शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
च्याम्पियन्स ट्रफी

आठ वर्ष लामो प्रतीक्षा समाप्त, च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आजदेखि

बुधबार, ०७ फागुन २०८१, १२ : ००
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । ‘मिनी वर्ल्ड कप’ का रूपमा परिचित च्याम्पियन्स ट्रफीको नवौँ संस्करण बुधबारदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने एकदिवसीय विश्वकपपछिको यो दोस्रो ठुलो प्रतियोगिता हो । 

आठौँ संस्करण सम्पन्न भएको आठ वर्षपछि नवौँ संस्करण आयोजना हुन लागेको हो । च्याम्पियन्स ट्रफीको इतिहासमा दुईवटा संस्करणबिच पहिलो पटक यति लामो समयान्तर देखिएको हो । आठौँ संस्करण सन् २०१७ मा इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । 

आठौँ संस्करणको फाइनलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनको विशाल अन्तरले हराउँदै पहिलो पटक उपाधि कुम्ल्याएको थियो । यसपटक प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको छ । 

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, भारत, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् । 

प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ । नवौँ संस्करणमा कुल १५ खेल खेलिने छ । प्रतियोगिताको फाइनल खेल मार्च ९ तारिखमा खेलिने छ । 

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको उद्घाटन खेल बुधबार साबिक विजेता पाकिस्तान र न्युजिल्यान्डबिच कराँचीमा खेलिने छ । दिवा–रात्रि रूपमा खेलिने उद्घाटन खेल नेपाली समय अनुसार, १४ः४५ बजे सुरु हुनेछ । 

champions trophy (3)

  • विवादपछि यूएई सह–आयोजक

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सुरुमा पाकिस्तानमा मात्र आयोजना गर्ने भनिएको थियो । तर, अन्तिम समयमा आएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान भ्रमणमा नपठाउने निर्णय लियो ।

बीसीसीआईको उक्त निर्णयपछि निकै चर्को विवाद सुरु भएको थियो । अन्ततः सबै पक्षको सहमतिमा आईसीसीले प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने निर्णय लियो । ‘हाइब्रिड मोडल’ अन्तर्गत भारतीय टोलीले अब आफ्नो सबै खेल यूएईमा खेल्नेछ । 

यसरी, नवौँ संस्करणमा यूएई अन्तिम समयमा आएर सह–आयोजक बन्न पुग्यो । भविष्यमा पाकिस्तानी टोलीले पनि आईसीसीद्वारा आयोजित कुनै पनि प्रतियोगिता भारतीय भूमिमा नखेल्ने भएको छ । यसका लागि आईसीसी पनि सहमत भएको छ । 

champions trophy (5)

  • पाकिस्तानको तीन र यूएईको एक रंगशालामा खेल 

च्याम्पियन्स ट्रफीको नवौँ संस्करणका खेलहरू पाकिस्तानका तीन र यूएईको एक रंगशालामा खेलाइने भएको छ । पाकिस्तानमा हुने खेलहरू कराँचीस्थित नेशनल स्टेडियम, लाहोरस्थित गद्दाफी स्टेडियम र रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा खेलाइने छ । 

कराँची नेशनल स्टेडियम ३० हजार दर्शक क्षमताको रहेको छ । गद्दाफी स्टेडियम भने ३४ हजार दर्शक क्षमताको रहेको बताइएको छ । रावलपिण्डी क्रिकेट स्टेडियम अन्य दुई स्टेडियमको तुलनामा केही सानो छ । यो स्टेडियमको दर्शक क्षमता २० हजार रहेको छ । 

च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यी तीनवटै स्टेडियमको जीर्णोद्धार गरेको थियो । यूएईमा हुने खेल भने दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिने छ । उक्त स्टेडियम २५ हजार दर्शक क्षमताको रहेको छ ।

  • बढाइएको पुरस्कार राशि

आईसीसीले आगामी च्याम्पियन्स ट्रफीको पुरस्कार रकममा पनि वृद्धि गरेको छ । च्याम्पियन्स ट्रफीको विजेता टोलीले २२ लाख ४० हजार अमेरिकी डलर अर्थात्, करिब ३१ करोड नेपाली रुपैयाँ नगद पुरस्कार पाउने छ ।

उपविजेता टोलीले पनि ११ लाख २० हजार अमेरिकी डलर अर्थात्, करिब १५ करोड ५५ लाख नेपाली रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । च्याम्पियन्स ट्रफीको अघिल्लो संस्करणको तुलनामा आईसीसीले पुरस्कार राशिमा ५३ प्रतिशतले वृद्धि गरेको हो ।  

यसैगरी, प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही पाँच लाख ६० हजार अमेरिकी डलर पुरस्कार हात पार्नेछन् । समूहगत चरणको पाँचौँ र छैटौँ स्थानमा रहने टोलीले जनही तीन लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको समूहगत चरणमा सातौँ र आठौँ स्थानमा रहने टोलीले भने जनही एक लाख ४० हजार अमेरिकी डलर पाउने छन् । यसका अतिरिक्त, प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीले एक लाख २५ हजार अमेरिकी डलरका दरले छुट्टै रकम पनि पाउने छन् । 

champions trophy (1)

  • पूर्वविजेता श्रीलंका र वेस्ट इन्डिजको अनुपस्थिति

विश्व क्रिकेटका दुई हस्ती राष्ट्र वेस्ट इन्डिज र श्रीलंका भने च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सहभागी छैनन् । श्रीलंका र वेस्ट इन्डिज दुवै च्याम्पियन्स ट्रफीको पूर्वविजेता पनि हुन् । श्रीलंकाले सन् २००३ मा सम्पन्न तेस्रो संस्करणको उपाधि जितेको थियो । 

फाइनल खेल वर्षाले बिथोलिएपछि श्रीलंका र भारतलाई संयुक्त विजेता घोषित गरिएको थियो । पहिलो दिन फाइनल सम्भव भएपछि दोस्रो दिन सारिएको थियो । दोस्रो दिन पनि खेल सम्भव भएको थिएन् । वेस्ट इन्डिजले भने सन् २००४ मा च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । 

उक्त संस्करणको फाइनलमा क्यारेबियन टोलीले आयोजक इङ्ल्यान्डलाई दुई विकेटले हराएको थियो । यी दुवै पूर्वविजेता नवौँ संस्करणमा सहभागी छैनन् । यसपटक च्याम्पियन्स ट्रफीमा वेस्ट इन्डिज र श्रीलंकाको स्थान बंगलादेश र अफगानिस्तानले लिएका छन् । 

प्रतियोगितामा सहभागी हुने आठवटै टोलीको टुंगो च्याम्पियन्स ट्रफीभन्दा अगाडि आयोजित आईसीसी एकदिवसीय विश्वकपबाट लगाइएको हो । सन् २०२३ मा खेलिएको विश्वकपमा माथिल्लो आठ स्थानमा रहेका टोलीले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएका हुन् । 

उक्त विश्वकपमा सेमिफाइनलमा पुग्ने चार टोली स्वतः यो च्याम्पियन्स ट्रफीका लागि छनोट भएका थिए । सन् २०२३ को विश्वकपमा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका थिए । 

पाकिस्तान सन् २०२३ को विश्वकपमा अंक तालिकाको पाँचौँ स्थानमा थियो । उक्त विश्वकपमा अफगानिस्तान छैटौँ, इङ्ल्यान्ड सातौँ र बंगलादेश आठौँ भएका थिए । त्यसैले यी तीन टोलीले पनि च्याम्पियन्स ट्रफीको नवौँ संस्करण खेल्ने अवसर पाए । 

उक्त विश्वकपमा श्रीलंका नवौँ र नेदरल्यान्ड्स दशौँ स्थानमा रहेका थिए । वेस्ट इन्डिज भने सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपमा छनोट नै भएको थिएन । त्यसैले यी राष्ट्रले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएनन् ।

champions trophy (4)

  • तीन दिनअघि नै उद्घाटन समारोह

प्रतियोगिता सुरु हुनुभन्दा तीन दिनअघि नै आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको उद्घाटन समारोह आयोजना गरिएको थियो । प्रतियोगिता सुरु हुने दिने औपचारिक उद्घाटन समारोह आयोजना नगरिने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसअघि नै बताएको थियो । 

त्यसैले तीन दिनअघि नै प्रतियोगिताको उद्घाटन समारोह आयोजना गरिएको पीसीबीले जनाएको छ । उद्घाटन समारोह आइतबार राति लाहोरमा आयोजना गरिएको थियो । भव्य उद्घाटन समारोहमा साङ्गीतिक कार्यक्रम र लेजर लाइटको कला पनि प्रदर्शन गरिएको थियो । 

उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का पदाधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा आतिफ असलमले पनि आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए । उनले च्याम्पियन्स ट्रफीको अफिसियल गीत पनि गाएका थिए । 

उद्घाटन समारोहमा पूर्व र वर्तमान खेलाडीहरूको पनि उपस्थिति रहेको थियो । पूर्वखेलाडी र पदाधिकारीहरूले च्याम्पियन्स ट्रफीको अघिल्ला संस्करणको स्मरण पनि गरेका थिए । 

कार्यक्रममा सन् २०१७ को च्याम्पियन्स ट्रफी विजेता टोलीका खेलाडीहरूलाई सम्मान पनि गरिएको थियो । उद्घाटन समारोहमा पाकिस्तानको वायुसेनाले पनि विभिन्न कार्यक्रम प्रस्तुत गरेको थियो । 

  • प्रभावशाली खेलाडीहरूको अनुपस्थिति

आईसीसी च्यान्पियन्स ट्रफीको नवौँ संस्करणमा विश्व क्रिकेटका केही प्रभावशाली खेलाडीलाई देख्न पाइने छैन । च्याम्पियन्स ट्रफीअघि नै केही प्रभावशाली खेलाडी घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । 

केही चर्चित खेलाडी भने व्यक्तिगत र घरायसी समस्याका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । यसरी च्याम्पियन्स ट्रफीबाट बाहिरिनेमा अफगानिस्तानदेखि विश्वकप विजेता अस्ट्रेलियासम्मका खेलाडीहरु रहेका छन् । 

अफगानिस्तानी टोलीका युवा बलर एएम गजनफर घाइते भएका कारण च्याम्पियन्स ट्रफीको नवौँ संस्करणबाट बाहिरिएका छन् । १८ वर्षीय क्षमतावान् युवा स्पिनर गजनफरबाट अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनको आशा गरेको थियो । 

अफगानिस्तान क्रिकेट बोर्डले गजनफरको स्थानमा नाङग्याल खरोटीलाई टोलीमा स्थान दिएको छ । गजनफर अफगानिस्तानको जिम्बाबे भ्रमणका क्रममा पिठ्यूँको चोटबाट पीडित बनेका थिए । उनी कम्तिमा पनि चार महिना मैदानबाट बाहिर रहने पनि बोर्डले जनाएको छ ।

यसैगरी, दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमिसकेको अस्ट्रेलियाका केही प्रभावशाली खेलाडी पनि आगामी च्याम्पियन्स ट्रफीमा उपस्थित हुने छैनन् । खासगरी, चर्चित तीव्र गतिका चर्चित बलरहरू अस्ट्रेलियन टोलीमा रहने छैनन् ।

प्याट कमिन्स र जस हेजलउड चोटका कारण टोलीबाट बाहिरिएका हुन् । यी दुवै प्रभावशाली खेलाडी केही समयअघि घाइते भए पनि हालसम्म पूर्णरुपमा स्वस्थ्य भइसकेका छैनन् । अर्का चर्चित खेलाडी मिचेल स्टार्कले भने व्यक्तिगत समस्याका कारण प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् । 

तीव्र गतिका बलर तथा अनुभवी अलराउन्डर मार्कस स्टोइनिसले पनि च्याम्पियन्स ट्रफीअघि नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा परे पनि उनले फेब्रुअरी ६ तारिखमा सन्न्यास घोषणा गरेका थिए ।

champions trophy (6)

यसका अतिरिक्त, मिचेल मार्सले पनि आगामी च्याम्पियन्स ट्रफी खेल्ने छैनन् । पिठ्यूँको चोटका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । अर्का प्रभावशाली अलराउन्डर क्यामरुन ग्रिन पनि आगामी च्याम्पियन्स ट्रफीमा अनुपस्थित रहने छन् । उनी लामो समयदेखि पिठ्यूँको समस्याबाट पीडित रहँदै आएका छन् । 

यसैगरी, इङ्ल्यान्डका अनुभवी खेलाडी ज्याकब बेथेल पनि चोटको समस्याका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । हाल इङ्ल्यान्डको टोली भारत भ्रमणमा छ । भारत भ्रमणका क्रममा खेलिएको एकदिवसीय शृंखलामा उनी घाइते भएका थिए । 

यसैगरी, दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि कुम्ल्याइसकेको भारतले पनि आगामी च्याम्पियन्स ट्रफीमा एक प्रभावशाली खेलाडी गुमाएको छ । भारतीय टोलीका अनुभवी बलर जसप्रित बुमराहले आगामी च्याम्पियन्स ट्रफी खेल्ने छैनन् । बुमराह लामो समयदेखि पिठ्यूँको समस्याबाट पीडित छन् । 

भारतीय टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते छन् । दुबईमा नियमित अभ्यासका क्रममा उनी घाइते भएका थिए । अभ्यासका क्रममा उनको घुँडामा चोट लागेको थियो । पन्त सन् २०२२ को डिसेम्बरमा दुर्घटनामा परेका थिए । 

त्यो दुर्घटनामा पनि उनलाई गम्भीर चोट लागेको थियो । त्यतिबेला पनि घुँडामै चोट लागेकाले उनी लामो समय मैदानबाट बाहिर रहेका थिए । अहिले फेरि उनको घुँडामै चोट लागेको छ । त्यसैले उनको चोट गम्भीर हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, उनी टोलीमा यथावत् छन् । 

यसैगरी, न्युजिल्यान्डका मध्यमतेज गतिका बलर बेन सियर्स पनि प्रतियोगिताबाट बाहिरिएका छन् । घाइते भएका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । न्युजिल्यान्डले २७ वर्षीय बेन सियर्सको स्थानमा ज्याकब डफीलाई टोलीमा स्थान दिएको छ । 

न्युजिल्यान्डका अन्य दुई प्रभावशाली खेलाडी पनि घाइते छन् । ३३ वर्षीय दायाँहाते तीव्र गतिका बलर लोकी फर्गुसन ह्यामस्ट्रिङ समस्याबाट पीडित छन् । उनी फ्रेन्चाइज प्रतियोगिता आईएल टी–२० का क्रममा फेब्रुअरीको पहिलो साता घाइते भएका हुन् ।

यद्यपि, उनलाई न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीका लागि घोषित अन्तिम टोलीमा पनि यथावत् राखेको छ । उनी अहिले पनि चिकित्सकको रेखदेखमा छन् । तर, उनले च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना निकै कम रहेको बताइएको छ । 

न्युजिल्यान्डका अर्का युवा खेलाडी रचिन रवीन्द्र पनि घाइते भएका छन् । उनी फेब्रुअरी ८ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलका क्रममा घाइते भएका थिए । उक्त खेलमा फिल्डिङ गर्ने क्रममा उनी चोटग्रस्त बनेका थिए । उनलाई पनि न्युजिल्यान्डले टोलीमा यथावत् राखेको छ । 

यसैगरी, आयोजक पाकिस्तानका एक प्रभावशाली खेलाडी ह्यारिस रउफ पनि घाइते छन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका क्रममा उनी चोटग्रस्त बन्न पुगेका थिए । यद्यपि, उनलाई पाकिस्तान क्रिकेट बोर्डले अझै टोलीमा राखेको छ । 

यसैगरी, दक्षिण अफ्रिकी टोली पनि खेलाडी घाइते हुने समस्याबाट पीडित देखिएको छ । एनरिच नोर्खिए गत डिसेम्बरदेखि नै खेल मैदानबाट टाढा छन् । पिठ्यूँको समस्याका कारण उनी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिइसकेका छन् ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले नोर्खिएको स्थानमा जेराल्ड कोट्जीलाई टोलीमा समावेश गर्ने योजना बनाएको थियो । उनी त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न पाकिस्तान भ्रमणमा पनि आएका थिए । तर, पाकिस्तान भ्रमणका क्रममा उनी पनि ग्रोइन समस्याबाट पीडित बन्न पुगेका छन् ।

  • च्याम्पियन्स ट्रफीको २७ वर्षे यात्रा

प्रारम्भको २७ वर्षपछि आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आयोजना हुन लागेको हो । च्याम्पियन्स ट्रफीको पहिलो संस्करण सन् १९९८ बंगलादेशमा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको थियो ।

champions trophy (2)

यसैगरी, प्रतियोगिताको दोस्रो संस्करण सन् २००० मा केन्यामा आयोजना भएको थियो । त्यो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराएको थियो । तेस्रो संस्करण सन् २००२ मा श्रीलंकामा आयोजना भएको थियो । श्रीलंका र भारत संयुक्त रूपमा विजेता घोषित भएका थिए ।

प्रतियोगिताको चौथो संस्करण सन् २००४ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको थियो । सन् २००६ मा भारतमा आयोजना भएको पाँचौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई पराजित गरेको थियो । 

यसैगरी, छैटौँ संस्करण सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई हराएको थियो । सन् २०१३ मा इङ्ल्यान्ड र वेल्समा भएको सातौँ संस्करणको फाइनलमा भारतले इङ्ल्यान्डलाई पराजित गरेको थियो ।

यसैगरी, च्याम्पियन्स ट्रफीको आठौँ संस्करण पनि इङ्ल्यान्ड र वेल्समै संयुक्त रूपमा आयोजना गरिएको थियो । आठौँ संस्करण सन् २०१७ मा भएको थियो । उक्त संस्करणको फाइनलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप