शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
सिरहामा किशोरी मृत्यु प्रकरण

रिंकुको घर पुग्न थाले नेताहरू, अझै समातिएनन् दोषी

बुधबार, ०७ फागुन २०८१, १८ : ४५
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका रिंकु सदायको बलात्कारपछि भएको मृत्युको घटनाले विस्तार रूप लिँदैछ । 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर यस्तोमा विभिन्न राजनीतिक दलका नेता तथा संघ संगठनका प्रतिनिधिहरू पीडितको घरमा पुगिरेहका छन् । घटना भएको दुई हप्ता बित्न लाग्दा पनि दोषी पक्राउ परेका छैनन् । 

दोषीलाई गाउँकै अगुवाबाट जोगाउने प्रयास भइरहेको हो । यसअघि पनि सोही सदायबस्तीमा यस्तै घटना दबाइएको थियो । 

यहाँ पनि दोषीलाई डेढ लाख रुपैयाँ जरिवाना पनि गरिसकिएको थियो । तर, पछि दोषीहरूबिच कुरा नमिल्दा यो घटना प्रहरीसम्म उजुरी पुगेको हो । 

हिजो पूर्वगृहराज्यमन्त्री रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी रिंकुकुमारी सदायको घर पुगेका थिए । 

अध्यक्ष अन्सारी पीडितको परिवार तथा त्यहाँका स्थानीय राजनीतिकर्मीसँग भेटेर घटनाबारे जानकारी लिएका छन् । 

अध्यक्ष अन्सारीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख वा कसैको दबाबमा नपरी पीडित परिवारलाई न्यायका लागि लड्न आग्रह गरेका छन् । रिंकुलाई न्याय दिलाउन हुने संघर्षमा आफूले पनि साथ दिने उनले बताएका छन् ।  

अध्यक्ष अन्सारीले भने, ‘हामी चार दल र नागरिक समाज स्थलगत निरीक्षण गरी गाउँका मान्छे र पीडित परिवारका सदस्यसँग सत्यतथ्य बुझ्दा सामूहिक बलात्कार नै भएको देखिन्छ । तर, घटना लुकाउन र दोषी बचाउन आत्महत्या देखाउन खोजिएको छ ।’ स्थानीय केही नेता तथा अगुवाहरूले त्यस घटनालाई दबाउने प्रयास गरिरहेका उनको भनाइ छ । गृह मन्त्रालयलाई नजिकबाट बुझेअनुसार प्रहरीले सत्यतथ्य छानबिन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । 

पीडित परिवारलाई भेट्न मधेश प्रदेश सरकारका पूर्वगृहसञ्चार तथा कानुनमन्त्री तथा मधेश प्रदेशसभा सदस्य विमला अन्सारी पनि पुगेकी छन् । प्रदेशसभा सदस्य अन्सारीले आफू महिला भएको कारण रिंकुको पीडा अनुभव गरेको बताइन् । 

केही दिन अगाडि सर्लाहीका सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे भएपछि बहालबाला गृहमन्त्रीको निर्देशनमा उनीहरूलाई पक्राउ गर्न सक्ने प्रहरीले रिंकुको घटनामा संलग्नलाई किन पक्राउ गर्न नसकेको भनी अन्सारीले प्रश्न गरिन् । 

यसरी भएको थियो घटना 

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु माघ २७ गते राति ९ बजेतिर शौच गर्न बाहिर निस्केकी थिइन् । ढिलोसम्म घर नफर्किँदा आमाले आफन्तहरूलाई लिएर रिंकुलाई खोजेकी थिइन् । तर, राति अबेरसम्म उनी कतै फेला परिनन् । 

बिहान ३ बजे आफै घर फर्केपछि यति रातिसम्म कहाँ थिइस् भनी आमाले सोधखोज गरेपछि बलात्कारको कुरा बाहिर आएको थियो । 

रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दनको नामै लिएर आफूलाई बलात्कार गरेको भनेकी उनकी आमाले बताइन् । भोलिपल्ट सो घटना मिलाउन ‘पञ्चायत’ बसेको थियो । त्यहाँ पनि रिंकुले ती तीनै जनाको नाम लिएकी थिइन् । उक्त गाउँभेला (पञ्चायत) ले घटनामा संलग्न रहेका रुपेश मण्डललाई मुख्य दोषी मान्दै एक लाख ५० हजार जरिवाना गरेको थियो । 

दोषी पक्षले भोलिपल्ट अर्थात् २९ गते आफ्नो जातीय बैठक बोलायो । घटनामा तीन जना दोषी भएका भन्दै सबैलाई जरिवाना गरिनुपर्ने रुपेशका बुवाको माग थियो । तर, अरू दुई जनाले आफूहरूले जरिवानाको भागिदार नबन्ने भनेपछि त्यहाँ होहल्ला भएको थियो । तर, पछि रिंकुलाई कसैले रकम दिन मानेनन् । 

त्यसपछि गाउँमा त्यो घटनालाई लिएर अनेक टीका–टिप्पणीहरू हुन थाले । पञ्चायतले गरेको फैसलाअनुसार रकम पनि दिन कोही पनि तयार भएनन् । 

रिंकुको बिहेको कुरा तय भइसकेको थियो । तय भएको ठाउँमा अब बिहे पनि नहुने भएपछि रिंकु र उनका आमा निकै चिन्तित थिए । पछि बलात्कार गर्ने केटासँग नै बिहे गर्ने कुरा पनि भयो तर, समाजमा त्यो कुरा स्वीकार्य भएन । दोषीहरूले झन् रकम नदिने ‘जे गर्नुछ गर्’, भनेका थिए । उनीहरूले जरिवाना तिर्ने रकमले मुद्दा नै लड्नेजस्ता अभिव्यक्ति दिन थालेका थिए ।

माघ ३० गते राति रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् । रिंकुका छिमेकी मञ्जुलदेवी सदायका अनुसार रिंकुको आत्महत्या नभई हत्या भएको देखिन्छ । ‘आत्महत्या गर्ने मान्छे बाहिरबाट कसरी चुकुल लगाउँछ ? रिंकुलाई कुटपिट गरेको नीलडाम पनि शरीरमा देखिएको थियो, अनुहारमा धुलो पनि लागेको थियो, यो आत्महत्या होइन, हत्या हो,’ उनले दाबीसहित भनिन् । 

त्यो घटनालाई गाउँका अगुवाहरूले अझै दबाउन खोजिरहेको सदायले बताइन् ।  

दोषी देखिएका तीन जना भने अहिले फरार छन् । पञ्चायत गर्ने पञ्चहरू पनि गाउँबाट भागेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न कार्यदल गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप