शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

हुलाकी मार्ग केन्द्रित २० जिल्लामा माओवादीको अभियान, कहाँ–कहाँ हुँदैछ ?

बुधबार, ०७ फागुन २०८१, ०९ : ५०
बुधबार, ०७ फागुन २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ तराई–मधेस जागरण अभियान झापाको कचनकवलबाट सुरु हुने भएको छ । फागुन १२ गते कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उदघाटन हुने माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

केन्द्रीय समिति बैठकको निर्णय बमोजिम फागुन ३ गते माओवादीको कोशी प्रदेश समिति, प्रदेश परिषद्को प्रथम परिषद्को बैठकले हुलाकी मार्ग केन्द्रित अभियानको कार्यक्रम तय गरेको हो ।

अध्यक्ष नेम्वाङका अनुसार उदघाटन कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्डसहित पदाधिकारी टिम सहभागी हुनेछ । बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ ।

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना हुनेछ ।

फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गरी समापन हुनेछ । यसैगरी फागुन १५ गते मधेस प्रदेशको सप्तरी, १६ गते सिरहा, १७ गते धनुषा, १८ गते महोत्तरी, १९ गते सर्लाही, २० गते रौतहट, २१ गते बारा र २२ गते पर्सामा भेटघाट र अन्तरक्रिया हुने स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

‘मधेश प्रदेशमा फागुन १५ देखि २२ गतेसम्म जागरण अभियान हुने तय भएको छ । आठ जिल्ला रहेको यो प्रदेशमा प्रत्येक दिन एक जिल्लामा स्थानीय जनतासँग भेटघाट, अन्तक्र्रिया तथा जनसभा हुनेछ’, उनले भने ।

फागुन २३ गते बागमती प्रदेशको चितवन जिल्लास्थित भरतपुरमा सभा तथा अन्तक्र्रिया गर्ने तयारी छ । बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले यस प्रदेशमा चितवन मात्र हुलाकी मार्गले जोडेको हुनाले प्रदेशस्तरमा खासै तयारी नभएको जानकारी दिए ।

यसैगरी फागुन २४ गतेबाट लुम्बिनी प्रदेशको नवलपरासीबाट अभियान सञ्चालन हुने गरी तयारी भइरहेको अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । बरालका अनुसार ४÷५ दिन अभियान चलाउने गरी छलफल भइरहेछ ।

एक जिल्लामा एक दिन कार्यक्रम गर्ने भएमा २५ गते रूपन्देही, २६ गते कपिलवस्तु, २७ गते दाङ, २८ गते बाँके, २९ गते बर्दियामा सभा तथा अन्तरक्रिया हुने बरालले जानकारी दिए ।

अभियान चैत २ गते सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन हुन सक्ने सुदूरपश्चिमका अध्यक्ष हरिराम चौधरीले जानकारी दिए । यद्यपि समय तालिका एक÷दुई दिन तलमाथि पर्न सक्ने उनले बताए ।

लुम्बिनी प्रदेशमा फागुन २९ गतेसम्म अभियान टोली रहेमा चैत १ गते कैलाली र चैत २ गते कञ्चनपुर आएर समापन हुने चौधरीको भनाइ छ । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन ।

अभियानको क्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूसहितको केन्द्रीय टोली सबै कार्यक्रममा सहभागी हुनेछ ।

माओवादीका महासचिव देव गुरुङले अभियानको समय तालिकालाई अन्तिम रूप दिन बाँकी रहेको जानकारी दिए । कोशी प्रदेशमा हुने कार्यक्रम, स्थान र समयको टुङ्गो लागे पनि अन्य प्रदेशमा हुने कार्यक्रमको समय तालिकालाई अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।

‘आवश्यक परेमा पदाधिकारी बैठक बसेर निष्कर्षमा पुग्नेछौँ । अभियानको क्रमलाई स्थानीय नेता, कार्यकर्ता तथा जनसम्पर्क, भेटघाटलाई प्राथमिकतामा राखेका छौँ । सबै सभामा केन्द्रीय नेताहरू सहभागी हुनेछन्’, गुरुङले भने ।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि ६ महिना तराई–मधेस, पुष्पलाल मध्यपहाडी राजमार्ग, हिमाली तथा पहाडी जिल्लाहरूमा अन्तरक्रिया, जनपरिचालन, जनसभा, पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय टोलीको बिदाइपछि फागुन महिनाभरि हुलाकी राजमार्ग केन्द्रित प्रदेशस्तरीय अभियान सञ्चालन हुने जनाइएको छ ।

अभियान अवधिमा अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको प्रदेशका अध्यक्षहरूले बताएका छन् । अभियानमा २०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनःर्मिलन गराउने कार्यतालिका छ ।

किसानहरूको समस्या समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत अभियानले भूमिका खेल्नेछ ।


भ्रष्टाचार, बेथिति, सरकारी ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने प्रदेशस्तरीय नेताहरूले बताएका छन् । तराई–मधेसको २० जिल्लामा जोडिएको यो मार्ग पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म फैलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप