‘अप्रेसन अस्पताल’ अभियानमा मधेसका मुख्यमन्त्री, १५ वटा अस्पताल अवैध पाइयो

वीरगन्ज । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले पछिल्लो समय ‘अप्रेसन अस्पताल’ अभियान चलाएका छन् । अवैध तथा नियमविपरीत सञ्चालित निजी अस्पतालहरूको नियमनका लागि मुख्यमन्त्री सिंहले यो अभियान चलाएका हुन् ।
मधेसको राजधानी जनकपुरबाट मुख्यमन्त्री सिंहले यो अभियान सुरुवात गरेका हुन् । उनले जनकपुरका निजी अस्पतालहरूमा दैनिकजसो छड्के तथा अनुगमन गरिरहेका छन् ।
झण्डै दुई साता अगाडिदेखि सुरु भएको ‘अप्रेसन अस्पताल’ अभियान अन्तर्गत मुख्यमन्त्री सिंह कहिले एम्बुलेन्स चालक बनेर डाक्टरसँग कुरा गर्ने, कहिले सेवाग्राही जसरी अकस्मात अस्पताल पुगेर अनुगमन गर्दै आएका छन् ।
यो अभियान अन्तर्गत अहिलेसम्म प्रदेश राजधानी जनकपुरका ४० वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरिसकेका छन् । अनुगमन गरिएका अस्पतालहरूमध्ये लगभग आधाजसो अस्पताल अवैध रूपमा सञ्चालित पाइएको मुख्यमन्त्री सिंह बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘निजी अस्पतालहरूको सेवाको बारेमा धेरै गुनासो आए, त्यसपछि निरीक्षण गर्ने योजना बनाएँ । सोही अनुसार अनुगमन पनि गरेँ । जब अस्पतालहरूको अनुगमनमा निस्केँ, तब अस्पतालभित्रको खेल प्रकाशमा आयो ।’
मुख्यमन्त्री सिंहका अनुसार निजी अस्पतालहरूमा धेरै लापरबाही रहेको अनुगमनमा पाइयो । ‘अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालनमा रहेको भेटिएपछि सबैलाई बन्द गर्न निर्देशन दिइएको छ,’ उनले भने ।
जनताको स्वास्थ्यसँग खेलवाड गर्न नहुने उनको भनाइ थियो । सरकारीस्तरबाट यसकोे निराकरणका लागि लागिरहेको उनले प्रस्ट पारे ।
- कुनकुन अस्पताल बन्द ?
मुख्यमन्त्री सिंहले अनुगमनका गरेका निजी अस्पतालमध्ये १५ वटा अस्पताल अवैध रूपमा सञ्चालित पाइएको छ । ती अस्पताल बन्द गर्न उनले निर्देशन दिएका छन् ।
बन्द हुने अस्पतालहरूमा मुस्कान हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोडर्न हस्पिटल एण्ड रिसर्च प्रालि, श्री माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल प्रालि छन् ।
यसैगरी जनकपुर सीता हस्पिटल प्रालि, बी.एन. हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, ज्योति आँखा अस्पताल, न्यूरो सेन्टर, कृष्णा अस्पताल प्रालि, जनकपुर गोदावरी अस्पताल प्रालि, जनक मेमोरियल अस्पताल प्रालि, गीता श्री इ.एन.टी स्पेसिलिटी क्लिनिक, जनकपुर मोडेल अस्पताल प्रालिसहितकालाई सञ्चालनमा रोक लगाइएको मुख्यमन्त्रीकोे कार्यालयले जनाएको छ ।
बन्द गरिएका अस्पतालहरू सबै अवैध तरिकाले सञ्चालनमा रहेको पाइएपछि सञ्चालनमा रोक लगाइएको मुख्यमन्त्रीको कार्यालयको भनाइ छ । बाँकी केही निजी अस्पताल पनि समयमा नवीकरण नभएको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
मुख्यमन्त्रीको टोलीले जनकपुरका समर हस्पिटल, श्रीराम हस्पिटल, जनकपुर ग्राण्डी हस्पिटल, साइ मल्टी स्पेसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि, ओम दीर्घायु हस्पिटल, मिहीलाल इन्टरनेशनल हस्पिटल, जनकपुर सुरक्षा अस्पतालको पनि अनुगमन गरेको छ ।
योसँगै जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेस हस्पिटल, श्री लाइफ केयर एण्ड रिसर्च सेन्टर, विनय तारा फाउण्डेसन तथा क्यान्सर सेन्टर, धनुषा अस्पताल प्रालि, जनकपुर सिटी हस्पिटल प्रालिमा अनुगमन गरिएको छ । यसैगरी नवजीवन अस्पताल प्रालि, वैदेही अस्पताल र एड्भान्स सिटी स्केन एण्ड डाइग्नोष्टिक सेन्टरमा मुख्यमन्त्रीको टोलीले अनुगमन गरेको थियो ।
यी १६ वटा अस्पताल विधिपूर्वक दर्ता रहे पनि नवीकरण नभएको पाइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । नवीकरण नभएका यी अस्पताललाई २ महिनाभित्र आफ्नो सबै कागजात लिएर प्रदेशको स्वास्थ्य मन्त्रालयमा नवीकरण गराउन निर्देशन दिइएको छ ।
- ९ वटा अस्पतालमात्रै वैध तरिकाले सञ्चालित
योबाहेक अनुगमन भएका अन्य ९ वटा अस्पताल भने नियमसंगत सञ्चालित पाइएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
ती अस्पतालमा केयर मेडिकल सेन्टर, एपोलो हस्पिटल प्रालि, नैना हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, म्याक्स लाइफ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, हिरा हस्पिटल एण्ड रिसर्च सेन्टर छन् ।
यसैगरी न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर, श्री कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर प्रालि र जीवन ज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि नियमसंगत सञ्चालनमा रहेको भेटिएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
यो अभियानलाई अब राजधानीबाहिर लैजाने तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
-
पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
-
ट्रम्पलाई बालेनको जवाफ– हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद
-
तेलअभिभमा वेष्ट बैंक कब्जाको प्रयास, तीन वटा बसमा बम विष्फोट
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षाको सम्भावना
-
धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी