झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्

काठमाडौँ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बसेको स्थायी र पोलिटब्युरो बैठकमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चौथो अन्तरपार्टी निर्देशन, पार्टी विधानको त्रुटी तथा अनेरास्ववियू र युवासंघ पुनर्गठनबारे गम्भीर असहमति जनाएका छन् ।
मंगलबार र बुधवार बसेको स्थायी कमिटी र पोलिटब्युरो बैठकमा नेता खनालले ती विषयहरूमा भए गरेका काममा केही नेताको निरङ्कुशता र नोकरशाही प्रवृत्ति देखिएको भन्दै चर्को असन्तुष्टि जनाउँदै आक्रोश व्यक्त गरेका हुन् ।
एक जना स्थायी कमिटी सदस्यका अनुसार नेता खनालले पार्टीमा अरजकता, गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी प्रवृत्ति मौलाएको भन्दै यसले पार्टीलाई ठुलो घाटा हुने चेतावनी नै दिएका छन् ।
अध्यक्ष माधव नेपालले जारी गरेको चौथो अन्तर पार्टी निर्देशनमा अनेरास्ववियू र युवा सङ्घको अध्यक्षबाट आरती लामा र कृष्णकुमार विश्वकर्मालाई पूर्ववत् जिम्मेवारीबाट हटाएर फरक जिम्मेवारी दिएको थियो । तर, खनालले दुई दिनका बैठकमा अनेरास्ववियू र युवा संघलाई अधिवेशन गर्न नदिएर मनलाग्दी पुनर्गठन गर्नु गलत भएको भन्दै पार्टीमा टिके प्रथा सुरु भएको, ठाडो बर्खास्तगी गर्ने काम भएको, मन नपर्नेलाई हटाउने र मन परेकालाई ठाडो नियुक्ति गर्ने काम भएको भन्दै बैठकमै निर्णयको विरोधसहित आक्रोश व्यक्त गरेका छन् ।
‘छँदा खाँदाका कमिटीहरू विघटन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढङ्गले नियुक्ति गर्ने, सङ्गठनका साथीहरूमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका मौलाएको छ’, बैठकमा खनालको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ । यो निरङ्कुश र नोकर शाही तरिका हो ।’
नेता खनालले आजको युगमा यस्ता तरिका नचल्ने र स्वीकार्य हुनै नसक्ने बताएका छन् । ‘त्यस्ता तरिकाले पार्टी पनि चल्दैन र जनसङ्गठन पनि चल्दैनन् । पार्टीले यो कार्यशैली र निर्णय गर्ने तरिका सच्याउनुपर्छ’, खनालको भनाइ छ ।
उनले अनेरास्वबियू र युवा सङ्घको हकमा लिखित असहमति जनाउँदै सबै जनसंगठनहरूप्रति आधारभूत रूपले समान नीति अख्तियार गर्नुपर्नेमा जोड दिएका छन् ।
‘कसैलाई काखा कसैलाई पाखाको नीति अपनाउनु हुँदैन । कुनै जनसंगठनप्रति एक प्रकारको नीति कुनै अर्को जनसंगठनहरूलाई अर्को खालको नीति अख्तियार गर्ने पक्षपातपूर्ण डबल स्ट्यान्डरको नीति अपनाउन पाइँदैन’, खनालको भनाइ छ ।
खनालले सबै जनसंगठनहरूलाई पार्टी महाअधिवेशनको भावना अनुरूप जनवादी ढङ्गले रूपान्तरित हुने र आवश्यकता अनुसार नेतृत्व हस्तान्तरण हुने समान अवसर दिनुपर्नेमा जोड दिँदै कुनै जनसङ्गठनका प्रमुखहरूलाई ठाडो निर्देशनका आधारमा पदबाट हटाउने, उनीहरूलाई जनवादी ढङ्गले निर्णय गर्न पनि नदिने र पार्टी अपानी जारी गरेर हटाउने तर कुनैलाई उनीहरूको प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गर भन्ने अघिल्लो स्थायी समितिको निर्णय पक्षपातपूर्ण, डबल स्ट्यान्डरयुक्त र पूर्वाग्रही रहेको दाबी गरेका छन् ।
‘तपाईँहरूको यहीं गलत निर्णयको कारणले अनेरास्ववियूको नेतृत्व पङ्क्ति विवादग्रस्त बन्न पुग्यो । अझ पार्टीको निर्देशन अनुरूप खास व्यक्तिहरूलाई खास खास पदमा ठाडो नियुक्तिको घोषणा गर्नुको कारणले अनेरास्ववियूको आफ्नो नेतृत्व पार्टी कार्यदिशा अनुरुप आफैँ नेतृत्व निर्वाचन गर्न पाउने जनवादी अधिकार निर्ममतापूर्वक पार्टी नेतृत्वले कुल्चिन पुग्यो । त्यसले अनेरास्ववियूलाई विभाजनको सङ्घारमा पुर्याइदियो’, खनालको भनाइ छ ।
पुँजीवादी लोकतन्त्रभन्दा पनि अघि बढेर समाजवादी लोकतन्त्रतिर अघि बढेको अवस्थामा समाजवादी चेतना र प्रतिबद्धताले समेत जागरूक बन्दै गरेका युवाहरूलाई निरङ्कुश र नोकर शाही शैलीमा मनपरी ढङ्गले हाँक्न खोजेर हाँक्न नसकिने खनालको ठोकुवा छ ।
‘पार्टी नेतृत्वले जथाभाबी डन्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिँदैन भन्ने कुरा आत्मसात् गर्न सक्नुपर्छ । अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यम्भावी हुन्छ’, खनालको चेतावनी छ ।
खनालले यस्तो आक्रोश र असहमति जनाए पनि अनेरास्ववियु र युवा सङ्घबारे अपानीको निर्णय नसच्चिने अध्यक्ष नेपाल निकट नेताहरूको भनाई छ । विधानमा भएको सम्मानित नेता र सचिवबारेको त्रुटि भने सच्चाउने उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्क एक्समा एक दिनमै १५४ वटा पोष्ट गर्न कसरी भ्याउँछन् ?
-
फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाइ हुने
-
केराउको एउटा दानाले लियो डेढ वर्षीय बालकको ज्यान
-
जेलेन्कस्कीसँग निराश छन् ट्रम्प, खनिज सम्झौता गर्नुपर्ने
-
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
-
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट तीनवटा रंगशालामा