शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

आँखा देख्न पाउने खुसीले दङ्ग

बिहीबार, ०८ फागुन २०८१, ०४ : ३४
बिहीबार, ०८ फागुन २०८१

महोत्तरी । बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका  कुनै खुसी भने साँचेकी छैनन् । 

प्रजातन्त्र दिवसको अर्थ र महत्व नबुझेरै अरुले भनेकै भरमा ‘जिन्दावाद’ भन्ने गरेकी तामाङलाई यसपालि भने अब कहिल्यै नबिर्सने गरी यो दिनको सम्झना रहने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले काछबासीका लागि सञ्चालन गरेका आँखा जाँच शिविरले सेतीमायालाई अब यो दिन कहिल्यै नभुल्नेगरी गुन लगाएको हो ।

यसपालिको प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार आफ्नै बस्तीमा आँखा जाँच गर्न पाएकी उनको बुधबार मोतियाविन्दुको शल्यक्रिया भएको छ । अबका केही दिनभित्रै शल्यक्रिया गर्दा लगाएको पट्टी खोलिएपछि झलमल्ल संसार हेर्ने खुसीले उनी दंग छिन् । ‘आफ्नै गाउँबस्तीमा आएका डाक्डरबाबुले आँखा जाँचेर अपरेसन गर्नुपर्छ भन्नुभयो । आज उहाँहरूले नै लिएर अपरेसन गराएर घर पुर्‍याई दिनुभएको छ’, सेतीमायाले भनिन्, ‘अब त भोलिपर्सि नै पट्टी खोलेपछि सबै उज्यालो देख्नेछु ।” पछिल्लो एक दशकयता मोतियाविन्दुले समस्या भएपछि आसै घरको आँगन ननाघेकी उनको अब पूरै गाउँ घुम्ने रहर छ ।

सेतीमाया मात्र होइन काछबस्तीकै ७५ वर्षीया जुनुमाया आले, ७६ वर्षीया गोपीमाया धागा र ६० वर्षीया गङ्गामाया ठोकरको पनि बुधबार नै मोतिविन्दुको शल्यक्रिया भएको छ । उनीहरुलगात मोतिविन्दु भएका १७ जनाको हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । 

यसपालि प्रजातन्त्र दिवसको अवसर पारेर आँखा जाच शिविर आयोजना गरिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीले बताए ।  शिविरमा आँखा जाँच गरिएका ३५० जनामध्ये १७ जनामा मोतिविन्दु देखिएपछि शल्यक्रिया गरेको र एक सयभन्दा बढीलाई आँखा जाँचपछि चस्मा र दुई सय जनालाई औषधि दिइएको उनले जानकारी दिए ।   

कतिपय पछिल्ला १० वर्षदेखि आँखा समस्या भएर पनि उपचार गर्न गएका थिएनन् । प्रजातन्त्र दिवसका अवसरमा आयोजित शिविर निकै लाभदायक भएको बर्दिबास–५ का वडाअध्यक्ष काहरमान स्याङ्वाले बताए ।   

यसका लागि अष्ट्रेलियाको तस्मानियाँस्थित रोटरी क्लबका सदस्य डेभिड एक्स र एक्सले होडिङ लिमिटेडले आर्थिक स्रोत जुटाइदिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष पुरीले जानकारी लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?