयार रहेको बताएका थिए । साथै राष्ट्र जोगाएर राष्ट्रियता कायम राख्न साथ दिन देशवासीको नाममा उनले आह्वान गरेका थिए ।
‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो– राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ’, उनले भनेका छन् ।
पछिल्लो समय परम्परागत राजनीतिक, सरकारप्रति आम नागरिकमा बढ्दै गएको चरम निराशाको चित्रण गर्दै ज्ञानेन्द्रले शाहीकालकै झल्को दिने गरी वक्तव्य निकालेपछि गणतन्त्र पक्षधर नेताहरूले आक्रोश पोखेका हुन् ।
एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको आरोप लगाएका छन् । एमालेको वडाकेन्द्रित अभियानको शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरि पञ्चायती भूत सलबलाउन थालेको बताए । ‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन् । पूर्वराजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ । सामन्तवादी राजसंस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ । अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस्,’ कार्यकर्ताले निर्देशन दिँदै उनले भने ।
विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ज्ञानेन्द्रको वक्तव्यलाई महत्व दिन आवश्यक नभएको प्रतिक्रिया दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने स्पष्ट पारे ।
‘अब संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन । गणतन्त्रको विकल्प गणतन्त्र नै । यो व्यवस्थाको विकल्पमा चर्चा गर्नु उचित छैन । गणतन्त्र स्थापनापछिको २० वर्षमा भएका कमी कमजोरी अद्यावधिमा समीक्षा गर्न सकिन्छ’, रातोपाटीसँग सिटौलाले भने, ‘राजतन्त्र इतिहास भइसक्यो । ज्ञानेन्द्र शाहको वक्तव्यलाई लिएर टिप्पणी गर्नु आवश्यक छैन । उहाँले गद्दी त्याग गर्ने बेलामा पनि सरकारसँग कुनै सम्झौता वा भद्र सहमति भएको छैन । नागरिकको हैसियतमा रहेका व्यक्तिको पछि कोही लाग्न आवश्यक छैन ।’
माओवादीका महासचिव देव गुरुङले साढे दुई सय वर्ष शासन गरेको राजाले अब देश बचाउँछ भन्ने कुनै आधार नभएको प्रतिक्रिया दिए । जनताको मुख बन्द गरेर राष्ट्रियता बलिया नहुनेतर्फ उनले ज्ञानेन्द्रको ध्यानाकर्षण गराए । ‘राजाले साढे दुई सय वर्षसम्म शासन गरेकै हो । जनताले साथ दिएका हुन् । जनताको सामान्यतः अधिकार पनि रक्षा हुन सकेन । जनताका हक अधिकार खोसिए । जनताको मुख बन्द गरेर राष्ट्रियता बलियो हुँदैन । साढे दुई सय वर्षसम्म केही नगर्नेले अहिले बचाउन सक्छु भनेर पत्ताउने कुरा भएन’, गुरुङले भने ।
तर, राजतन्त्र पक्षधर नेताहरूले ज्ञानेन्द्रको वक्तव्यलाई सबै दलहरूले स्वागत गर्नुपर्ने धारणा राखेका छन् । गणतन्त्र स्थापना भएको २० वर्षमा राष्ट्रियता, भौगोलिक अखण्डता, आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अवस्था निकै कमजोर भएको आरोप लगाउँदै उनीहरूले अभिभावका रूपमा राजसंस्था अपरिहार्य भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्रको वक्तव्य सकारात्मक भएको जिकिर गरेका छन् । राजा र माओवादी सबै अट्ने गरी नवीन समझदारी गर्न उनको वक्तव्यलाई गम्भीरतापूर्वक लिन लिङ्देनले आग्रह गरे ।
‘राप्रपाले राजाको वक्तव्यलाई सकारात्मक रूपमा लिएका छौँ । अहिले देशको परिस्थिति ठिक दिशातर्फ गइराखेको छैन । लामो समयदेखि देशले जुन अवस्था व्यहोर्नुपरेको छ, त्यसको अन्त्यका लागि राजादेखि माआवादीसम्म अटाउने नयाँ मौलिक व्यवस्था निर्माण गरेर जानुपर्छ । देशका सबै राजनीतिक शक्तिसँग समझदारी गरेर निकास दिनुपर्छ’, उनले भने, ‘राजाको जुन वक्तव्य आएको छ , यस विषयमा दलहरूले ढिला गर्नु हुँदैन । हामीले यो व्यवस्थालाई जति घिसारेर लैजान खोज्छौँ, त्यति नै देशले क्षति व्यर्होछ । कुनै पनि शक्तिले पाखा महसुस नहुने गरी सबै राजनीतिक दल र राजाबिच नवीन समझदारी गर्न जरुरी छ । राजाको वक्तव्य अति नै महत्त्वपूर्ण छ, यसलाई आग्रह वा पूर्वाग्रहविना राजाको वक्तव्यलाई गम्भीरतापूर्वक लिन म आग्रह गर्छु ।’
राजसंस्था पुनर्स्थापना गर्न आफ्नो पार्टी देशैभरि भण्डाफोर अभियानमा रहेको र ज्ञानेन्द्रको वक्तव्यलाई आत्मसात् गर्दै आन्दोलनलाई थप सशक्त बनाउने उनले जिकिर गरे ।
शाहीकालका गृहमन्त्री रहेका तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि ज्ञानेन्द्रको वक्तव्य सकारात्मक भएको टिप्पणी गरे ।
राजा ज्ञानेन्द्रबाट धेरै अघिदेखि नै देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आउनुभएको थियो । देशको आर्थिक विकास, प्रजातन्त्रको सुदृढीकरणका निमित्त सबै प्रकारको त्याग गर्न तयार छु भनेर आएको स्मरण गर्दै थापाले सोही सिलसिलामा प्रजातन्त्र दिवसको अवसरमा पछिल्लो वक्तव्य आएको स्पष्ट पारे । यसलाई सबै दलले अन्यथा वा नकारात्मक रूपमा लिन जरुरी नभएको बताए ।
‘जसरी राष्ट्रियता र प्रजातन्त्रको संरक्षणका निमित्त २०३३ सालमा निर्वासनबाट फर्किएर बीपी कोइरालाले राष्ट्रिय मेलमिलापका लागि आह्वान गर्नुभएको थियो । त्यसैगरी राजा ज्ञानेन्द्र राष्ट्रियता, प्रजातन्त्र सुदृढीकरण, आर्थिक समृद्धिका लागि राजसंस्था र जनता मिलेर अगाडि बढ्न सहयोगका लागि आह्वान गर्नुभएको हो । यसलाई सबै राजनीतिक दलका नेताहरूले सकारात्मक रूपमा लिनुपर्छ’, उनले भने ।
विगत १८ वर्षको राजनीतिक घटनाक्रम र अभ्यासबाट पाठ सिकेर राजा र जनता मिलेर जाने राजनीतिक प्रणाली विकास गर्नेतर्फ राजनीतिक दलहरूले सकारात्मक रूपमा सोच्नु उपयुक्त हुने थापाको भनाइ छ । राजा र जनता मिलेर अगाडि बढ्न गरेको आह्वानमा कस्तो खालको ज्ञानेन्द्रले कस्तो खालको सहयोगको अपेक्षा गरेको स्पष्ट नभए पनि आगामी दिनमा चाल्ने कदमको पूर्ण साथ दिएर अगाडि बढ्ने थापाले बताए ।
२०६१ साल माघ १९ गते ज्ञानेन्द्रले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउँदै आफ्नै नेतृत्वमा शासन चलाएका थिए । ज्ञानेन्द्रको निरंकुश कदमबाट आक्रोशित तत्कालीन संसद्वादी सात दल र विद्रोही माओवादीबिच २०६२ साल मंसिर ७ गते १२ बुँदे दिल्ली सम्झौता भएको थियो । सोही सहमतिको जगमा २०६२/६३ सालमा भएको १९ दिने जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढलेको थियो । राजगद्दी त्यागेपछि लामो समय मौन रहेका उनले पछिल्लो केही वर्षयता भिडियो वक्तव्यमार्फत दलहरूमाथि खबरदारी गर्दै आएका छन् । ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्ति अहिलेसम्मकै कडा रूपमा आएको विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । उनको वक्तव्यबाजीलाई लिएर राजनीतिक वृत्तमा निकै हलचल मच्चिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउनका लागिपरेको इतिहास साक्षी रहेको स्मरण गराउँदै जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुख सुविधा गरेको भावलाई कसैले कमजोरी ठान्न नहुने बताएका थिए ।
‘जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन’, वक्तव्यमा उनले भनेका छन्, ‘कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलासा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो ।’
ज्ञानेन्द्रले गणतन्त्र स्थापनादेखिको १८ वर्ष मात्र नभई तीन दशक यताको स्थिति नै राम्रो नभएको टिप्पणी गरेका छन् । गणतन्त्रकालमा देशको इतिहास र अस्थित्व मेटिँदै गएको, नेपाली जनशक्ति विदेश पलाइन भएको, प्रत्येक नेपालीको थाप्लोमा एक लाख ऋणभार रहेको, औद्योगिक, शैक्षिक अवस्था सिर्जना हुनु प्रजातन्त्रका लागि शोभनीय विषय नभएको आरोप लगाएका छन् ।
‘नेपालको पद्धति, नीति, गतिविधि ठिक छैन । यहाँ बसेर केही हुँदैन । श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन’, पछिल्लो समय नागरिक तहमा बढ्दै गएको निराशाप्रति चित्रण गर्दै उनले भनेका छन् ‘प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जागरूक बनाउने हुनुपर्दछ । तर, तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)
-
माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात
-
सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा