शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन : महामन्त्री राणा

बुधबार, ०७ फागुन २०८१, १२ : ०२
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री डा. धवलशम्शेर राणाले देशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । देशलाई गम्भीर संकटबाट निकाल्न सबै पार्टी, समूह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले सबैमा आग्रह पनि गरेका हुन् ।

‘प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्‍याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ,‘ राप्रपा नेता राणाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजाको पछिल्लो आव्हानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समूह र नेपालीले मिलेर अघि बढौँ, यही मेरो सबैमा आग्रह छ ।’

राणाले भने, ‘राप्रपाको केन्द्रीय कार्य समितिले अवस्था बदल्न व्यवस्था बदलौँ भन्ने मूल नारा सहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरव कायम गरौँ भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको छ । यो निरन्तर रूपमा चलाइने प्रतिबद्धता पनि दोहराउन चाहन्छु ।’

कुशासन, लुटतन्त्र, सर्वत्र व्याप्त भ्रष्टाचार, बेरोजगारी, शैक्षिक अस्तव्यस्तता, आम विदेशगमन, क्षतविक्षत अर्थतन्त्र र राजनीतिक बेथितिले आज मुलुकमा गम्भीर अवस्था उत्पन्न भएको छ । यसैले राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्त्वपूर्ण अभिभारा आजको पुस्ताको काँधमाथि इतिहासले सुम्पिएको राणाको भनाइ छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो मन्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशवासीलाई आह्वान गरेका थिए । अब समय आयो भन्दै त्याग गर्न तयार रहेको उनको भनाई थियो ।

पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताए । राष्ट्रको हितका लागि आफूले त्याग गरेको र त्यागलाई कमजोरी नसम्झिन आग्रह गरे । उनले भने, ‘कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो ।’

पूर्वराजाले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गरे । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको शाहले बताएका छन् ।

‘राष्ट्रिय प्रजातन्त्र दिवसको आजको दिनले ७४ वर्षअघि देशको बृहत्तर हितका लागि राजा र नेपाली नागरिकले सामूहिक रूपमा परिवर्तनका लागि गरेको योगदानको इतिहास स्मरण गराउँछ । यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको प्रगति, सुख र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ राणाले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप