शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्रको सम्बोधनपछि रवीन्द्रले अघि सारे १२ बुँदा

‘राजा र राजनीतिक दलहरू एक ठाउँमा आउन अत्यावश्यक छ’
बुधबार, ०७ फागुन २०८१, १६ : ३९
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजा र राजनीतिक दलहरू एक ठाउँमा आउन अत्यावश्यक भएको बताएका छन् । प्रजातन्त्र दिवसका अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशपछि मिश्रले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको सन्देशप्रति समर्थन गर्दै मिश्रले सामाजिक सञ्जाल फेसबुकमा १२ वटा बुँदामा आफ्नो धारणा व्यक्त गरेका छन् । राजा र राजनीतिक दलहरू एक ठाउँमा आउन किन अत्यावश्यक छ ? मिश्रले अगाडी सारेका १२ बुँदा :

१) राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन । राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन् । तर, ती हजार गल्ती यति गम्भीर भए कि तिनले देशमा नैतिक संकट र ज्ञानको संकट चरम अवस्थामा पुर्‍याएर देशलाई नै अस्तित्वको संकट उन्मुख बनाइदिए । 

२) तसर्थ देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटिबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाउँमा आउन अत्यावश्यक छ । राजाको सन्देशमा सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय भएको स्पष्ट भाव छ ।

३) राजाको आह्वानलाई ठुला दलहरूले पहिलेजस्तै अहम्पूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने सिस्टमिक ओभरहलिङ पद्धतिपूर्ण र शान्तिपूर्ण हुने छैन । त्यो कसैका लागि पनि हितकर हुँदैन । 

४) ठुला दलका ठुला नेता राजाको प्रजातन्त्र दिवसको सम्बोधनप्रति सकारात्मक हुन नितान्त जरुरी छ । राजाले त्यसै बोलेका छैनन् । सबै मिल्नुको विकल्प छैन । 

५) छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समीक्षा गरी पुनः दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरुरी छ । विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको सदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन ।

६) जहाँसम्म देशभित्रका राजसंस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ–आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्न अत्यावश्यक छ । 

७) मैले पहिले पनि बोलेको र लेखेको हुँ: झन्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरि राजसंस्थाको पक्षमा माहौल बनाउँदै जाने र, अपवादलाई छोडेर हामी झगडिया, स्वार्थी, पदलोलुप, घमन्डी, अहम्ले पूर्ण राजसंस्थावादीहरूले चाहिँ त्यो माहौल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ । अब त्यो कार्य तत्काल रोकौँ । नत्र राजसंस्थावादीहरूले,अरू त कुरै छोडौँ, राजसंस्था पुनर्स्थापनाको श्रेय पनि पाउने छैनन् । 

८) ठुला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना/ठुला नेताहरू छन् । अब ती नेताहरूले कुरा नचपाई बोल्न पर्छ । 

९) त्यस्तै अनौपचारिक भेटघाट/चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’ को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौली–तौली बोल्ने कयौँ नागरिक समाजका अगुवाहरू अब मौन बस्न हुँदैन । 

१०) राजालाई झापा गएर भेटेर “राजसंस्था पुनर्स्थापना गर्ने पार्टी स्थापना गर्दा ठुलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन ?” भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नि ! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु । 

११) जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो, त्यसै गरी आ–आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो । 

१२) छिटै शान्तिपूर्ण ढङ्गबाट नवीन समझदारी र सिस्टमिक ओभरहलिङको बाटोमा देश गएको देख्न पाइयोस् । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप