शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रजातन्त्र दिवस

युवालाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति छ : प्रधानमन्त्री ओली

बुधबार, ०७ फागुन २०८१, १२ : १९
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताएका छन् । बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्ने बताए । उनले सरकार बढ्दो जनआकांक्षा र चुनौतीहरूबिच, राज्यको संस्थागत र सामथ्र्यबिच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको जिकिर गरे । 

युवा पुस्ता देशको भविष्य भएको भन्दै उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको भन्दै उनले लोकतन्त्रलाई पारदर्शी र अझ जबाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै लैजाने प्रतिबद्धता जनाए । दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र भएको उनले बताए । 

फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत संघर्षमा आफूलाई समाहित गर्ने वीर/वीरङ्गनाहरुको स्मरण गर्ने दिन भएको ओलीले बताए । प्रजातन्त्र स्थापनाको संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न सङ्कल्प गर्ने दिन भएको उल्लेख गरे।

मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न पनि ओलीले आह्वान गरे ।  

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :

फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । 

गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

जहानियाँ राणा तन्त्रको बर्बरता विरुद्ध आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठसहित सम्पूर्ण अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । 

नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा केही दिनहरु विशेष छन्– चैत २६, वैशाख ११, जेठ १५, र असोज तीन । निर्दलीयताको समाप्ति, लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको संविधान प्राप्तिमा यी दिनको विशेष महत्त्व छ । प्रत्येक दिनले एकपछि अर्को गर्दै जनतालाई सार्वभौम बनाएका छन्, थप अधिकार दिलाएका छन् । 

 तर ती सबै दिन भन्दा युगान्तगारी महत्त्व फागुन ७ गतेले राख्छ । 

२००७ साल फागुन ७ गते ! नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो बिहानीमा पुर्‍याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ । 

फागुन ७ गतेले हाम्रो, खेर गएको सिङ्गो शताब्दीको स्मरण गराउँछ । विज्ञान–प्रविधिमा संसारले फड्को मारिरहँदा नेपालमा भने जहानियाँ शासकको एउटा सनकी आदेशले अन्वेषणमा लाग्ने प्रतिभाको हात काटिएको घटनाको स्मरण गराउँछ । सत्य/तथ्य बोल्नेको जिब्रो थुतेर पातमा राखिएको, आँखा फोरिएको र नव प्रवर्तनमा लाग्नेहरूको जात काढिएको जस्ता पिडादायी घटनाहरूको याद गराउँछ । 

फागुन ७ गते !

आजको दिनले, शासकका पटाङ्गिनीमा बज्ने बिगुलको इसारामा मात्र घरबाहिर निस्कन र भित्र छिर्न पाइने निरङ्कुश परम्परा सम्झाउँछ । आफ्नै नागरिकले राजधानी काठमाडौँ छिर्न समेत ‘भिसा’ लिनु पर्ने र तानासाही शासकका वैध/अवैध सन्तानका लागि भव्य महल ठड्याउन सयौँ नागरिकलाई रैतान भन्दै झाराको उर्दी लगाएर जबरजस्ती श्रम शोषण गर्नेको इतिहास सम्झाउँछ । 

हाम्रो इतिहासको पुरानो कालखण्डमा दौड प्रतिस्पर्धाबाट राजा छान्ने युग थियो । तर, दौडमा समेत झेल गरी शासन हत्याउने र शासनाधिकार आफ्नै वंशमा राख्ने षडयन्त्रकारीहरूको कुरूप अनुहारलाई पनि यस दिनले सम्झना गराउँछ । 

यसरी फागुन ७ गतेले शासनको स्वरूप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हाल्यो । योजनाबद्ध विकासको थालनी ग¥यो । सार्वभौम समानताको आधारमा मित्रराष्ट्रहरूसँग कूटनैतिक सम्बन्धको सुरुवात गर्‍यो । 

 समग्रमा फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ संघर्र्ष अघि बढायो ।

यसरी हामी फागुन ७ लाई प्रजातन्त्र दिवसको रूपमा मनाउँछौँ । शहीदहरुको महान् त्यागलाई सम्झन्छौँ । नयाँ पुस्तालाई, उनीहरूको उज्ज्वल भविष्यको लागि, पुर्खाले भोगेको हण्डर, ठक्कर तथा बलिदान र समर्पणको महान्–गाथा स्मरण गराउँछौँ । 

प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो ! 

 तसर्थ, हाम्रो भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन हो ! 

पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ?! त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ !’ 

 जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनायो,

 प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो । 

निरङ्कुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र?!

 यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।

निरङ्कुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फड्को मारेको छ । सामाजिक सुरक्षाका प्रबन्धहरू विस्तार भएका छन् । सामाजिक न्यायमा प्रगति गरेको छ । समाज, हुकुमी जन्जिरले बाँधिएको अवस्थाबाट सूचना–प्रविधिको सञ्जालमा जोडिएको छ । यसको प्रयोग मार्फत आफूलाई निर्बाध अभिव्यक्त गर्ने स्वतन्त्रताको राजमार्गमा पुगेको छ । 

 स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरूको विवेकले हुकुमी जन्जिरको औचित्य साबित गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।  

१०४ वर्ष लामो निरङ्कुश जहानियाँ तन्त्रको अन्त्य पछिको ७५ वर्षमा अनेक आरोह/अवरोह बिच छरिएको लोकतन्त्रको उज्यालोमा नै हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकसित राष्ट्रतिर र असमानताबाट समानतातिर लैजान थालेका हौँ । 

 राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुसीसँग जोडिएको हुन्छ । 

 सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ ।

‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भन्ने गरेको छु । चलन चल्तीमा भनिने प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गर्‍यो । परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गर्छ । समृद्धि भनेको समग्र विकास हो, सुख भनेको व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति हो । 

हामी त्यसतर्फ इमान्दारीपूर्वक हिँडिरहेका छौँ । 

 बढ्दो जनआकाङ्क्षा र चुनौतीहरूबिच, राज्यको संस्थागत र सामथ्र्यबिच लय मिलाएर संगतिपूर्ण ढङ्गले अगाडि बढिरहेका छौँ ।  

हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत उद्यमशीलताको थालनी गरिएको छ । युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ । 

 लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् । 

 लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने छौँ । 

लोकतन्त्रको उज्यालोकै कारण आज हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ । 

सन् २०२६ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै हो । सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने छौँ । 

फागुन ७ गतेले,

 सम्पूर्ण नेपालीहरूलाई इतिहासप्रति गौरव गर्न, 

 वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र 

 भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रूपमा पुँजीकृत गर्न अभिप्रेरित गरिरहने छ । 

अन्त्यमा, 

फागुन ७ गते, नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीर/वीरङ्गनाहरुको स्मरण गर्ने दिन पनि हो । प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत् जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न सङ्कल्प गर्ने दिन पनि हो ।

जहानियाँ निरङ्कुश शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनको स्मरणमा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक आह्वान गर्दछु । 

धन्यवाद !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप