शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शंकर पोखरेलको टिप्पणी : पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ

बुधबार, ०७ फागुन २०८१, ११ : ५२
बुधबार, ०७ फागुन २०८१

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले    उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे । ´अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन् ।` महासचिव पोखरेलले भने-´राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ ।` राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

´सामन्तवादी राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ ।` पोखरेलले कार्यकर्तालाई भने-´अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।` महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताए ।

आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उनले आफू दल खोल्न निषेधको पक्षमा नभएको स्पष्ट पारे ।

´मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ । स्थायी सरकार बनाउन सकिन्छ भन्दै आएको छु ।` महासचिव पोखरेलले भने-´दल खोल्न प्रतिबन्ध गर्ने होइन,थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्छ ।` जनता माझ गई चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिने भन्दै महासचिव पोखरेलले राजनीतिक खुद्रा पसल भने आवश्यक नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप