नेपाली छात्रा मृत्यु प्रकरण : फोन र मेसेज गरेर विद्यार्थीलाई फर्कन अनुरोध गर्दै कीट विश्वविद्यालय

काठमाडौँ । भारतको उडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी अझै फर्किन तयार छैनन् । त्यहाँ एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।
ती मध्ये ३० देखि ३५ जना मात्रै विद्यार्थीहरू होस्टेलमा आएको एक विद्यार्थीले बताए । ती बाहेकका विद्यार्थीहरू कोही भारतमै आफन्तकहाँ त कोही विद्यार्थी नेपाल फर्किसकेको ती विद्यार्थीको भनाइ छ ।
विश्वविद्यालयको होस्टेलमा गरिएको अमानवीय व्यवहारका कारण विद्यार्थीहरू अझै त्रासमा छन् । उनीहरू तत्कालको अवस्थामा विश्वविद्यालय फर्किने मनसायमा छैनन् ।
हालसम्म करिब २०० विद्यार्थी नेपाल फर्किएका छन् । काँकडभित्ता, वीरगन्ज र विराटनगरको २०० को हाराहारीमा विद्यार्थीहरू नेपाल आइपुगेका हुन् । नेपाल आइपुगेका विद्यार्थीहरूले आफू तत्काल विश्वविद्यालय फर्किने मनसायमा नरहेको बताएका छन् ।
फर्किएपछि विभिन्न सञ्चारमाध्यमहरूलाई दिएको अन्तर्वार्ताको क्रममा ती विद्यार्थीहरूले प्रकृति लम्सालको मृत्यु भएको राति होस्टेलभित्र भएको अमानवीय व्यवहारको चर्चा गरेका छन् । रेल्वे स्टेसनमा समेत आफूहरूले असुरक्षित महसुस गरेको उनीहरूको भनाइ छ ।
विश्वविद्यालयमा उपकुलपति बाहेक अन्य शिक्षक कर्मचारीले समेत विद्यार्थीमाथि कुटपिट गरेको उनीहरूको भनाइ छ ।
‘त्यहाँको उपकुलपति सरले मात्रै हात हालेका छैनन् । त्यो बाहेक सबैले कुटेका छन् । कक्षामा पढाउने सरले समेत कुटेका छन् । बाहिरबाट बाउन्सर, जिम ट्रेनर बोलाएर कुटाएका छन् । प्रहरी लगाएर कुटेका थिए,’ एक नेपाली विद्यार्थीले भने ।
प्रकृति लम्सालको न्यायका लागि धर्नामा रहेका बेला आफूहरूमाथि एकाएक कुटपिट भएको बताए । त्यही क्रममा होस्टेलमा बाहिरबाट छिरेका गुन्डाहरूले कोठा बन्द गरेर नेपाली पुरुष विद्यार्थीहरूलाई एकाएक गरेर कुटेको ती विद्यार्थीको भनाइ छ ।
नेपाली छात्राहरूलाई समेत होस्टेलमा लगेर धम्क्याउने, परीक्षामा फेल गराइदिन्छु, रेस्टिकेट गराइदिन्छु भनेर धम्की दिएको समेत बताए । कुटपिटपछि गरेपछि विद्यार्थीहरूलाई फेब्रुअरी १७ तारिखको बिहान सूचना जारी गरेर ५ मिनेटभित्र होस्टेल खाली गर्न अर्डर दिएको एक अर्का विद्यार्थीले बताए । नेपाल फर्किनका लागि एक महिना पहिला नै रेलको टिकट बुकिङ गर्नुपर्ने हुन्छ । तर, यो पटक एकाएक घर जान भनेपछि टिकट समेत नपाएको उनीहरूको भनाइ छ ।
लखनउका आदिक श्रीवास्तवले प्रकृतिलाई पटक पटक दुर्व्यवहार गर्दै आएका थिए । आफूमाथि भएको दुर्व्यवहारबारे प्रकृतिले उजुरी समेत दिएकी थिइन । त्यसपछि आदिकलाई चेतावनीसहितको पत्र दिएर छोडिएको थियो । घटना हुनु केही दिन अगाडि समेत त्यसरी नै दुर्व्यवहारमा परेको उनका साथीहरूको भनाइ छ ।
पटक पटकको दुर्व्यवहार सहन नसकेर प्रकृतिले फेब्रुअरी १६ तारिखमा होस्टेलको कोठामा पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि उनको न्यायको माग गर्दै नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन सुरु गरेका थिए भने त्यसमा भारतीय विद्यार्थीहरूले समेत साथ दिएका थिए ।
आन्दोलन गरेको भन्दै होस्टेलका कर्मचारी तथा विश्वविद्यालयका अधिकारीहरूले बाहिरबाट गुन्डा बोलाएर आफूहरूमाथि कुटपिट गराएको विद्यार्थीहरूको भनाइ छ । ‘यो नेपाली हो हान भनेर कुटपिट गरेका थिए । अझै नेपालीहरूको अवस्था त्यस्तै छ । विश्वविद्यालयले जबरजस्ती पैसा दिएर बोलाउन खोजेको थियो । त्यहाँ गएपछि हामीहरूको अवस्था के हुने भन्ने डरले जान सकेनौँ अनि घर फर्कियौँ,’ एक विद्यार्थीले भने ।
उडिसाबाट घरसम्म आइपुग्दा आफूहरूको एक लाख ८ हजार रुपैयाँ खर्च भएको समेत बताए । ‘२ मिनेटको समय दियो, जित्ना सामान प्याक करसक्ते हो करो, नही ता जाओ भन्यो । हामी न्यायका लागि स्ट्राइकमा बसिरहेका थियौँ । त्यही बेला प्रहरी बोलाएर कुटपिट गरियो,’ ती विद्यार्थीले भने ।
आफूहरूको फोन र ल्यापटप समेत उनीहरूले गरेको विद्यार्थीहरूको भनाइ छ । तीन दिनदेखि खाना समेत खान नपाएको बताउँदै ती विद्यार्थीहरूले नेपाल पुगेपछि खाना खाएको बताए ।
अब आफूहरू तत्काल विश्वविद्यालय फर्किन सक्ने अवस्था नरहेको बताए । आफूहरू सुरक्षित नै नभएको ठाउँमा पढ्न नसक्ने बताए ।
‘अब तत्काल जान सक्ने अवस्थामा छैनौँ । हामी हाम्रो सरकारले जे निर्णय गर्छ त्यसैमा विश्वास गर्छौ । हाम्रो त क्रेडिट आवर नै ट्रान्सफर गरेर यतै पढ्ने वातावरण बनाइदिए हुन्छ,’ ती विद्यार्थीले भने ।
१७ फेब्रुअरीमा उडिसाबाट हिँडेका विद्यार्थीहरू हिजो मध्यरात वीरगन्ज आइपुगेका हुन् ।
नेपाली विद्यार्थीहरूले ह्वाट्सएप ग्रुप बनाएका थिए । ग्रुप एडमिन भएका विद्यार्थीलाई खोजी खोजी कुटपिट गर्नुका साथै फोन समेत खोसेर लगेको अर्का विद्यार्थीले बताए । ती मध्येका एक जना विद्यार्थी भने केही सामान नलिईकन त्यही फोन समातेर बाहिर भोगका थिए । जसले गर्दा ती विद्यार्थी ग्रुप एडमिन भएर ह्वाट्सएप ग्रुप चलाइरहेको बताए । त्यहीबाट विद्यार्थीहरूलाई सर्कुलर जारी गर्नेदेखि लिएर आवश्यक जानकारी दिने काम समेत गरिएको बताए ।
विद्यार्थी फिर्ता बोलाइँदै
कीट विश्वविद्यालयले भने विद्यार्थीहरूलाई फोन गरेर, म्यासेज गरेर तथा मेल गरेर समेत विश्वविद्यालय फर्किन अनुरोध गर्दै आएको छ । तर, विद्यार्थीहरूले भने तत्कालको अवस्थामा आउन नसक्ने प्रस्ट पारेका छन् ।
नेपाल सरकार तथा नयाँ दिल्लीस्थित नेपाली अधिकारीहरू समेत विश्वविद्यालय पुगेर विद्यार्थीहरूसँग छलफल गरेका थिए । तर पनि विद्यार्थीहरूले अझै सुरक्षित महसुस गरेका छैनन् ।
उनीहरूले नेपाल र भारत दुवै सरकारको तर्फबाट आफूहरूको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने र विश्वविद्यालयले समेत आफूहरूमाथि केही नहुने जिम्मा लिनुपर्ने माग गरेका छन् ।
उडिसाका शिक्षामन्त्रीसँग परराष्ट्रमन्त्रीको कुराकानी
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वविद्यालयमा भएको घटनाबारे उडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् । उडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग प्रकृतिको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी हुन् ।
उनको निजी सचिवालयले दिएको जानकारी अनुसार मन्त्री सुरजले सो घटनालाई उडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए ।
साथै उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी मन्त्री डा.देउवालाई गराएका थिए ।
प्रकृतिको मुद्दामा न्याय दिलाउने मुख्यमन्त्रीको प्रतिबद्धता
राज्यका मुख्यमन्त्री मोहन चरण माझीले यस मुद्दामा न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री माझीले नेपाली काउन्सिलरद्वय संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै मृतक केआईआईटी विद्यार्थी प्रकृतिको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिएका हुन्।
उनले कीट क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिए । मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह गरे।
कीटमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न मन्त्रीद्वय मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्य सचिव मनोज आहुजासहित नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरिएको थियो।
त्यसैगरी मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्ने गरी सुरक्षाको प्रबन्ध गरिएको बताए ।
प्रकृतिको मृत्यु प्रकरणको छानबिन गर्न उडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहेको समिति गठन गरेको हो ।
ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको जनाएको हो । कलेजमा प्रदर्शन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरू बाहिर आएको र त्यसमाथि अनुसन्धान भइरहेको तथा कानुन अनुसार कारबाही समेत जनाएको छ । उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने समेत जनाइएको छ । प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणको सुनिश्चित गर्नका लागि प्रतिबद्ध रहेको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’
-
जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा : राष्ट्रपति
-
सातामा नेप्से ६५.२७ अंकले वृद्धि, पुरानै लयमा फर्किएला ?
-
फिल्म ‘११: ५५’ को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक
-
ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो
-
तस्बिरमा हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक