शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि

बुधबार, ०७ फागुन २०८१, १४ : ५९
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएकोमा असन्तुष्टि पोखेका छन् । 

विश्वविद्यालयमा घटना घटिसकेपछि संसद्मा बोल्ने समय माग गर्दा समेत सभामुख घिमिरेले समय नदिएकोमा बुधबार रातोपाटीसँग शर्माले असन्तुष्टि पोखेका हुन् । 

‘केआईआईटी विश्वविद्यालयमा घटना घटेपछि संसद्मा बोल्न माग गर्दा समेत सभामुखले समय नदिनुबाट हाम्रो लोकतन्त्र कस्तो रहेको मात्र नभई संसद्को नेतृत्व संवेदनहीनता समेत स्पष्ट गरेको छ । संसद्मा जनताका मुद्दाभन्दा कुर्सी र सरकारका मुद्दा मात्र उठाउँदै आएको हामीले भनिराखेका छौँ’, असन्तुष्टि पोख्दै उनले भने । 

केआईआईटीमा घटेको घटनाले नेपाली विद्यार्थीको आवाजलाई दबाएको मात्र नभई नेपाल र नेपाली विद्यार्थीको अपमान समेत गरेको उनले बताए । पूर्वगृहमन्त्री समेत रहेका शर्माले लम्सालको रहस्यमय मृत्युको पीडा एकातिर रहेको बेला अर्कोतिर विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गरिनु आपत्तिजनक मात्र नभई अमानवीय समेत रहेको टिप्पणी गरे । घटना सम्बन्धमा शीघ्र पहल हुन नसक्नु, कूटनैतिक रूपले समस्या समाधान गर्न ढिलाइ गर्नु सरकारको असफलता भएको उनको निष्कर्ष छ । साथै केआईआईटी विश्वविद्यालयमा दिने शिक्षा र संस्कार कस्तो रहेछ भन्ने विषयमा आफ्नो अनुहार स्पष्ट पारेको शर्माले बताए ।

घटनासम्बन्धमा शर्मा भन्छन्, ‘प्रकृति लम्सालको रहस्यमय ढंगले मृत्यु भएको पीडा एकातिर छ । अर्कोतिर विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गरियो । यो घटना आपत्तिजनक मात्र नभई अमानवीय समेत रहेको छ । सरकारको शीघ्र पहल हुन नसक्नु, कूटनैतिक रूपले समस्या समाधान गर्न ढिलाइ गर्नु सरकारको असफलता हो ।’

यसको दीर्घकालीन समाधानका लागि नेपाललाई एक गुणस्तरीय शैक्षिक हब बनाउनुपर्नेमा उनले जोड दिए । त्यसै गरी देशभित्रै रोजगारी सिर्जना गर्न आफ्ना स्रोत र साधनमा आधारित उत्पादनतिर जोड र आजको काम गर्ने ढर्रा, संयन्त्र, सोच र नीति बदलेर आर्थिक क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ भएकोमा शर्माले चिन्ता व्यक्त गरे । 

  • यस्तो छ शर्माले जारी गरेको वक्तव्य :

केआईआईटीमा घटेको घटनाले नेपाली विद्यार्थीको आवाजलाई मात्र दबाएको छैन नेपाल र नेपाली विद्यार्थीहरूको अपमान समेत गरेको छ । प्रकृति लम्सालको रहस्यमय ढंगले मृत्यु भएको पीडा एकातिर छ । अर्कोतिर विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गरियो । यो घटना आपत्तिजनक मात्र नभई अमानवीय समेत रहेको छ । सरकारको शीघ्र पहल हुन नसक्नु, कूटनैतिक रूपले समस्या समाधान गर्न ढिलाइ गर्नु सरकारको असफलता नै हो । केआईआईटी विश्वविद्यालयमा दिने शिक्षा र संस्कार कस्तो रहेछ भन्ने आफ्नो अनुहार स्पष्ट पारेको छ । 

घटना घटेपछि संसद्मा बोल्न माग गर्दा समेत सभामुखले समय नदिनुबाट हाम्रो लोकतन्त्र कस्तो मात्र नभई संसद्को नेतृत्व संवेदनहीनता समेत स्पष्ट गरेको छ । संसद्मा जनताका मुद्दा भन्दा कुर्सी र सरकारका मुद्दा मात्र उठाउँदै आएको हामीले भनिराखेका छौँ । यसका कारण आज जनतामा निराशा बढ्दै गएको छ । सरकारको काम आफ्नो आयु बढाउनु मात्र होइन, जनतामा मुद्दा र रक्षा गर्नु महत्त्वपूर्ण कुरा हो । प्रकृति लम्साल केआईआईटीमा पढ्न जानुपर्ने परिस्थितिको पछाडि पनि नेपालको राजनीति जिम्मेवार छ । नेपालमा आइटीसम्बन्धी विद्यालय खोल्न नसक्ने होइन । थुप्रै विश्वविद्यालय खुलेका पनि छन् । प्रदेश प्रदेशमा विश्वविद्यालय छन् तर विद्यार्थी १२ कक्षा पास गर्दा नगर्दै विदेश जान्छन् किन ? यो हाम्रै राजनीतिले दिनुपर्ने उत्तर हो । हाम्रा विश्वविद्यालयले आजको युग सुहाउँदो विद्यार्थीको चाहना, पाठ्यक्रम अनुसार पढाइमा ध्यान नदिनु र एक विश्वविद्यालयको पाठ्यक्रम अर्को विश्वविद्यालयमा कपि गर्दै नयाँ विश्वविद्यालय खोल्ने होडबाजीमा चल्नु दुःखद कुरा हो । नेताहरूको आफ्नो भूगोल र निर्वाचन क्षेत्रमा थप एक थान विश्वविद्यालय खोल्ने मानसिकताले न गुणस्तरीय पढाइ हुन सकेको छ न गुणस्तरीय शिक्षा नै प्राप्त भएको छ । विश्वविद्यालयमा तालाबन्दी हुने, अति राजनीतिको केन्द्र बन्नेको जिम्मेवार पनि हाम्रै राजनीति हो । 

प्रकृति लम्सालको छानबिन र सत्यतथ्य बाहिर ल्याउन माग गर्ने विद्यार्थीमाथि कुटपिट गर्ने, देश निकाला गर्ने विश्वविद्यालयको कार्य आफैमा घोर भर्त्सनायोग्य छ । यस घटनाको सत्यतथ्य छानबिन गर्दै दोषीलाई कारबाहीका लागि सरकारले कूटनैतिक प्रयास गर्न सक्ने हैसियत राख्नुपर्छ । भारत सरकार समेत यस्तो घटनाप्रति संवेदनशील भएर नेपाली जनताप्रति गरिएको अपमान व्यवहार र अभिव्यक्तिप्रतिले भारतसँग नेपाली जनताको नकारात्मक भावनामा मद्दत बढाउनको अन्त्य गर्न गल्ती गर्नेहरूलाई हदै सम्मको कारबाही गर्न तयार हुनुपर्दछ । सँगसँगै नेपालले अध्ययन गर्न गएका विद्यार्थीहरू हुन् वा श्रम गर्न गएका कामदार हुन् सबैको सुरक्षाको  ग्यारेन्टीबारे गम्भीर बन्नुपर्छ । 

यसको समाधानका लागि नेपाललाई एक शैक्षिक हब बनाउन आजका माग, आवश्यकता र विषय सबै पढ्न सक्ने खालका गुणस्तरीय पठन पाठनका लागि नेपालमै यस्ता विश्वविद्यालय निर्माण गर्न ढिलाइ गर्न हुँदैन । त्यसै गरी देशभित्रै रोजगारी सिर्जना गर्न आफ्ना स्रोत र साधनमा आधारित उत्पादनतिर जोड दिनुपर्छ । नेपालको आजको काम गर्ने ढर्रा, संयन्त्र, सोच र नीति बदलेर आर्थिक क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ भइसकेको छ । यसतर्फ बहस र निर्णयमा पुग्नै पर्दछ । लम्सालप्रति हार्दिक श्रद्धाञ्जली दिँदै घटनाबारे आफ्ना आवाज उठाउने नेपाली विद्यार्थी त्यसलाई साथ दिने भारतीय न्यायप्रेमी सम्पूर्णको प्रशंसा गर्दछु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप