जात–जातमा फाटो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार

‘एउटा लाहुरे गुरुङ ब्रिटिस फौजबाट रिटायर भई कर्नेली पोसाकमा पोजिसन साथ राणाहरूको दरबार अगाडि हिँडिरहेको चन्द्रशमशेरले देखे । उनलाई राजा ठानी ती लाहुरेले फूर्तिसाथ सलाम बजाए ।
आफूले जाँडे भनी शूद्र सरह गनी आएको गुरुङको बच्चालाई कर्नेली पोसाकमा राणाभन्दा कुनै कम पोजिसनमा नपाएकाले चन्द्रशमशेर र अरु राणाहरूका हृदय जले हुनन् र त्यहाँ मुसुमुसु हाँसी दरबार फर्की अंग्रेज सरकारलाई तुरुन्त लेखिपठाए कि अब उप्रान्त हाम्रा रैती गोरखा सिपाहीले जस्तोसुकै बहादुरी देखाए पनि सुबेदारभन्दा माथिल्लो दर्जा दिन हुन्न’ (धर्मरत्न ‘यमि’को २०१४ सालमा प्रकाशित पुस्तक ‘नेपालका कुरा : समीक्षात्मक इतिहास) ।’
त्यतिबेला भारतीयहरू ब्रिटिस शासनको विरुद्ध विभिन्न आन्दोलन वा जनजागृतिमा लाग्न थालेका थिए । त्यसरी नलागुन् भन्ने उद्देश्यले ब्रिटिस सरकारले भारतीय पल्टनियाँ जवानहरूलाई ठुल्ठुला दर्जा दिन थाल्यो, जुन दर्जा पहिले दिइएको थिएन । यही मेसोमा नेपालबाट गएर ब्रिटिस सेनामा भर्ती भएकाहरूले पनि बहादुरी देखाए बमोजिमको दर्जा पाउन थालेका थिए तर राणाशासकलाई त्यो मन परेन— खासगरी आफूहरूले ‘जाँडे भनी शूद्र सरह गनी आएका’हरूले दर्जा पाएको ।
राणाशासकले सर्वप्रथम आफूहरूलाई ठुलो कुल–घरानाको भनी स्थापित गरेका थिए । राणाशासनका संस्थापक जंगबहादुर कुँवर सुरुमा राजा सुरेन्द्रविक्रमबाट लालमोहर पाई कास्की र लमजुङको महाराज भए । यो महाराज पदवी पाउनुअघि नै उनले आफ्नो कुल–खान्दानलाई चित्तौढगढका रजपूत राणा खान्दान भनी प्रतिस्थापित गर्न भ्याइसकेका थिए । वि.सं. १९०५ वैशाखमा आएर उनले राणा थर लेख्न पाउने अधिकार पाए । त्यसै सालको जेठमा राजाले अर्को लालमोहर दिई जंगबहादुरलाई ‘श्रीमद्राजकुमार कुमारात्मज’ भन्ने प्रशस्ति लेख्ने अधिकार पनि दिए, (चित्तरञ्जन नेपालीको पुस्तक ‘राणाशासनको रोल व्यवस्था र धर्मपत्रहरू’ ।)
अनगिन्ती पत्नी राख्ने राणाशासकहरूले जनताले राम्री महिला लिएर हिँडेको पनि देखिसहँदैनथे । एकपल्ट चन्द्रशमशेरले कलकत्तामा बाङ्गेमुढाका ज्यानमान भन्ने साहुलाई एउटी राम्री वेश्यालाई साथ लिई बग्गीमा चढेर जान लागेको देखे । अर्काको मुलुक हुनाले त्यस बेला चुप लागे । पछि ज्यानमानलाई बोलाई बढेको न्यारलाई ठोक ! भन्दै पाँच सय कोर्रा हान्न लगाए ।
जंगबहादुरका पिता बालनरसिंह कुँवर रणबहादुर शाहका अंगरक्षक थिए । दरबारको निकट रहेर हुर्केका जंगबहादुरलाई राम्रोसँग थाहा थियो— शासन चलाउन आफूलाई उच्च कुलको भनी स्थापित गर्नैपर्छ । ऊँच–नीचको व्यवहारलाई राम्रोसँग बुझेका जंगबहादुरले अन्ततः १९१० मा जातीय विभेदमा आधारित मुलुकी ऐन ल्याए । यसअघि काठमाडौँ उपत्यकामा लिच्छविकालदेखि नै वर्ण व्यवस्थामा आधारित विशेषतः मनुस्मृतिमा आधारित समाज चल्दै आएको थियो । मल्लकालमा आएर जयस्थिति मल्लले जातीय विभेदमा आधारित कानुन बनाए— न्यायविकासिनी ।
यता पृथ्वीनारायणले राज्य एकीकरण गरेपछि जातीय विभेदलाई नै आधार बनाएर विभिन्न थिति बसालिँदै आइएको थियो ।
जंगबहादुरको मुलुकी ऐनले नेपाली समाजलाई थप नराम्रोसँग भाँड्दै थियो, चन्द्रशमशेरका पालामा आइपुग्दा अझ सुधारात्मक तबरले समुदायलाई सानो र ठुलो बनाएर भेदनीति लिइयो ।
‘चन्द्रशमशेरले मगरभन्दा गुरुङ, गुरुङभन्दा तामाङ, लिम्बुभन्दा राई, स्यार्पाभन्दा दनुवार, सुनुवारभन्दा नेवार, नेवारभन्दा थारु, थारुभन्दा यादव, क्षत्रीभन्दा खत्री; अझ नेवारमा पनि ६ थरी श्रेष्ठ, पाँच थरी श्रेष्ठ, गुभाजु, उदास, बाँडा र ज्यापू; बाहुनमा पनि कुमाई–पुर्विया आदि तँभन्दा ऊ सानो ऊ भन्दा तँ सानो भन्ने झगडा लगाई २९ वर्षसम्म राज्य गरे । जसले गर्दा नेपाली समाज झगडाको केन्द्र बन्यो,’ धर्मरत्न यमिले लेखेका छन्, ‘त्यति मात्र नभई नेवार, पर्वते र मदेशियाको झगडामाथि मदेशिया पनि अनेक जातिको झगडा, पर्वतेमा पनि त्यस्तै नेवारमा पनि त्यस्तै टोलटोलमा समेत झगडा गराएर पनि नपुगी आफ्ना हाड नाता राणाहरूलाई पनि एबीसी क्लास छुट्याइदिए । चन्द्रशमशेरको भेदनीति हुँदाहुँदा एक जातले सल्काएको चुरोट अर्को जातले खायो कि जात जाने, निच हुने आदि मसिना–मसिना भेदनीतिसम्म खेलेर गए ।’
साना भनिएकाले पकाएको वा छोएको खाएर जात जाने व्यवस्था एकातिर थियो, यद्यपि लुकेर खाए बाहिर थाहा हुँदैनथ्यो । योभन्दा ठुलो मार त वर्ण–व्यवस्थामा आधारित हिन्दु समाजले विवाहका कारण भोग्दै आएको थियो ।
विशेषतः मनुस्मृतिले कुन वर्णको महिला वा पुरुषले कुन वर्णसँग बिहे गरे कुन वर्णको अर्थात् कस्तो वर्णसंकर सन्तान जन्मने भनी स्पष्ट तोकेको थियो । यसले गर्दा हिन्दु समाजमा विभिन्न जातहरू जन्मदै आए, विशेषतः कथित ठुलो भनिएको ब्राह्मणबाट खस्दै आए ।
‘बाहुनले नाता नपर्ने बाहुनीलाई पत्नी बनाउन सक्दथे तर तिनका सन्तानचाहिँ कमसल जातमा मानिन्थे । यस्ता जाति नेपालमा जैसी कहिन्थे । यिनद्वारा जीविकाका लागि कर्मकाण्डका काम वर्जित भएकाले यिनले ज्योतिषीको पेसा लिने गरेकाले जैसी कहिन थालेका थिए । जारी गरी ल्याएका सधवा बाहुनीबाट जन्मेका बाहुन सन्तान कुण्ड र विधवापट्टिका गोलकको उल्लेख मनुस्मृतिमा पाइन्छ । मनुको व्यवस्था अनुसार यस्ता जातले कर्मकाण्ड गर्न सक्दैनथे, (प्रा.डा. जगदीशचन्द्र रेग्मीको पुस्तक ‘नेपालको वैधानिक परम्परा’) ।
बाहुन वा क्षत्री पुरुषले शूद्र महिला बिहे गरे भने सिधै शूद्रमा खस्थे । तर आफ्नै जातमा पनि अर्काकी पत्नी बिहे गर्दा त्यसको असर सन्तानलाई पथ्र्यो । बाहुनले आफूभन्दा केही साना भनिएकासँग बिहे गरेर जन्माएका कतिपय सन्तान पानी नचल्ने जातमै खस्दैनथे, त्यसैले बाहुनबाट अलिकति मात्रै खस्ने क्रम–उपक्रम हिन्दु समाजमा धेरै भएको देखिन्छ ।
जंगबहादुरको कानुनले समुदायलाई मासिन्या र नमासिन्या मतवाली, पानी चल्न्या र नचल्न्या जात भनी विभाजित गरेको थियो । राणाशासकको कानुन र इस्तिहारहरूले विशेषतः काठमाडौँका नेवारले हेपिएको महसुस गरेका थिए ।
एकातिर राणाशासकहरू रोलक्रम र क्लास (ए, बी र सी)मा टुक्रिँदै गए भने अर्कोतिर विभिन्न समुदायमा जात–व्यवस्थाको असर र प्रभावका कारण ठुलो र सानोको खाडल बढ्दै गयो । यसो हुँदा विभेदमा पर्नेहरू बढी थिए तर आवाज उठाउने आँट गर्न अप्ठेरै थियो ।
जब भारतमा सतीप्रथा र जातप्रथाको फाइदा ब्रिटिसले उठाउन थाले, तब चेतनाको लहर आउनैपर्ने भयो । भारतमा समाजका अगुवाले सुधारका अभियान सुरु गर्न थाले । विशेषतः स्वामी दयानन्द सरस्वतीको आर्यसमाजी विचारधाराले उत्तरी भारतमा प्रभाव पार्दै थियो ।
ललितपुरका माधवराज जोशी भारतमा रहँदा आर्यसमाजी कार्यकर्तासँग काम गर्न पुगेका थिए । नेपाल फर्केर उनले १९५३ सालमा पोखरामा आर्यसमाजी संस्था खोले । यसपछि उनले चन्द्रशमशेरका राजगुरुसँग शास्त्रार्थ गर्नुपर्यो । यद्यपि उनलाई जेलमा हालियो । ‘तँ जाँड–रक्सी खाने, राँगाको मासु खाने खपर्नेले हाम्रा हजुरहरूको सामुन्ने हाम्रा गुरु–पुरोहितसित निहुँ खोजी वेद ऋचाजस्ता मुखले झिक्न नहुने ब्रह्मावाक्य झिक्ने सिआमा ! भनी जेलमा ठुसिदिए,’ धर्मरत्न यमिले उपरोक्त पुस्तकमा लेखेका छन् ।
अनगिन्ती पत्नी राख्ने राणाशासकहरूले जनताले राम्री महिला लिएर हिँडेको पनि देखिसहँदैनथे । धर्मरत्न यमिको उपरोक्त पुस्तक अनुसार, एकपल्ट चन्द्रशमशेरले कलकत्तामा बाङ्गेमुढाका ज्यानमान भन्ने साहुलाई एउटी राम्री बाईजी (वेश्या) साथ लिई बग्गीमा चढेर जान लागेको देखे । ज्यानमान साहु रजौटाको पोजिसनमा ठाँटिएर बग्गीमा आइरहेको देखेपछि चन्द्रशमशेर आगो भए । तर अर्काको मुलुक हुनाले त्यस बेला चुप लागे ।
‘पछि ज्यानमानलाई बोलाई बढेको न्यारलाई ठोक ! भन्दै पाँच सय कोर्रा हान्न लगाए । कोर्राको मारले छियाछिया घाउ पारी रगतले लत्र्याङ–लुत्रुङ भएका ज्यानमानलाई खर्पनमा राखी घर पुर्याउन लाए । दुवै काखीले लौरो च्यापी ख्वाच्याङ–ख्वाच्याङ हिँडिरहेका ज्यानमानलाई केटाकेटीमा मैले पनि देखेको थिएँ । कसैले उनीसित ‘के भएको’ भनी सोध्यो भने ‘चन्द्रबात’ लागेको भनी भन्थे,’ धर्मरत्न यमिले लेखेका छन् ।
धर्मरत्न यमिको पुस्तक अनुसार, चीन र भोटको सीमानाको ग्यारोङ भन्ने इलाकाका क्याङ्छेन लामाले नेपाल आई धर्मप्रचार गर्न लागेका थिए । पछि फेरि भोटको खाम प्रान्तका छेरिङ नोर्बु लामाले पनि नेपाल आई धर्म प्रचार गर्न थाले । ‘उनका प्रचारले थितिमल्लका पालादेखि थिचोमिचो गरी बौद्ध धर्ममै नभएका श्राद्ध, तर्पण, बलियज्ञ, जातपात, छुन हुने, नहुने इत्यादि समाजघातक नीतिले जर्जरित गर्दै ल्याएको बौद्ध समाजमा निकै सुधारको चेतना ल्याइदियो,’ धर्मरत्न यमि लेख्छन्, ‘छिरिङ नोर्बु लामाले पाँचजना नेपालीलाई भिक्षु बनाए, जसमा एउटा श्रेष्ठ पनि थिए । नेवार समाज मिश्रित धर्ममा पालिएको हुनाले विशेष शैव र बौद्ध छुट्याउन गाह्रो छ । तैपनि चन्द्रशमशेरको पालासम्म श्रेष्ठहरूले बुद्ध धर्म छाड्दै शिव मार्गमा कट्टर भई देखाउनुमा गौरव ठान्न थालिसकेका थिए । चन्द्रशमशेरले श्रेष्ठलाई बौद्ध बनाएको अभियोग लामामाथि लगाए । सोही अभियोगको डरले लामा भागे । यही ताकादेखि कुनै शैव बौद्ध भयो भने ६ वर्ष कैद ठोक्ने कानुन बनाए । तर कुनै बौद्ध शैव भयो भने केही न केही ! यसरी चन्द्रशमशेरले कहिलेदेखि मिलिआएको समाजलाई थितिमल्लले भन्दाबर्ता दुई फ्याक लगाई साम्प्रदायिक झगडाको विषवृक्ष रोपे ।’
भुवनलाल प्रधानको पुस्तक ‘नेपालको जनक्रान्ति २००७’ अनुसार, त्यतिबेला हिन्दु धर्मावलम्बीले बौद्ध हुन पाउँदैनथे, बरु इस्लाम हुन पाउँथे । नेवारहरूले बौद्ध धर्म माने पनि गृहस्थीका रूपमा मात्र मान्न पाउँथे, नेपाल सरहदभित्र प्रव्रजित हुन पाउँदैनथे ।
राणाशासकहरूको कानुनहरूले सत्तामा रहेका वा सत्ताको नुन खान पाएका मुठीभरका व्यक्तिबाहेक धेरैलाई शान्ति र समानताको श्वास फेर्न दिएको थिएन । त्यसमाथि सी क्लासका राणाहरू नै राणाशासकदेखि रुष्ट हुँदै गएका थिए । यही मेसोमा सी क्लासका राणाहरूलाई चार भञ्ज्याङ कटाएपछि परिस्थिति खलबलिन थालेको थियो ।
‘चैत्र १२ गतेको बिहान (मिति उल्लेख छैन सायद सन्दर्भवश १९९५ भन्ने बुझिन्छ) सबै आफ्ना छोरा, भतिजा सिंहदरबारमा बोलाइए । सी क्लास राणाजति छुट्ट्याइए । अनि जुद्धशमशेरले नअन्कनाईकन आफूभन्दा एक सिँढी मात्र तल भएका कमान्डर इन् चिफ रुद्रशमशेर लगायत उच्च–उच्च पदमा पुगिसकेका सी क्लास राणाहरूलाई चार भञ्ज्याङ छोड्ने र ठाउँठाउँको बडाहाकिम हुने हुकुम दिए । बस्ने र रोल प्रमोसन पाउने ए क्लास जति हाँसे; बाहिर जाने सी क्लास कोही रोए, कसैले औँला ठड्याएर हिँडे । यसमा महावीरशमशेर विशेष उल्लेखनीय छन्,’ धर्मरत्न यमिले लेखेका छन् ।
राणाशासनविरुद्ध विभिन्न किसिमले जनताले विद्रोह गर्दै जाँदा अन्ततः ‘प्रचण्ड गोरखा’ नाउँको गुप्त संगठन जन्मन पुग्यो । तर यसले त्यति धेरै गतिविधि गर्न पाएन ।
उता भारतमा ब्रिटिस विरुद्धको आवाजले ठुलो रूप लिँदै थियो । भारतमा रहेका नेपालीहरू पनि संगठित हुने, भारतीय पत्रपत्रिकामा राणाशासनविरुद्ध लेख्ने गरेका थिए । यही क्रममा कांग्रेस पार्टी जन्मियो र क्रान्तिको झन्डा फहरायो । राजा त्रिभुवन र सी क्लास राणाहरूको साथ, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा देशमा प्रजातन्त्र आउन समय लागेन । ७४ वर्षअघि आजकै दिन प्रजातन्त्र आयो ।
कलिलो प्रजातन्त्रलाई राजा महेन्द्रले निमोठे । नेपाली जनताले प्रजातन्त्र पुनस्र्थापना अर्थात् बहुदलीय व्यवस्थाका लागि संघर्ष गर्नुपर्यो, त्यसपछि गणतन्त्रका लागि । हिजो देशमा जातीय विभेद लागु गर्ने कानुन थियो, आज जातीय विभेद हटाउने कानुन छन् । अर्थात् अझै पनि देश जानिदो–नजानिदो किसिमले जात–व्यवस्थामै चलेको छ । खसआर्य, नेवार, राई, लिम्बुदेखि दलितसम्मलाई राजनीतिक वा प्रशासनिक क्षेत्रमा आरक्षणको व्यवस्था गर्नुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
म्यान्मारमा विनाशकारी भूकम्पमा परी मर्नेको संख्या १६ सय नाघ्यो
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ?