हडताली हाट, जहाँबाट सुरु भयो राणा शासन विरुद्धको हडताल

विराटनगर । विराटनगर–१६ स्थित मिल्स एरियाको हडताली हाटमा मजदुरहरूको बाक्लो बस्ती छ । विराटनगर जुटमिलको गेटसँगै रहेको सडकको पूर्वतर्फ रहेको हडताली हाटमा बुधबार र शनिबार बजार लाग्छ तर, त्यो बजार पहिले बरगाछीको फेदमा रहेको चौतारालाई केन्द्र बनाएर लाग्थ्यो । अहिले त्यहाँबाट दक्षिणतिरको सडकमा सरेको छ ।
सो ठाउँमा पुग्दा केही मदिराका पारखीहरू टमाटरको अचार बनाउन व्यस्त थिए । केही स्टिलका गिलासमा चुस्की लगाइरहेका थिए । महिलाहरू भने सानातिना टहरोमा चलाएका मदिराका पसल, चुरोट र गुटखाका पसलहरूमा व्यस्त थिए ।
त्यही ठाउँमा ४१ वर्ष अगाडिदेखि बस्दै आएकी ६४ वर्षीय कविता मगर उहिले त्यो ठाउँको रौनक सम्झिन्छिन् । उनका अनुसार सरसफाइ उस्तै थियो, मानिसको आवतजावत र घुइँचो उस्तै थियो । बजार पसलमा मानिसको भिडभाड रहिरहन्थ्यो ।
‘यहाँ त मेला नै लाग्थ्यो । जुटमिलमा काम गर्नेहरू ओहोरदोहोर गर्थे । त्यसबेला यो ठाउँमा घरको ढोका डोरीले बाँधेर हिँड्दा पनि चोरी हुँदैन थियो । अहिले त घरै फोर्ने अवस्था छ,’ मगर भन्छिन् ।
उनका अनुसार मिल चल्दा चौतारा आसपासको रौनक नै छुट्टै हुन्थ्यो । अहिले फोहोर र गजगजी हिलो, दुर्गन्ध फैलिएको छ । मजदुरहरू सबैको कमजोर आर्थिक अवस्था छ । त्यस ठाउँमा रहेको पुराना संरचनाको नाममा त्यही एउटा बरको रुख छ, सानातिना टहरा छन् । नजिकै मस्जिद छ । मन्दिर पनि छ तर, त्यस ठाउँका हराभरापन हराएको छ ।
त्यसबेला जुटमिल्समा काम गर्ने मजदुरहरूलाई क्वाटर बनाएर दिइएको थियो । अहिले पनि जुटमिलको जग्गामा सयौँ घर छन् । त्यही हाट आसपासमा ६०–७० घर परिवार छन् । पुराना मजदुरहरू भने धेरैले ज्यान गुमाइसके । कतिपयले ठाउँ छोडेर हिँडे ।
‘गिरिजाबाबुले जुटमिलमै काम गर्दा उहाँसहितले हडताल गरेपछि यहाँको नाम नै हडताली हाट भयो,’ मगरले भनिन् । उनले २००३ सालमा सुरु भएको राणा शासन विरुध्दको आन्दोलनबारे आफूले सुनेको बताइन् ।
मगर भन्छिन्, ‘पहिले पहिले त यहाँ हडताली हाटमा मान्छे आउनै डराउँथे । हडताल हुन्छ भनेर हटिया लगाउन आउँदा पनि मानिस डराउँथे । दिउँसो हाट बजारमा सामान फिजाउँथे तर, हडताल हुने डरले उनीहरू साँझ पर्नासाथ सामान पोका पारेर हिँड्थे ।’
त्यतिखेर कांग्रेसकै नेताहरूले राणा शासन विरुध्दको हडताल सुरु गरेका थिए, जहाँ कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि सहभागी थिए । उनै मनमोहनले आफू प्रधानमन्त्री भएपछि मदन भण्डारीको स्मृतिमा त्यही बरको रुखलाई बिचमा पारेर पक्की चौतारा बनाइदिए । पहिले काठको चौतारा थियो । नयाँ बनाएको चौतारा पनि अहिले कुरुप बनेको छ । भत्किन थालेको छ । ‘गाछी गिरिजाबाबुको भयो, चौतारा मनमोहनले बनाउनु भयो । अब कसको नाम राख्ने भनेर चौताराको नामै भएन,’ हाँस्दै सोही ठाउँकी ६१ वर्षीय मन्जु गुरुङले भनिन् ।
जुटमिल्सबाटै सुरु भएको आन्दोलनले देशमा प्रजातन्त्रको बीजारोपण गर्यो तर, अहिले जुटमिल बन्द भएपछि यहाँका आधाभन्दा धेरै मजदुर भारत गएर काम गर्न बाध्य छन् । पहिले मजदुरको सेवा सुविधा वृद्धि र सामाजिक सुरक्षाका साथै प्रजातन्त्र ल्याउने भाषण हुन्थ्यो तर, अजकाल प्रत्येकजसो चुनावमा नेताहरूले त्यही चौतारामा उभिएर भाषण ठोक्छन् । भाषणमा जुटमिल चलाउँछु भन्न कसैले छोड्दैनन् । जुटमिल भने चल्ने कुनै गुन्जायस देखिँदैन ।
- मजदुर आन्दोलनको इतिहास
विराटनगर निवासी फूलकुमार लालबानी (६३) भीमराज नौलखाका नाति हुन् । भीमराज नौलखा बीपी कोइराला, गिरिजाप्रसाद कोइरालाका साथी हुन् । भीमराज नौलखाले आफ्नो आत्मवृत्तान्त ‘कालापानीमाथिको विजय’ मा विराटनगर जुटमिल्सको आन्दोलनबारे उल्लेख गरेका छन् । ‘मजदुर आन्दोलन सुरु गर्दा सबैभन्दा ठुलो भूमिका बीपीको निर्देशनमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, बिकु बाबु, भीमराज नौलखाको योगदान धेरै ठुलो छ । मजदुर आन्दोलनको बेला नोना कोइरालाहरू स्वयं छाती खोलेर भिडेका थिए । त्यो आन्दोलन नै राणाहरू फाल्ने जग बन्यो,’ फूलकुमार लालवानी भन्छन्, ‘हडताली हाट भनेको त्यहाँबाट हड्तालको अभ्यास भयो । आन्दोलनको बिउ त्यहाँबाटै रोपिएको हो । जुटमिलको पूर्वतिर एउटा चौतारो छ । बेलाबेलामा त्यहाँ अहिले पनि आमसभा हुने गरेको छ । ००७ सालको क्रान्तिको जग बसेको ठाउँ पनि त्यही चौतारो हो ।’
त्यो आन्दोलन सल्किँदै जाँदा राणाहरूको शासन ढल्यो । देशमा प्रजातन्त्रको जग बस्यो । त्यसबेला भीमराज नौलखाहरू पनि गिरिजाप्रसाद कोइराला, मनमोहनसँगै आन्दोलनमा थिए । त्यसबेला राज्यले धरपकड गरेको थियो । गोली चलाएको थियो । कतिपय मजदुरहरूको ज्यान गएको थियो । तर, नोना कोइराला लगायतका महिलाहरूले छाती खोलेर ‘लु गोली हान’ भनेपछि सरकारी फौज पछि हटेको थियो ।
कृष्णप्रसाद कोइरालाको सक्रियतामा ‘१९९२ साल’ (खगेन्द्र नेपालीद्वारा लिखित ‘नेपाल परिचय’ नामक पुस्तकमा १९९३ साल उल्लेख छ)मा उद्योग परिषद्को गठनसँगै विराटनगर जुट मिल्सको स्थापना भयो । त्यसबेला प्रधानमन्त्री जुद्ध शमशेर थिए । विराटनगर जुट मिल्स नेपालमा स्थापना भएको प्रथम उद्योग थियो । यो उद्योगको दर्ता नम्बर एक थियो र, यसले मजदुरमार्फत राजनीतिलाई मौलाउने अवसर दिएको थियो । उद्योगमा २ हजार ४ सय मजदुर र ४ सय कर्मचारी कार्यरत थिए ।
यो उद्योगको स्थापनापछि विराटनगरमा रघुपति जुट मिल्स, मोरङ कटन मिल्स, जुट प्लाण्ट, चिनी कारखाना र केमिकल्स प्लाण्टलगायतका उद्योग स्थापना भइसकेका थिए । विराटनगरको मिल्सएरिया (जो भारतसित सीमा जोडिएको अररिया जिल्लामा पर्छ) को नजिक खुलेका उद्योगबाट राजनीति प्रारम्भ गरिरहेको कांग्रेसको समूहलाई सहयोग भयो ।
मजदुरमार्फत हुने आन्दोलन प्रभावकारी ठानेर त्यसबेला मजदुर आन्दोलन शुभारम्भ भयो । त्यसबेला गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मालगायत जुट मिल्समा काम गर्दथे । उनीहरू टेबलमा बसेर कर्मचारीका रूपमा काम गर्थे । आन्दोलनको अग्रपंक्तिमा जो थिए, उनीहरू मिल्स व्यवस्थापनका कर्मचारी थिए । त्यसबेला सबै उद्योगमा गरेर ६ हजार जति मजदुर कार्यरत थिए, आन्दोलनको मुद्दा मजदुर सुविधालाई लिएर उठाइएको थियो । सबै उद्योगका मजदुरलाई संगठित गरेर आन्दोलन अघि बढ्ने तरखरमा थियो । मजदुर नेता गिरिजाप्रसाद कोइरालाले भूमिगत रूपमा नेपाल ट्रेड युनियन कांग्रेसको गठन गरिसकेका थिए ।
उचित ज्याला र सुविधाको माग राखेर आन्दोलन सुरु भयो । पहिलो चरणमा मागपत्र लेखेर व्यवस्थापनलाई ज्ञापनपत्रका रूपमा बुझाइयो । माग पूरा नभए सन् १९४७ मार्च ४ (२००३ फागुन २१ गते)का दिनबाट उद्योग बन्द गर्ने अल्टिमेटम व्यवस्थापन पक्षलाई दिइयो । अल्टिमेटम दिइएको समयमा माग पूरा भएन । २००३ फागुन २१ गतेदेखि ऐतिहासिक मजदुर आन्दोलनको शंखघोष भयो ।
‘सूर्योदयसँगै उद्योगका चारै दिशामा रहेका ढोका बन्द गरिए । मूलढोका पनि बन्द भयो । आन्दोलनकारीले आलोपालो गरेर धर्ना दिन थाले । कोणसभा, पिकेटिङ पनि हुन थाल्यो ।
त्यसबेला म पनि सहभागी भएको थिएँ आन्दोलनमा । आन्दोलनमा महिलाहरूको बाक्लो उपस्थिति थियो । दिव्या कोइराला लगायतका महिलाको प्रयासमा मजदुर आन्दोलनमा होमिएका हामीहरू उद्योग परिसर प्रवेशमा सफल भएका थियौँ । हड्तालको तीन/चार दिनसम्म माग पूरा गराउनेबारे कुनै सुनवाइ भएन । सरकारविरुद्ध नारा लागिरह्यो,’ नौलखाको आत्मवृत्तान्त शंकर खरेलद्वारा लिखित पुस्तक नालामाथिको विजयमा उल्लेख छ ।
मनमोहन अधिकारीको आग्रहमा भारतीय बामपन्थी मजदुर नेता रतनलाल दलबलसहित आएर जोगवनीमा बसेका थिए । बीपी कोइरालाहरू त्यसबेलाको मजदुर आन्दोलनमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ बाट सहभागी भएका थिए । पार्टीको बैठकले आन्दोलनप्रति समर्थन जनायो । आन्दोलनले गति लिइरहेका बेला एक दिन बीपी, गिरिजाबाबु, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्रहरि शर्मालगायतलाई पक्राउ गरियो । आन्दोलन नियन्त्रणभन्दा बाहिर जान थालेपछि तत्कालीन बडाहाकिमले ४ सय फौज काठमाडौँबाट मगाए । फौजले बन्दुक ताकेर हिर्काउन खोजे पनि आन्दोलनमा होमिएका कसैमा डर थिएन ।
उता, नेताहरू पक्राउ परेपछि आन्दोलनको नेतृत्व दिव्या कोइराला र उनकी छोरीहरू नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरिलगायतले गरे । उनीहरूलाई पनि समातेर धनकुटा पुर्याइयो । यसको भोलिपल्ट मजदुरको विशाल र्याली निस्कियो र पक्राउ परेका सबैको रिहाइको माग गयो । त्यो जुलुस बडाहाकिमको कार्यालय विराटनगरतिर आयो । राणा शासनका सुरक्षाकर्मीले जुलुसलाई कुनै चेतावनी नै नदिई गोली बर्साए । आधा दर्जनभन्दा बढी सहिद भएका थिए त्यसबेला । त्यो गोलीकाण्डपछि सारा विराटनगर आन्दोलनमा होमिएको थियो ।
राणा शासन जनताका सामु पहिलो पटक घुँडा टेक्यो । त्यसबेला मजदुरले उठाएका एक/दुईबाहेक सबै माग पूरा भए । तत्कालै नेपाली राष्ट्रिय कांग्रेसको बैठक जोगवनीमा बस्यो । त्यो बैठकमा सरकार दमन उग्र बनाउन लागेको र नेताहरू सबै पक्राउ परेको लगायतका विषयमा गम्भीर छलफलपछि पहिलो प्रयासमा ठुलो सफलता हात लागेकाले तत्काल ‘हडताल स्थगित गर्ने’ निर्णय भयो ।
आन्दोलनका क्रममा पक्राउ परेका बीपी कोइराला लगायत शीर्षस्थ नेताहरूलाई राणा शासकले रिहा गर्ने संकेत देखाएन । तर धनकुटामा राखिएका दिव्या कोइराला लगायतलाई रिहा गरियो । नेपाली राष्ट्रिय कांग्रेसको बैठक कलकत्तामा बस्यो । कार्यकारी सभापति बीपी कोइराला कारागारमा थुनिएकाले पार्टीका प्रचारमन्त्री डिल्लीरमण रेग्मीलाई सभापतिको काम सुम्पने निर्णय भयो ।
बैठकले बीपी कोइराला लगायत सबै राजबन्दीको रिहाइको माग गर्दै २००३ चैत मसान्तसम्म कारागारमुक्त नगरे २००४ वैशाख १ गतेबाट देशव्यापी सत्याग्रहका लागि तयार रहन राणा शासनलाई अल्टिमेटम दिने निर्णयसमेत गर्यो । २००४ साल वैशाख १ बाट सत्याग्रह सुरु भयो ।
देशरभरिका कांग्रेसका कार्यालयहरूबाट राणा शासनको विपक्षमा जुलुस प्रदर्शन भए । विराटनगरको बजार क्षेत्रमा दिव्या कोइरालाको नेतृत्वमा जुलुस जनलहर देशव्यापी बन्यो । तीन साता लामो सत्याग्रह अन्ततः निर्णायक मोडमा प्रदर्शन भयो । देशभरि आन्दोलनकारी थुन्ने कारागार, ब्यारेक र हिरासतहरू भरिएका थिए । तैपनि पनि जुलुस र आक्रोश थामिएको थिएन ।
त्यसबेला पद्म शमशेर प्रधानमन्त्री थिए । जुलुस उनलाई घेराउ गर्न काठमाडौँतिर लाग्यो । यो सत्याग्रहले राणा शासनलाई कमजोर बनायो । अन्ततः श्री ३ महाराज पद्म शमशेरले २००४ वैशाख २४ गते राजीनामा दिनुपर्यो । यसैको सेरोफेरोमा काठमाडौँमा जयतु संस्कृतम् आन्दोलन सुरु भयो । आन्दोलन दबाउन राणा शासकले काठमाडौँमा व्यापक धरपकड गरेको थियो । आन्दोलनकारी भागेर बनारस पुगेका थिए । यो आन्दोलन २००४ सालमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति