गणतान्त्रिक व्यवस्थाप्रति मात्र हैन, तीन दशक यताका प्रजातान्त्रिक गतिविधिप्रति पनि पूर्वराजा असन्तुष्ट

काठमाडौँ । राजतन्त्र ‘निरङ्कुश’ हुँदोरहेछ भन्दै जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा भइसकेको छ । नेपालको इतिहासमा ज्ञानेन्द्र शाह ‘अन्तिम राजा’का रूपमा अङ्कित छन् ।
राजा वीरेन्द्रको वंश नाशपछि शासन सत्तामा आएका ज्ञानेन्द्रमा ‘सक्रिय राजतन्त्र’को महत्वाकांक्षाकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भनेर टिप्पणी गर्नेहरू प्रशस्त छन् । उनै पूर्व राजा शाहले प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार भिडियो सन्देश जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति मात्र हैन, तीन दशक यता भएका प्रजातान्त्रिक गतिविधिप्रति पनि असन्तुष्टि जनाएका छन् । पूर्वराजा पूर्वराजा शाहले भिडियो सन्देशमा प्रजातन्त्र कस्तो हुनुपर्दछ भन्नेबारे प्रवचन दिनका साथै देशको समृद्धि र उन्नतिका निमित्त आफूलाई साथ दिन जनतालाई आह्वानसमेत गरेका छन् ।
उनले राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने अब समय आइसकेको भन्दै आफूलाई साथ दिन अपिल गरेका हुन् ।
राजतन्त्रको पक्षमा उभिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू पूर्वराजा ज्ञानेन्द्रको यस्तो अभिव्यक्तिबाट स्वाभाविक रूपमा उत्साहित भएका छन् । सो पार्टीका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त । जो–जहाँ छौँ, त्यतै स्थानमा रहनका साथै तयारी अवस्थामा रहन अनुरोध गर्दछौँ ।’
राप्रपाका अर्का नेता डा. प्रकाशचन्द्र लोहनी पनि पूर्वराजाको अभिव्यक्तिबाट उत्साहित देखिएका छन् । डा. लोहनीले बुधबार बिहान फेसबुकमा राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्शन र अवधारणाले जग हालेको स्मरण गराएका छन् ।
‘नेपालीहरूको लागि यो ऐतिहासिक महत्त्व र उपलब्धिको दिन हो । यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ’, लोहनीले भनेका छन्, ‘यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रविन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्य सम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ ।’
पूर्वराजाको सम्बोधनका बारेमा सामाजिक सञ्जालमा अनेक टिप्पणी पाइन्छ । उनले जनतासँग साथ मागेको सन्दर्भले के सङ्केत गर्छ भन्नेबारे पनि व्याख्या तथा विवेचना भइरहेको छ ।
- के भन्छन् विश्लेषक ?
प्राध्यापक कृष्ण पोखरेल पूर्व राजाको अभिव्यक्ति कसैले राम्रोसँग लेखिदिएको हुन सक्ने तर त्यस्तो निबन्धबाट राजनीति नचल्ने बताउँछन् ।
‘अहिलेको यथार्थता के हो भने राजतन्त्र गइसक्यो, अब फर्कँदैन । अब त अघि बढ्ने हो । अगाडि बढ्दा एकदुई नेताले ठक्कर खालान्, अर्को अर्को आउलान्,’ उनले भने, ‘संसदीय राजनीति वा लोकतन्त्र भनेको आज एउटाको हातमा ब्याटल छ भने भोलि अर्कोको हातमा हुन्छ । सक्ने अघि बढ्छ, नसक्ने पछि पर्छ ।’
लोकतान्त्रिक व्यवस्थामा कमी–कमजोरी देखा पर्दै जाँदा लोकतान्त्रिक ढंगले नै समाधान निकाल्नुपर्ने पोखरेलको भनाइ छ । उनले भने, ‘यो व्यवस्थामा कतै कमजोरी देखियो भन्दैमा नेपाली जनता अब पनि पछाडि फर्केर निरङ्कुशता चाहन्छन् भन्ने हुँदैन ।’
अहिले जनतामा आक्रोश, वितृष्णा बढ्नु आफ्नो ठाउँमा रहे पनि त्यसैका आधारमा राजा र राजतन्त्र फर्कन्छ वा फर्काइन्छ भनेर सोच्नुको अर्थ नरहने पोखरेलले प्रस्ट पारे । ‘अब नेपाली जनता मोटरगाडी छाडेर गोरुगाडामा जाँदैनन्,’ उनले भने, ‘ज्ञानेन्द्रको अभिव्यक्तिबाट केही राजावादीहरू उत्साहित हुनु स्वाभाविक हो, किनभने जनताले अहिलेको राप्रपाको स्ट्रेन्थ भनेको एमालेका कारण हो । यस्तो अवस्थामा अब राजा खुलेर अघि आए हाम्रो बल थप बढ्थ्यो भनेर उनीहरू हौसिएका हुन सक्छन् ।’
पूर्वराजा ज्ञानेन्द्रले दलहरूको कमजोरीमा टेकेर जनताको सहानुभूति तान्न खोजेको पोखरेलले प्रस्ट पारे ।
प्रा.डा. राजेश गौतम इतिहासमा परिणत भइसकेको राजतन्त्र फेरि फर्केर आउँछ वा जनताले फेरि फर्काएर ल्याउँछन् भनेर नेपालको परिप्रेक्ष्यमा बहस गर्नु उपयुक्त नहुने बताउँछन् । उदाहरण दिनेहरूले विदेशमा यसरी राजतन्त्र फर्केको थियो भन्ने गरे पनि नेपालको हकमा त्यस्ता उदाहरण लागु हुन नसक्ने उनको दाबी छ ।
यद्यपि, पूर्वराजा शाहले जनताका भोगाइलाई सम्बोधन गर्दै त्यसको फाइदा उठाउन खोजेको हुन सक्ने उनको आशंका छ । यदि त्यस्तो हो भने राजनीतिक दल खोलेर प्रतिस्पर्धामा आउन उनले पूर्वराजालाई सुझाव दिए ।
‘जनताले दुःख पाएको देख्न नसकेको हो भने पार्टी दर्ता गरुन् र जनताको बिचमा जाउन् । भोलि बहुमतले, जनताले समर्थन गरे भने स्वीकार गरौँला,’ प्रा.डा. गौतमले रातोपाटीसँग भने ।
राजनीतिक दलहरूप्रति जनता सन्तुष्ट हुन नसकेको गौतम स्वीकार गर्छन् । राजनीतिक दलका नेताहरूले जनतालाई सन्तुष्ट तुल्याउन सकेका छैनन् । यसो भन्दैमा ‘राजा आऊ, देश बचाउ’ भन्नु पनि ठिक नहुने उनको भनाइ छ ।
हिन्दु धर्मको आडमा राजालाई फर्काउनुपर्छ भनेर बस्नेहरू पनि रहेको प्रस्ट पार्दै गौतमले हिन्दु धर्म आउने बित्तिकै राजतन्त्र पनि आउँछ भनेर व्याख्या गर्नु पनि उपयुक्त नहुने बताए । ‘धर्मलाई बेग्लै र राजतन्त्रलाई बेग्लै दृष्टिले हेर्नुपर्छ,’ उनले भने ।
पूर्वराजाले आफ्नो दृष्टिकोण र आक्रोश व्यक्त गर्नु उनको अधिकार भएको गौतम बताउँछन् । पूर्वराजाको कुरालाई स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा जनतामा भर पर्ने उनले बताए । ‘यथार्थमा जनताका दृष्टिकोणबाट हेर्दा राजनीतिक दलहरूले जनतालाई सन्तुष्ट बनाउन सकेका छैनन् तर यसो भन्दै गर्दा हिजो नेपाली जनताले राजाको ३० वर्षको शासनकाल पनि भोगेकै र हेरेकै हो,’ उनले भने ।
बेलाबेला पूर्वराजाले व्यवस्थाप्रति टिप्पणी गर्नुका पछाडि हिजो राजतन्त्र फाल्दा दल र राजाबिच कुनै सम्झौता पो थियो कि भनेर धेरैले आशंका गरेको गौतम बताउँछन् । ‘यदि त्यसबेला सम्झौता भएको हो भने नेताहरूले पनि भनिदिनुपर्यो– यस्तो भएको हो भनेर,’ उनले भने, ‘हैन भने सधैँ यस किसिमको दृष्टिकोण राखेर राजनीतिक दलहरूलाई आक्रमण गर्नु उचित होइन ।’
उनी राजनीतिक दलहरूले राम्रो काम गर्न नसकेको स्वीकार गर्छन् । यद्यपि प्रजातन्त्रको प्रतीक दलहरू र सिंगो व्यवस्थालाई कमजोर बनाउने काम गर्न नहुने उनको भनाइ छ ।
'ज्ञानेन्द्र शाहको मौसमी बक्तव्यमाथि टिकाटिप्पणी आफैमा उदेकलाग्दो उपक्रम हो,' अमेरिकामा रहेका पत्रकार राजेश मिश्रको विचार छ 'यस्तो अर्थहीन "क्लीसे"लाई महत्व दिनु जरुरी नै छैन।'
उनको प्रश्न छ, 'एक्काईसौं शताब्दीको आरम्भमा आफ्नो व्यक्तिगत महत्वकाँक्षाका निम्ति सैनिक 'कू' कसले गरेको थियो ?'
यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहले ७५ औँ प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देश–
नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
नेपालमा प्रजातन्त्रको मिरमिरे बिहानी उदय भएको फागुन ७ गतेको शुभसन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्साइबक्सिने हाम्रो जिजुबुवाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौँ । जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागिपरेको इतिहास साक्षी छ । त्यसैले प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात अज्ञात सहिदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी उच्च सम्मान भाव राख्दछौँ ।
प्रजातन्त्र आजको युगको उत्तम शासनपद्धति हुनुपर्ने हो । आमजनताको मन, मगज र मतका आधारमा देशको विधि, व्यवस्था तथा मान्यता अनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनुपर्दथ्यो । यसबाट हामी कोही विमुख छैनौँ । राष्ट्रभित्रका हरेक वर्ग, समूह वा व्यक्तिको हक–अधिकारको संरक्षण गर्दै प्रतिष्ठा अघि बढाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्दथ्यो । यसमा कहीँ कसैको शंका हुनु हुँदैन ।
प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वादविवाद, द्वन्द्व, विग्रह, विरोध, प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रूपमा पनि हेर्नुपर्छ । सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्छ । सबैको पहिचान हुनुपर्दछ । सबैको अस्तित्व सुरक्षित हुनुपर्छ ।
निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहंकार आ–आफ्नो खालको स्वार्थ तथा हठवादले प्रजातन्त्र गतिशील बनाउन सक्दैन ।
आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ । जन्मँदै नेपालीको शिरमा हजार होइन, लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना व्यापार–व्यवसाय निरन्तर धराशायी बन्दैछन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् । ‘नेपालको पद्धति, नीति र गतिविधि ठिक छैन, यहाँ बसेर केही हुँदैन’, श्रम, सिप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।
प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ । जनताको भरोसा बढाउने प्रणाली हुनुपर्छ । प्रजातन्त्र फल्दैफुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्किन्छ भन्ने भावना जागरुक गराउने हुनुपर्दछ । तर तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आमजनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा हो ।
हाम्रो यो नेपाल देशभक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यतिमात्र होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख–सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन, पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो । हाम्रो इतिहासलाई नाश गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ ।
विगतका कमी–कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् ।
देशका निम्ति र राष्ट्रका खातिर हाम्रो, समर्पण र निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ ।
अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौँ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त