शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

२३ मार्चमा एकता महाधिवेशन गर्ने एनआरएनए यूकेको घोषणा

बुधबार, ०७ फागुन २०८१, १९ : १२
बुधबार, ०७ फागुन २०८१

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो २३ मार्चमा एकता महाधिवेशन तथा वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ । 

सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशन बमोजिम बेलायत शाखाले अल्डरसटमा महाधिवेशन र साधारणसभा तय गरेको हो ।

१६ फेब्रुअरी आइतबार जुममार्फत सम्पन्न कार्यसमिति बैठकले अल्डरसटस्थित प्यालेस ब्याङक्यूटिङ हलमा एकता महाधिवेशन र साधारणसभा गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहामगरले बताए । 

उक्त महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथि हुने गाहामगरले जनाए। अध्यक्ष गाहामगरले एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गरेका छन् । 

उक्त महाधिवेशनको मुख्य एजेन्डामा वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा सम्बन्धी जारी मुद्दा छन् । यी एजेण्डा काठमाडौँमा ३ देखि ५ मे, २०२५ मा काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए आइसीसीको विधानमा समेट्न छलफल र प्रस्तावका लागि एक प्रमुख विषय हुने बताइएको छ । 

बैठकले डा. भीम पुनको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला छन् भने तीन सदस्यहरू पछि थपिने छ ।

बैठकले साधारण सभाका लागि एक मध्यस्थता टोली समेत गठन गरेको छ जसमा डा. भीम पुन (निर्वाचन आयुक्त), एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, एनआरएनए यूके आइसीसी सदस्य ओम थापा काउचा र एनआरएनए यूके संरक्षक भरत रोका छन् । 

बैठकले यूके एकता महाधिवेशनका लागि सदस्यता दर्ता एवं नवीकरण समयसीमा २२ मार्च, २०२५ तोकेको छ । अन्तर्राष्ट्रिय महाधिवेशनका लागि भने ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्नुपर्ने समयसीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?